कुशल श्रेष्ठ

भोक लाग्दा कस्तो हुन्छ भनेर सबैलाई थाहै छ- थकाइ लागेको जस्तो हुने, कुनै काममा ध्यान दिन नसक्ने साथै खान मन लाग्ने। तर, केले गर्दा भोक लाग्छ? अनि यो इच्छालाई कसरी कम गर्ने? थाहा पाउन पढ्दै जानुहोस्।

Afulai kasto bhok lairaxa

जिरे खुर्सानीका चर्चित भोक लाग्यो क्यारेक्टर

‘भोक’ भनेको एउटा यस्तो नैसर्गिक संयन्त्र हो, जसले हाम्रो शरीरले खान पायो कि पाएन भनेर सुनिश्चित गर्दछ। जब हाम्रो पेट खाली हुन्छ, तब ‘घ्रेलिन’ नामक हरमोन पैदा हुन्छ। यो हरमोन हाम्रो दिमागसम्म पुगेर हामीलाई भोक लागेको सूचीत गराउँदछ। अनि जब हामीले केहि खाएपछि अथवा पिएपछि पेट भरिन्छ, तब घ्रेलिन पैदा हुन छोड्छ।

तर कहिलेकाहिँ भोक लागेर केहि खाइसकेपछि पनि फेरि भोक लागिरहन्छ। यस्तो किन हुन्छ?

केवल खालि पेटले गर्दा मात्रै हामीलाई खाने चाहना हुँदैन, यसमा धेरै कुराले प्रभाव पारिरहेको हुन्छ- स्वास्थ्य स्थिति, भावनात्मक स्थिति र सामाजिक पक्षले पनि हामीलाई अनावश्यक भोक लाग्ने गर्दछ।

चाँडै नै भोक लगाउने खानाहरूः

विशेष गरी उच्च ‘ग्लाइसेमिक इन्डेक्स’ (Glycemic index) भएका खानेकुरालाई शरीरले चाँडै पचाउँदछ र चाँडै नै रगतमा सुगरको मात्रा बढ्दछ। (शरीरमा कुनै पनि खानेकुराले ग्लुकोजको मात्रामा पार्ने प्रभावलाई जनाउने अङ्क नै ‘ग्लाइसेमिक इन्डेक्स’ हो।) यसरी बढेको सुगरलाई नियन्त्रण गर्न शरीरले इन्सुलिनको पैदा गर्दछ। तर कहिलेकाहिँ इन्सुलिनले बढि नै सुगरलाई घटाउँदछ। जसले गर्दा फेरि भोक लाग्दछ। गुलियो तरल पदार्थ, गुलियो खानेकुराहरू र कम फाइबर भएका खाना (सेतो पास्ता, सेतो पाउरोटी र सेतो बास्मती चामल)ले शरीरमा ग्लुकोजको मात्रा बढाउँदछ। त्यसैले नै यस्ता खानालाई ‘उच्च ग्लाइसेमिक इन्डेक्स’ भएको खाना भनिन्छ।

तथापी, प्रोटिन र बोसो भएको खानाले लामो समयसम्म पेटलाई भरि राख्दछ। माछा, कुखुराको मासु, अण्डा, गेडागुडी, बदाम तथा कम-बोसो भएको दूधमा प्रशस्तै प्रोटिन पाइन्छ, जसले हामीलाई धेरै समयसम्म भोक लाग्न दिँदैन।

भोक लागेको हो कि, तिर्खा लागेको हो?

यी दुईटा चाहनालाई छुट्याउन गाह्रो पर्दछ। यस्तो अवस्थामा केहि खानेकुरा खाँदा हामीलाई दिनमा चाहिने ‘क्यालोरी’को मात्रा अधिक हुन पनि सक्छ र मोटोपना हुन सक्छ। त्यसैले भोक लागेको हो कि तिर्खा लागेको हो भनेर छुट्याउन नसके सुरुमा कम क्यालोरी भएका झोलपदार्थ (कालो चिया, कफी) अथवा पानी पिउनुपर्दछ। त्यसको २० मिनेटसम्म पनि भोक लागेको जस्तो महशुस भयो भने बल्ल केहि ठोस खानेकुरा खाने विचार गर्नुपर्दछ।

