१४ मंसिर, महोत्तरी । प्रतिनिधिसभातर्फ राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक तथा मधेसी गठबन्धनको साझा उम्मेदवार महन्थ ठाकुर चुनावी प्रतिस्पर्धामा उत्रेपछि महोत्तरी ३ को चुनावी वातावरण निकै रोमाञ्चक भएको छ।

ठाकुर संघीय समाजवादी फोरम र राजपा नेपालको गठबन्धनका साझा उम्मेदवार हुन् भने नेपाली कांग्रेसले पनि उनैलाई सघाउने निर्णय गरेको छ । यस्तै महोत्तरी ३ का उम्मेदवार बजरंग नेपालीले उम्मेदवारी फिर्ता लिएका छन् । तर स्वतन्त्र उम्मेदवार चन्देश्वर झा र वाम गठबन्धनका उम्मेदवार विजय चौधरीले उनलाई कडा चुनौती दिएका छन्। आजको नागरिकमा खबर छ ।

जलेश्वर नगरपालिकासहित एकडारा गाउँपालिका, मटिहानी नगरपालिका र पिपरा गाउँपालिका रहेको महोत्तरी क्षेत्र नं. ३ मा राजपा नेपालकै संगठन बलियो छ । स्थानीय चुनावमा यी चारवटै स्थानीय निकायको प्रमुख र उपप्रमुखमा विजयी भएका छन्।

तर प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी माहोल स्थानीय तहको जस्तो छैन । त्यसैले कुनै उम्मेदवारलाई बलियो र कसैलाई कमजोर भनेर व्याख्या गर्न सक्ने अवस्था नरहेको जलेश्वर ४ का शिक्षक शम्भु ठाकुर बताउँछन्।

क्षेत्र नं. ३ मा अहिलेसम्म कुनै उम्मेदवारले पनि दोहो¥याएर चुनाव जितेका छैनन् । यहाँका मतदाताको मन कहिल्यै पनि स्थिर नरहेकाले जनताको अभिमत कता जान्छ भन्न नसकिने ठाकुरको भनाइ छ।

यहाँ स्वतन्त्रबाट उम्मेदवारी दिएका चन्देश्वर झा पहिले राजपाबाटै टिकटका लागि आकांक्षी थिए । उनी चुनावभन्दा केही महिनाअघि मात्रै राजपामा प्रवेश गरेका थिए । तर अन्तिम समयमा आएर राजपा नेपालबाट संयोजक महन्थ ठाकुरले उम्मेदवारी दिने पक्का भएपछि झाले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

२०७० को संविधानसभा चुनावमा झा तात्कालीन क्षेत्र नं. ४ मा स्वतन्त्रबाटै विजयी भएका थिए।