कुशल श्रेष्ठ
कहिलेकाहिँ, आक्कलझुक्कल खान मन नलाग्नुले खासै त्यस्तो समस्याको सङ्केत गरेको हुँदैन। तर, यहि अवस्था समस्यामा परिवर्तन त्यतिबेला हुन्छ, जुन बेला तपाईँलाई धेरै दिनसम्म पनि यस्तै महशुस भैरहन्छ। मतलब, विहान जबरजस्ती १/२ गाँस खायो, दिनभरी भोक लाग्दैन र राति पनि खाने इच्छा लाग्दैन।
यस्तो समस्या आउनुको पछाडि थुप्रै कारणहरू लुकेको हुन्छ। अधिकांश समयमा पेट र कलेजोमा समस्या भएको छ भने भोक नलाग्ने, खानामा रुचि घट्ने हुन्छ। तर कहिलेकाहिँ यसले पित्तथैलीमा पत्थरीको पनि सङ्केत गरिरहेको हुन सक्छ। त्यसैले धेरै दिनसम्म पनि यस्तो समस्या कायम भैरह्यो भने तुरुन्तै चिकित्सककहाँ जान अल्छि नमान्नुहोला।
भोक नलाग्ने, पेट सम्म भैरहने अनि अलिकति खानेबित्तीकै खान मन नलाग्नुको पछाडि निम्न कारण लुकेको हुन सक्छ:-
१. बानी
जब हामीलाई भोकलाग्छ र भोक लागेको बेला खान पाउँदैनौँ वा खान अल्छि मान्छौँ भने अब हामीलाई एसिडिटीले सताउन थाल्छ- मतलब छातीको बीच भागमा पोल्ने, पेट गड्याङगुडुङ गर्ने, मुखबाट अमिलो पानी आउने हुन्छ। त्यसपछि अचम्मको कुरा के छ भन्दा एसिडिटीलाई पनि लामो समयसम्म सहेर बसिरह्यो भने अब त्यसले भोक नलाग्ने समस्या उत्पन्न गराउँदछ। यो एउटा घातक चक्र हो, जसलाई तोड्न असाध्यै मुश्किल गर्दछ। अर्को अर्थमा यसलाई ‘बानी’ पनि भन्न सकिन्छ।
यो चक्रलाई तोड्ने एउटै उपाय हो- खाने! खानुस्, मन नलागेपछि, जबरजस्ती खानुहोस्। खानाको गन्ध नै सुँघ्न मन छैन भने, सुरुमा आफूलाई सबैभन्दा मनपर्ने खानेकुराबाट सुरु गर्नुहोस्। पिज्जा मन पर्छ कि, मोःमोः मन पर्छ कि, या भनौँ न सेकुवा मन पर्छ, जे मन पर्छ त्यहि खानुहोस्। यतिबेला स्वस्थ खानाको मतलब नगर्नुहोस्, जस्तो भएपनि खानुहोस्। नखाने बानीलाई खाने बानीले तोड्नुहोस्, किनकी खान मन नलाग्नु एकदमै घातक हुन्छ।
२. पेप्टिक अल्सर
खाना नखाँदै भोक मेट्टिने, पेट डम्म हुने समस्याको अर्को कारण भनेको ‘पेप्टिक अल्सर’ पनि हुन सक्छ। पाचनप्रणालीसम्बन्धी अल्सरलाई ‘पेप्टिक अल्सर’ भनिन्छ। यस्तो हुँदा व्यक्तिलाई बस्न पनि अप्ठ्यारो हुन्छ र उठ्न पनि! त्यसैगरी पेट घोँचेको जस्तो हुने, पेट फुलेर डम्म हुने, ढ्याउ आउने र पेट ढुस्स हुने अनि ढ्याउ गर्दा अमिलो पानी आउने जस्ता लक्षणहरू देखा पर्दछन्।
हाम्रो पेटमा भएको ग्यास्ट्रिक जुस (एसिड) ले कुनै कारणबाट पेटको भित्तामा भएका रक्षक कोषहरूलाई असर पुर्यायो भने ‘पेप्टिक अल्सर’ हुन जान्छ। ब्रुफिन, एस्पिरिन, सिटामोल तथा फ्लेक्सनजस्ता पेनकिलर धेरै दिनसम्म निरन्तर सेवन गर्दा पनि पेप्टिक अल्सर हुन सक्ने सम्भावना बढ्दछ।
