२४ असार, काठमाडौं । दोस्रो चरणमा चुनाव भएका ३ सय ३४ स्थानीय तहमध्ये अब ४ तहको मात्रै नतिजा आउन बाँकी छ ।

मोरङको विराटनगर महानगरपालिका, सुनसरीको धरान उपमहानगरपालिका, झापाको अर्जुनधारा र कञ्चनपुरको पुनर्बास नगरपालिकाको नतिजा आउन बाँकी रहेको हो । विराटनगरमा कांग्रेस लगभग जित नजिक पुगेको छ भने बाँकी तीन तहमा एमालेको अग्रता छ ।

पछिल्लो मतपरिणाम अनुसार विराटनगर महानगरको प्रमुखमा कांग्रेसका भीम पराजुलीको १९ हजार १ सय ५१ मत रहेको छ भने एमालेका प्रमुखका उम्मेदवार विनोद ढकालको १३ हजार ५ सय ३८ मत रहेको छ ।

यस्तै उपप्रमुखमा कांग्रेसकी इन्दिरा कार्कीको १६ हजार ६ सय ७० मत छ भने माओवादी केन्द्रकी नमिता न्यौपानेले १० हजार ३३ मत पाएकी छिन् । धरान उपमहानगरपालिकामा प्रमुख पदमा एमालेका तारा सुब्बा अग्रस्थानमा रहँदा कांग्रेसका तिलक राई दोस्रो स्थानमा रहेका छन् ।

उपप्रमुखमा पनि एमालेकै मञ्जु भण्डारी फराकिलो मतान्तरमा अग्रस्थानमा छिन् । झापाको अर्जुनधारा नगरपालिकामा एमालेका हरिकुरमार राना अगाडी रहँदा कांग्रेसका हेमराज खरेलले पछ्याइरहेका छन् ।

उपप्रमुखमा एमालेकै कमला खतिवडा अगाडी रहेकी छिन् । त्यस्तै कञ्चनपुरको पुर्नबासमा एमालेका जीवनराम थापा अग्रस्थानमा रहँदा माओवादी केन्द्रका वीरबहादुर थापा पछ्याउँदै छन् भने उपप्रमुखमा एमालेकै शारदा विष्टलाई माओवादी केन्द्रकी सीता बिकले पछ्याईरहेकी छन् ।