१ असोज, काठमाडौं । माओवादी केन्द्रले पार्टीको ‘भद्रगोल संगठन’ लाई व्यवस्थित बनाउन दुई अंकको केन्द्रीय समिति बनाउने निर्णय गरे पनि कार्यान्वयनमा जटिलता देखिएको छ। साउन पहिलो साता उसले चार हजार बढीको आयोजक समितिका कारण पार्टी संगठन भद्रगोल र लथालिंग बनेको निष्कर्ष निकाल्दै केन्द्रीय समिति दुई डिजिट (९९ सदस्यीय) मा झार्ने नीतिगत निर्णय गरेको थियो। तर, अहिले बनाउन खोजिएको पार्टीको माथिल्लो निकाय केन्द्रीय सचिवालय नै दुई अंकभन्दा ठूलो बन्ने देखिएको छ। माथिल्लो निकाय हेडक्वार्टर भंग गर्दै माओवादीले केन्द्रीय सचिवालयलाई पार्टीको सर्वाेच्च निकाय बनाउने र त्यसको संख्या बढीमा ९९ सदस्यीय बनाउने बताएको थियो।

पछिल्लो समय एकता प्रक्रियामा सहभागी नेतालाई समेट्दा सचिवालय नै तीन अंकमा पुगेपछि सानो समिति बनाउने योजनामा ठेस लागेको माओवादी नेता बताउँछन्। संख्या घटाउन नसकेपछि माओवादीले जम्बो केन्द्रीय समितिको व्यवस्थापन संघीय संसद् र प्रदेशसभा निर्वाचनपछि मात्र गर्ने तयारी गरेको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

हेडक्वार्टर विघटन गर्दा माथिल्लो कमिटी केन्द्रीय सचिवालय बढीमा ९९ सदस्यीय बनाउने निर्णय माओवादीले भदौ तेस्रो साता गरेको थियो। तर, अहिले नै सचिवालयमा एक सयभन्दा बढी नेता छन्। अझै केही नेतालाई अटाउनुपर्ने भएकाले माओवादीलाई सचिवालय व्यवस्थापन गर्न हम्मे परेको छ। सचिवालयमा ८३ जना नेता यसअघि नै थिए भने पछिल्लो समय एकता प्रक्रियामा आएकै १७ भन्दा बढी नेता थपिइसकेका छन्।

धु्रवीकरण र एकता प्रक्रिया बढेपछि माओवादीले संगठनात्मक व्यवस्थापनका लागि गृहकार्य गर्न वर्षमान पुनको नेतृत्वमा कार्यदल नै गठन गरेको छ। कार्यदलमा नेता देवेन्द्र पौडेल, रामकुमार शर्मा, विश्वभक्त दुलाल, रामेश्वर राय यादव, जीवन खड्का सदस्य छन्। ‘संख्या थपिँदै गएपछि अब ९९ सदस्यीय संख्याको सीमामा मात्र बाँधिन नहुने र त्यसलाई खुलाउनुपर्ने विषयमा कार्यदल तहमा छलफल चलिरहेको छ,’ सदस्य पौडेलले अन्नपूर्णसँग भने, ‘अध्यक्षसँग बसेर अब यसको सीमा खोल्नेबारे छलफल गरेर टुंगो लगाउने तयारी छ।’

कार्यदलले केन्द्रीय सचिवालयमा देवेन्द्र पौडेल, परशुराम तामाङ, पासाङ शेर्पा, कुमार पौडेल, वामदेव क्षत्री, महेन्द्र्र पासवान, बलावती शर्मा, सुशीला श्रीपाइली, मुक्ति प्रधान, अमरध्वज लामा र तिलक थापा लाई समेट्ने निर्णय गरेपछि उनीहरू सचिवालयमा समेटिइसकेका छन्। त्यस्तै, नयाँ शक्तिमै रहे पनि अलगै एकतामा आएका रामचन्द्र झा, रामकुमार शर्मा पनि सचिवालयमा परेका छन्।