१६ चैत, लमजुङ (बेसीसहर)।

हिमाली जिल्ला मनाङमा वडैपिच्छे मतदानस्थल सिफारिस भएको छ । चार गाउँपालिका भित्रका २८ वडामा २८ वटै मतदानस्थल सिफारिस गरिएको हो ।

भौगोलिक विकटतालाई मध्यनजर गरी २८ वटा वडामा वडापिच्छे मतदानस्थलको सिफारिस गरिएको मनाङका जिल्ला निर्वाचन अधिकारी रामप्रसाद पौडेलले बताए । उनका अनुसार २०७० सालको संविधानसभाको निर्वाचनमा १८ वटा मतदानस्थल तोकिएका थिए ।

‘प्रत्येक वडामा मतदानस्थल हुनुपर्ने प्रावधानअनुरुप हरेक वडामा मतदानस्थल तोकेका छौं’, उनले भने।

निर्वाचन कार्यालय, मनाङकाअनुसार पाँचहजार एकसय २० जनाले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । दोस्रो संविधानसभाको निर्वाचनमा चारहजार सातसय ९४ मतदाता थिए । २०६८ सालको जनगणना अनुसार मनाङको जनसङ्ख्या ६ हजार ५३८ रहेको छ ।

जिल्ला निर्वाचन कार्यालयमा स्थानीय तहको निर्वाचनका लागि ६ दलले सूचीकृत गराएका छन् । नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नयाँ शक्ति पार्टी नेपाल र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले दलको नाम दर्ता गराएका छन् । रासस