पेप्टिक अल्सरबाट ग्रसित हुनेहरूले धुम्रपान तथा मद्यपान गर्नु एकदमै खतरनाक हुन्छ।
३. ग्यास्ट्रोप्यारेसिस
यो यस्तो अवस्था हो, जुनबेला हाम्रो पेटबाट खानेकुराहरू सही समयमा रित्तिएर सानो आन्द्रामा जान सक्दैन। हामीले खाएको खानेकुरा पचाउनको लागि विभिन्न चरणहरू पार गरेर जानुपर्ने हुन्छ। प्राम्भिक चरण हाम्रो पेटबाट सुरु हुन्छ र त्यसबाट खानाहरू रित्तिएर सानो आन्द्रा, ठूलो आन्द्रा हुँदै मलद्वारबाट दिसाको रूपमा बाहिर निस्कन्छ। पेटबाट सानो आन्द्रामा खाना ट्रान्सफर गर्नको लागि ‘भेगस’ नामक स्नायुले पेटलाई खुम्च्याउँदछ। तर यदि यो ‘भेगस’ स्नायुमा कुनै कारणले क्षति पुग्यो भने पेटबाट सानो आन्द्रामा खाना पुग्न पाउँदैन र पेट डम्म भएको महशुस भैरहन्छ। साथै खाना पच्ने प्रक्रिया पनि सामान्यभन्दा ढिलो हुने हुन्छ।
४. कलेजोको रोग
कलेजोसम्बन्धी जुनसुकै रोगलाई पनि ‘साइलेन्ट किलर’ भन्न सकिन्छ। किनभने कलेजोको रोग सजिलै निको हुँदैन तर यसले धेरै झञ्झट दिने गर्दछ। अत्याधिक मद्यपान गर्नाले अनि अधिक सिटामोल, फ्लेक्सन जस्ता पेनकिलरको सेवन गर्नाले कलेजोमा समस्या उत्पन्न हुन्छ र हेपाटाइटिस-बी जस्ता घातक रोग लाग्न सक्दछ।
कलेजोबाट उत्पन्न हुने पित्त कलेजोसँगै टाँस्सिएर रहेको पित्तथैलीमा गएर जम्मा हुन्छ। यो पित्तले हामीले खाएको खानेकुरालाई पचाउन र त्यसबाट चाहिने पौष्टिक तत्व सोस्न मद्दत गर्दछ। तर यदि कलेजोमा समस्या हुन थाल्यो भने पित्तको बहावमा रोक्किन जान्छ र पित्तथैलीको पत्थरीसमेत हुन सक्छ, जसको कारण हाम्रो पेटको पचाउन सक्ने शक्तिमा पूर्णतया ह्रास हुन जान्छ। यसैको कारण नै भोक नलाग्ने, पेट डम्म भैरहने जस्ता समस्या उत्पन्न हुन जान्छ।
५. डिप्रेसन
डिप्रेसन भनेको दिमागी रोग हो, जसले अन्य शारीरिक गतिविधिमा समेत प्रत्यक्ष प्रभाव पार्दछ। कसैलाई डिप्रेसनको कारण उसको हिँडाईको चाल, आनिबानीमा असर पुर्याउँदछ भने कसैलाई भोक नलाग्ने, रिस उठ्ने, ग्यास्ट्रिक बढाउने गराउँदछ।
धेरै चिन्ताको कारण अधिकांशले खान लागेको खाना पनि छोडेर जान्छन्। तर के यसो गर्नु उचित हुन्छ? चिन्ता आफ्नो ठाउँमा हुन्छ अनि भोक आफ्नै ठाउँमा! तर चिन्ताको कारण कसैले खानै छोड्छ भने उसलाई डिप्रेसनले समात्ने दर सामान्य भन्दा छिटो हुन्छ। मतलब, यदि तपाईँले खान झ्याउ मान्नुभयो भने त्यसले डिप्रेसनको सङ्केत गरिरहेको हुन सक्छ। त्यसैले खानुहोस्!
