प्रकाश गिरी

आजभन्दा बिस-पच्चीस वर्ष पहिले, जब म सत्र-अठार वर्षको तन्नेरी थिए, समय निक्कै मिठो थियो…समय निक्कै जीवन्त थियो। धन्न विकासको निहुँमा प्रविधि भित्रिसकेको थिएन! नत्र घरबाट दुई किलोमीटर टाढा खेतमा गएका आफन्तलाई घोक्रो फुलाउँदै “एSSSSSSSSS काकाSSSSSSS” भन्दै बोलाउँदाको मिठो सम्झना पनि अहिलेको मोबाईल जुगमा कहाँ पाउनु।Prakash pic

धान रोप्ने बेला बाउसे-खेताला लगाईन्थे। बाउसेले धेरै दु:ख गर्नुपर्ने निहुँमा अर्म-पर्ममा बाउसेलाई अनधीको भात खाजा दिईन्थ्यो। बिचरी खेतालीहरु कोदाको रोटी र बासी मोहीमा चित्त बुझाँउथे। रोपाईको लागि स्कूल छुट्टि भएको बेला म बाउसे लाग्थे।

अनतिको भात खान पाईन्छ भनेर होईन, सलीनालाई भेटिन्छ भनेर! मेरो भागको भात सधैँ म उसको कोदोको रोटिसँग साट्थेँ।

ऊ भन्थी- “जाबो कोदोको रोटी पनि कस्तो मन परेको?” म खिसिक्क हाँस्थे। कस्सम, मन परेको मान्छेको अगाडी बोली फुटाउन पनि मरेतुल्य हुने रहेछ।

त्यहि बोली फुटाउन नसक्ने भएरै होला, त्यो बेला गाँउघरमा माया प्रेम दर्शाएर चिठी लेख्ने लहरै चल्या थियो। सायरी हाँक्दै पाँच-सात पाना लामो चिठी लेखिन्थ्यो र अन्त्यमा रगतको थोपाले दुई जनाको नाम लेखेर बिचमा “‌+”‌ राखि जोडिन्थ्यो – प्रेमपत्रका लागि साँईला बाजेका कान्छा छोराले निकालेको निकै चर्चित खाका!

यहि तरिकाले पत्र लेखेरै उनले जुनकिरी भाउजुलाई पोईल ल्याएका थिए।

गाँउघरमा अजैसम्म पनि कुरा काटेको सुनिन्छ – “नफस्याई त जुनजस्तै धपक्कै बलेकी जुनकिरी त्यस्ता खुईलेको भाग्यमा कहाँ।” यस्ता कुराले ममा जोश पलाँउदथ्यो र फेरी याद आँउथ्यो – मैले आँखा झिम्क्याएर खिसिक्क हाँस्दा ऊ भुतुक्क हुन्थी। रिसाएर मोरो हाल्नुपर्ने ठाँउमा भुतुक्क भएको देख्दा मैले पनि सलीनालाई चिठी लेख्ने आँट नगरेको होईन।

“मेरी मुटुकी टुक्री,
मकै भाँच्न गार्हो भयो साउने झरी परेर
पाप लाग्या हो रे यो त प्रेमको चरी मरेर”

अनि पुरै पानाहरुभरी मेरो प्रेम पोखिन्थ्यो र अन्त्य फेरि उस्तै लयमा:
“…देउरालीमा सुसेल्दा तिम्रै गित गाँउछु
जान्छु भने सलीनाले आजै लिन आउँछु
आशा गर्छु यो मनलाई पार्दिनौ तिम्ले मलीना
जाँदा जाँदै लेख्छु प्यारी – जगदीश ‌+ सलीना”

तर स्मरण रहोस् – यस्ता प्रेमपत्रहरुमध्ये केही भाग्यशाली पत्रहरुमात्र पोईलमा टुंङ्गिन्थे।

अधिकाशं चिठीहरुचाँहि युवतीका दाजु-भाउजु र छिमेकीका हातमा पुग्थे। त्यसैले यस्ता कयौँ चिठीहरुचाँहि चौतारीमा युवतीका खुट्टा ढोगेर मागिने सामुहिक माफिमा परिणत हुन्थे।

यो काण्डमा युवायुवतीमात्र नभई दुई नातिका हजुर’बा धतुरे बुढासम्म फसेका थिए। हुन त धतुरेकै कान्छा छोराले दोस्री श्रीमती यसरीनै भित्र्याएका हुन्।

मैले पनि चिठ्ठीलाई कयौँपटक परिस्कृत गरीवरी बुट्टा भरेर खाममा राखेँ। सिधैँ चिठ्ठी दिने मेरो आँट आएन। मैले चिठी लगिदिने माध्यमको लागी हामी दुवैकी साथी रमीलालाई चुने।

जति चिठ्ठी दिने अन्तिम तयारी हुन्थ्यो, त्यति नै गतिमा मैले आफूलाई चौतारीमा कान समाएर उभिएको कल्पना गर्न थाल्थेँ।

सायद यसरी रगतले लेखेका चिठिको समेत दुर्दशा देखेको भएर होला, मलाई आजकलका भुरा-भुरीले देख्दै नदेखेका मानिसलाई “आई लभ यू!” भन्दै पठाउने राता, हरिया, पहेला, रङ्गीबिरङ्गी पानका पात र गुलाबमा विश्वास लाग्दैन। प्रेम सस्तो भईसक्यो।

त्यो चिठी आजपनि मसँग सुरक्षित छ। मेरी श्रीमतीले भेटिहाल्छिन की भन्ने डरले मैले सलीनाको नाम मेट्टाएको छु, अरु जस्ताको तस्तै छ। सलीना सधैँजसो तिजमा माईत खान आँउदा म उसलाई भेट्छु अनि बर्षैपिच्छे त्यो चिठी दोहोर्याई-तेहेर्याई पढ्छु।

मलाई ती शव्द र सायरीहरु निकै तुच्छ लाग्दछन्। तर प्रेम…।

सलीनाले दर खाने दिन कहिलेकाँही जिस्काउँदै “तिम्रो अनतिको भातको सट्टा” भन्दै खिर ल्याईदिन्छे। आजसम्म पनि उसको अगाडी मेरो बोली फुट्दैन…म खिस्स हाँस्छु र महशुस गर्छु, आफूलाई जति ढाँटेपनि प्रेम त अझै उस्तै छ। तर कस्सम, प्रेम यस्तो महङ्गो पनि नहोस्… साँचो प्रेम गरेर पनि दर्शाउनै नसकिने।