६ कात्तिक, काठमाडौं।
नेपाली कांग्रेसभित्रै अख्तियार प्रमुख विरुद्धको महाभियोग प्रक्रियालाई समर्थन गर्ने वा नगर्ने भन्ने विषयमा तीव्र मतभेद देखिएको छ ।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा शुक्रबार बोल्ने नेताहरुमध्ये कतिपयले अहिलेको सत्ता गठवन्धन टुटाउने नियतले महाभियोगको प्रस्ताव अघि बढेको बताएका हुन ।

फरक मत राख्नेहरुले चाहिँ महाभियोगमा समर्थन नगरे कांग्रेसप्रति जनआस्था घट्ने र त्यसले आगामी दिनमा सहमतिको राजनीति समेत भत्काउने भन्दै चिन्ता जनाएका छन । अख्तियार प्रमुख कार्की विरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमा संसदको सबैभन्दा ठूलो दल कांग्रेसले लिने रणनीतिबारे सबैले चासो राखेपनि कांग्रेस बैठक सोमबारसम्मका लागि स्थगित भएको छ ।

कांग्रेससित पर्याप्त छलफल नै नगरी महाभियोग प्रस्ताव ल्याइएको भन्दै कतिपयले बैठकमा त्यसलाई वर्तमान सत्ता गठवन्धन भत्काउने प्रयास भनेका छन ।

केही केन्द्रीय सदस्यले भने हाल कार्यसम्पादन गर्न नपाउने स्थितिमा रहेका अख्तियार प्रमुखको योग्यतासम्बन्धी मुद्दा अदालतमा विचाराधीन भएकाले महाभियोग प्रस्ताव न्यायालयको क्षेत्राधिकारमाथिको हस्तक्षेप हुनसक्ने बताएका छन ।

अदालतको विषय र महाभियोग प्रस्ताव बिल्कुल फरक विषय भएको भन्दै महाभियोग प्रस्तावमा समर्थन गर्न कांग्रेस चुक्न नहुने धारणा पनि केही नेतामा छ ।