६ चैत,काठमाडौ।हिजो शपथ खाएका मन्त्रिपरिषदका सदस्यहरुले  आज आ-आफ्नो कार्यभार सम्हालेका छन् । बिहान १० बजेपछि हिजो सपथग्रहण गरेका ८ जना मन्त्रीले आफ्नो कार्यभार सम्हालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । आज नै मन्त्रिपरिषद्को बैठक पनि बस्दैछ ।  मन्त्रिपरिषदले पूर्णता पाएपछिको पहिलो बैठकमा संवैधानिक परिषदमा रहने मन्त्रीहरुको टुङ्गो लाग्नेछ । त्यस्तै संविधानसभा चुनावको मिति तय गर्ने विषयमा पनि आजको बैठकमा छलफल हुने बताइएको छ। यसअघि उच्चस्तरीय राजनीतिक समितिले असार ४ गते संविधानसभाको निर्वाचन तोक्न  सरकारलाई सिफारिस गरेको छ । संविधान निर्वाचनका लागि निर्वाचन आयोगले गरेको तयारी, संवैधानिक नियुक्तिका विषयमा पनि छलफल हुनेछ । मन्त्रिपरिषद्को बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ ।  
 
यसैबीच संवैधानिक परिषदलाई पूर्णता दिने विषयमा सरकारले आज छलफल गर्ने भएको छ । हिजो मन्त्रिपरिषद विस्तार भएपछि आज अन्तरिम मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको अध्यक्षतामा संवैधानिक परिषद पनि गठन हुनेछ । आज गठन हुने संवैधानिक परिषदले त्यसको प्रक्रिया अघि बढाउने मन्त्रिपरिषद्को सचिवालयले जनाएको छ । संवैधानिक परिषदमा प्रमुख तीन दलले सिफारिस गरेका तीनजना मन्त्री रहने गरि विस्तार गर्न लागिएको स्रोतले जनाएको छ । यसअघि प्रधानमन्त्रीले तोकेका फरक फरक दलका तीन मन्त्री रहने व्यवस्थालाई परिमार्जन गरि अन्तरिम मन्त्रीपरिषदले तोकेका मन्त्रिपरिषदका तीन सदस्य बनाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा, प्रधानन्यायाधीश र तीन मन्त्री सहितको पाँच सदस्यीय संवैधानिक परिषदले पूर्णता पाएपछि आजबाटै संवैधानिक नियुक्तिका विषयमा छलफल हुने बताइएको छ।