फास्टफुड

यदि बोसोयुक्त खानाले पेट खाली हुन दिँदैन भने, फास्टफुड खाँदा किन भोक मेटिँदैन त? फास्टफुडमा पनि त धेरै बोसोको प्रयोग गरिएको हुन्छ। यसको कारण के हो भन्दा, यस्ता फास्टफुडमा धेरै बोसो त हुन्छ तर खानेकुराको मात्रा कमी हुन्छ। साथै यसमा वनस्पति फाइबरको प्रयोग गरिएको हुँदैन, त्यसैले फास्टफुड खाँदा भोक मेटिँदैन।

फास्टफुड खाना भनेकै छिटो खान मिल्ने खाना हो। अनि हामीले खाने गतिले पनि भोक मेट्ने नमेट्नेमा प्रभाव परिरहेको हुन्छ। अनुसन्धानले के देखाउँछ भन्दा, खानालाई राम्ररी चपाएर आरामले खायो भने, दिमागले पनि भर्खरै के खाको भनेर ‘याद गर्छ’ अनि भोक लागेको महशुसमा कमि हुन्छ।

स्वास्थ्य स्थितिले गर्दा भोक

विशेष गरी महिलाहरूमा महिनावारी हुनुभन्दा केहि दिन अगाडि ‘प्रिमेन्स्रुअल सिन्ड्रोम’ (Premenstrual syndrome) देखा पर्दछ, जसले गर्दा उनीहरूलाई जतिबेला पनि भोक लागेको जस्तो महशुस हुन्छ। यसलगायत, गर्भवती महिलाहरूलाई पनि खाने चाहना साधारणभन्दा बढि हुने गर्दछ। तर नियम के छ भन्दा, ‘१ जनाको लागि मात्रै खानु, २ जनाको लागि होइन’। गर्भावस्थाको अन्तिम ३ महिनामा मात्रै गर्भवती महिलाहरूले साधारणभन्दा बढि खानुपर्दछ।Premenstrual Syndrome

अनुसन्धानबाट, अनिन्द्राले गर्दा पनि शरीरमा भोक लगाउने हरमोन ‘घ्रेलिन’को मात्रा बढि हुने अनि भोक मेटाउने हरमोन ‘लेप्टिन’को मात्रा कमि हुन्छ भनेर पत्ता लागेको छ। त्यसैले राति पर्याप्त मात्रामा सुत्ने बानीले पनि भोकलाई नियन्त्रण गर्न मद्दत पुग्दछ।

भावनात्मक स्थितिले गर्दा भोक

‘इमोशनल इटिङ्ग’ (Emotional Eating) भन्नाले सान्त्वनाको लागि खाने भनेर बुझिन्छ। भोक लागेर होइन कि एक्लै भएर अथवा तनाव बढेर खान मन लाग्ने स्थितिलाई ‘इमोशनल इटिङ्ग’ भनिन्छ। कहिलेकाहिँ, ‘मैले कति धेरै मेहनत गरेको छु, मैले खान पाउनुपर्छ, स्वेच्छाले खान पाउनु मेरो अधिकार हो।’ भन्ने जस्तो भावना उत्पन्न हुन्छ, जसले गर्दा शरीरमा ‘कोर्टिसोल’ नामक हरमोन पैदा हुन्छ। यो हरमोनले हामीलाई भोक नलागेको बेलामा पनि दिमागलाई ‘भोक लागेको छ’ भनेर गलत सूचना पुर्याउने गर्दछ।Stress Eating

शारीरिक तथा मानसिक व्यायाम अनि ध्यानले यस्ता भावनालाई दबाउन सकिन्छ। अथवा फोन उठाउनुहोस् र आफ्ना साथी, दाजुभाइ, प्रेमि/प्रेमिकासँग कुरा गर्नुहोस्, जसको कारण तपाईँको एक्लोपना टाढा होस्। याद होस् कि, खाँदा समस्याको हल हुँदैन, त्यसले केवल केहि क्षणको लागि भुलाउने काम गर्दछ र तपाईँलाई नचाहिएको क्यालोरी मात्रै थप्ने काम गर्दछ।

यो पनि हेर्नुहोस्-
यसकारण स्याउ धेरै खानुहुँदैन
यसकारण पिसाब थामेर बस्नु खतरनाक हुन्छ
नुन कत्तिको खानुहुन्छ? विचार पुर्याउनुहोस् है
स्वास्थ्यसम्ब‍न्धी यस्ता हल्लालाई वास्तै नगर्नुहोस्
यी ५ कारणले गर्दा धेरै गुलियो खानुहुँदैन