डिप्रेसनले हाम्रो दिमागको ‘लेप्टिन’ र ‘घ्रेलिन’ नामक हरमोनमा असन्तुलन पैदा गराउँदछ। ‘घ्रेलिन’ हरमोनले हामीलाई भोक लगाएको महशुस गराउँदछ भने ‘लेप्टिन’ले पेट भरिएको महशुस गराउँदछ। तर डिप्रेसनको कारण कसैमा घ्रेलिन हरमोनको उत्पादनमा वृद्धि हुन्छ भने कसैमा लेप्टिनको। त्यसैकारणले नै कुनै डिप्रेसन बिरामीहरूलाई भोक नलाग्ने हुन्छ भने कसैलाई खा’को खाई गर्नुपर्ने हुन्छ।
६. महिलाको प्राकृतिक लक्षण
कहिलेकाहिँ प्रारम्भिक चरणमा पुगेका गर्भवती महिलाहरूलाई पनि भोक नलाग्ने, खान मन नलाग्ने जस्ता विचित्रका लक्षणहरू देखा पर्न सक्दछ। अनि रजस्वला हुनुभन्दा केहि दिनअगाडि र रजस्वला भएको केहि दिनसम्म पनि महिलाहरूलाई यस्तो लक्षण देखा पर्दछ, जुन सामान्य हो। यसलाई PreMenstrual and PostMenstrual Syndrome- PMS भनिन्छ। यस्तो बेलामा महिलाहरूको शरीरमा प्रोजेस्टेरोन हरमोनको मात्रा ह्वात्तै बढ्दछ, जसले पाचनप्रक्रियामा ढिलो गराउँदछ र खाएको कुरा पचाउन बढि समय लगाउँदछ।
यस्तो समस्याबाट बच्न के गर्न सकिन्छ?
यो समस्याबाट बच्ने एउटै उपाय भनेको यो समस्या आउनै नदिनु हो। जसको लागि-
- दैनिक नियमित सन्तुलन भोजनको आहार गर्नुपर्दछ। भोजन आहार गर्दा राम्रोसँग चपाएर मात्रै निल्नुपर्दछ। खानेबेला हतार गर्नुहुँदैन।
- खाना खाने क्रममा सकेसम्म पानी पिउनुहुँदैन। किनकी खाना खाँदै गर्दा पानी पिएमा त्यसबाट बढि मात्रामा कार्बनडाइअक्साइड ग्याँसको उत्पादन हुन्छ र अझ बढि पेट डम्म हुने समस्या ल्याउन सक्छ।
- कामको व्यस्ततामा पनि आफ्नो खाना खाने समयतालिका छुट्याउनुपर्दछ, किनभने आफ्नो स्वास्थ्य भन्दा ठूलो कुनै सफलता हुँदैन।
- मद्यपान, धुम्रपान, अधिक मसालेदार खाना, अत्याधिक चिया र कफी सेवन, अत्याधिक कोल्ड ड्रिङ्क्स (पेप्सी, कोका-कोला, आदि।) अनि खाना खानेबित्तीकै उत्तानो परेर पल्टिने बानी बसाल्नुहुँदैन।
यदि यस्तो समस्याले धेरै दिनसम्म पनि सताइराख्यो भने तुरुन्तै अस्पताल गएर जँचाउनु अपरीहार्य हुन्छ, किनकी अल्सर, पित्तथैलीमा पत्थरी लगायत कलेजोको समस्या कुनै सामान्य रोग होइन, हेलचेक्रयाईँ गर्दागर्दै ज्यान पनि जान सक्छ।