५ मंसिर, गौशाला । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका संयोजक एवं महोत्तरी निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार महन्थ ठाकुरलाई आफ्नै बागी र वामगठबन्धनका उम्मेदवारको चुनौती देखिएको छ ।

सो क्षेत्रमा संयोजक महन्थ ठाकुरसँगै राजपा नेपालकै बागी उम्मेदवार चन्देश्वर झा र नेकपा (एमाले)का उम्मेदवार विजयकुमार चौधरीले पनि चुनावी अभियान बढाएका छन् । अहिले तीनैजनाले मतदाता फकाउने कामलाई तीव्रता दिएका छन् ।

संयोजक ठाकुरले मधेशलाई अधिकार सम्पन्न, विभेद्बाट मुक्ति, न्यायोचित सम्मान र चौतर्फी विकासका लागि यसपालीको चुनावमा मतदातालाई मधेशको सम्पूर्ण निर्वाचन क्षेत्रमा मधेशी नेतालाई जिताएर सम्पूर्ण मधेशलाई मधेशीमय बनाउन आग्रह गर्दै मतदातालाई आफ्नो पक्षमा मतदान गर्न फकाउँदै छन् ।

उनी मतदातालाई प्रदेश नं २ मा मधेशी सरकार बनाएर आफ्नो विशेष पहिचान कायम गर्न आग्रह गर्छन भने आफ्नो स्वभिमान, सम्मान र अधिकारको रक्षा केवल मधेश सरकारबाट हुने दाबी गर्दै मतदातालाई आफूलाई भोट हाल्न आग्रह गर्छन ।

राजपा नेपालको समर्थनमा नेपाली काँग्रेसले समेत उम्मेदवारी फिर्ता लिएपछि आफू निर्वाचन जित्नेमा संयोजक ठाकुर विश्वस्त देखिएका छन् ।

राजपा नेपालकै बागी उम्मेदवार बनेका चन्देश्वर झा आफू जित्ने दाबी गर्छन । पूर्व सांसद चन्देश्वर झा आफूलाई यहाँको जनताले विकासका लागि स्वतन्त्ररुपमै उठ्नुस् भनेपछि उठेको र तीनै जनताले भोट हालेर जिताउने दाबी गर्छन ।

त्यस्तै वामगठबन्धनबाट एमालेका उम्मेदवार विजयकुमार चौधरी यसअघिको निर्वाचनमा यस क्षेत्रबाट एमालेले नै जितेकाले यसपाली पनि एमाले नै जित्ने दाबी गर्छन । वाम एकतापछि आफ्नो संगठन बलियो भएको र आफू यस क्षेत्रमा सबैभन्दा बढी मतान्तरले विजयी हुने उनको दाबी छ ।

उनी मधेश र मधेशीको अधिकारका लागि संविधान संशोधन जरुरी रहेको र त्यो काम केवल वामगठबन्धनबाट सम्भव भएको बताउछन् ।रासस