६ चैत, काठमाडौ । सरकारले अन्तरिम चुनावी मन्त्रिपरिषद्मा सहभागी मन्त्रीहरूको आचारसंहितालाई कडाइका साथ लागू गर्ने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले मन्त्री र सचिवहरूलाई दोहोरो, तेहोरो सुविधा लिने विगतको परिपाटीको अन्त्य गर्ने निर्णय पनि गरेको छ ।
यसैगरी मन्त्रिपरिषद्ले सरकारी कर्मचारीहरूले काजको नाममा राजधानीमा बस्दै आएकोमा त्यसलाई निरुत्साहित गर्न जुन क्षेत्रमा दरबन्दी रहेको हो सोही क्षेत्रमा नै पठाउने निर्णय गरेको छ ।
त्यस्तै मन्त्रिपरिषद्ले सरकारको प्रवक्तामा सूचना तथा सञ्चारमन्त्री माधव पौडेललाई तोकेको छ ।
मन्त्रालयहरूले सम्पादन गरेका काम र गर्न बाँकी कामकारवाहीलाई २४ घन्टाभित्र सम्बन्धित मन्त्रालयको वेबसाइटमा राख्ने निर्णय गरेको नवनियुक्त प्रवक्ता पौडेलले जानकारी दिए ।
यस्तै आजको बैठकले निकट भविष्यमा हुन गाइरहेको संविधानसभाको निर्वाचन सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारका कामहरूलाई अगाडि बढाउने र सबै खालका साधन–स्रोतलाई परिचालन गर्ने सम्बन्धमा परिषद्का अध्यक्ष खिलराज रेग्मीले मन्त्रीहरूलाई विशेष निर्देशन दिनुभएको प्रवक्ता पौडेलले जानकारी दिए ।
यस्तै सरकारले कृषि सेवा, इन्जिनियरिङ सेवा, प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवा गरेको छ ।
त्यस्तै एभियन इन्फ्लुएन्जा आयोजनामा कार्यरत १५ जना कर्मचारीको म्याद आगामी असार मसान्तसम्म थप गर्ने निर्णय गरेको छ ।
आजको बैठकमा संवैधानिक परिषद् गठन गर्ने विषयमा छलफल भएको र केही दिनभित्रै परिषद् गठन हुने र सो परिषद्ले निर्वाचन आयोगलगायतका संवैधानिक निकायको नियुक्ति गर्ने बताइएको छ ।
यस्तै संविधानसभाको मिति तोक्ने विषयमा पनि निर्वाचन आयोग लगायतसँग छलफल गरेर तत्काल मिति तोकिने प्रवक्ता पौडेलले जानकारी दिए । रासस