आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले ललितपुरको गोदावरी नगरपालिकाबाट सिताराम कट्टेल धुमुर्सकी सासु तथा कुञ्जना घिमिरे सुन्तलीकी आमा सीता घिमिरेलाई उपप्रमुखको उम्मेदवार बनाएको छ । २०६२-०६३ सालबाट माओवादीमा सक्रिय हुँदै आएकी उप्रमुखका उम्मेदवार घिमिरले हिजो उम्मेदवारी दर्ता गराएपछि जापानमा रहेका ज्वाइँ छोरी धुर्मुस–सुन्तलीलाई टिकट पाएको जानकारी गराईसकेको छिन् । धुर्मुस–सुन्तली हाल सांस्कृतिक कार्यक्रममा सहभागी हुन जापानमा छन् ।

माओवादीले नै यो देशको विकास गर्ने निष्कर्ष सहित माओवादी बनेकी सीता घिमिरेका श्रीमान भने एमालेका कार्यकर्ता हुन् । अहिलेसम्म उनका श्रीमानले एमाले परित्याग गरेका छैनन् । तर सीताले नै उपप्रमुखको उम्मेदवारी दिएपछि भने जिताउन श्रीमान पनि चुनावी अभियानमा लागेका छन् । गोदावरी नगरपालिकाबाट उपप्रमुखमा उम्मेदवारी दिएका सीता घिमिरेसँग तपाईको उम्मेदवार किन ? भन्ने विषयमा नेपाली हेडलाइन्सको लागि प्रयास पराजुलीले गरेको कुराकानीः–

कहिलेबाट माओवादीको राजनीतिक सुरु गर्नुभयो ?

माओवादीप्रति सुरुदेखि नै म झुकाब राख्थे । २०६२-०६३ सालबाट सक्रिय रुपमा माओवादीको राजनीतिक सुरु गरेको हुँ । माओवादीले लिएको नीति राम्रो लाग्छ । दुई वटा संविधानसभा निर्वाचनमा पार्टीलाई सहयोग गरेको हो ।

उपप्रमुखमा उम्मेदवारी दिनु भएको छ कस्तो लागेको छ ?

म भन्दा सिनियर साथीहरु पनि हुनुहुन्थ्यो । तर मलाई पार्टीले विश्वास गरेर टिकट दिएको छ । म पार्टीलाई धन्यवाद दिन चाहन्छु । मैले जित्छु पनि ।

यो भन्दा अगाडि निर्वाचनमा उठनु भएको थियो कि थिएन ?

छैन । पहिलो पटक नै नगरपालिकाको उप्रमुखमा उम्मेदवारी दिएको हो । राजनीतिले नै सबै नीति बनाउने भएकाले नीति निर्माण गर्ने ठाउँमा पुग्नु पर्छ भनेर नै मैले उम्मेदवारी दिएको हुँ ।

तपाईले जित्ने आधार के हुन ?

पहिलो त पार्टी हो त्यसपछि म हुँ । माओवादीको नेतृत्वमा धेरै राम्रो काम भएका छन् । बर्षौदेखि अध्याँरो रहेको नेपाललाई माओवादीले नै उज्यालो बनाउन सफल भएको छ । सिंहदरवारमा रहेको केन्द्रीकृत अधिकारलाई अहिले ७ सय ४४ स्थानीय तह मार्फत गाउँगाउँमा सिंहदरवारले पुर्याएको छ । अहिले अधिकार सम्पन्न स्थानीय तह बनेको छ । यसलाई संस्थागत गर्नको लागि माओवादीलाई जिताउनु पर्छ । मैले रानजीतिमा लागेर गोदावरी नगरपालिकालाई थप विकास गर्ने योजना र लक्ष्य अगाडि सारेको छु ।

तपाईको श्रीमान त एमाले होइन ?

हो, अहिलेसम्म एमाले परित्याग गर्नुभएको छैन् । अब मलाई नै सहयोग गर्नुहुन्छ । श्रीमानलाई श्रीमतीको साथ । श्रीमतीलाई श्रीमानको साथ ।

धुमुर्स सुन्तलीसँग कस्तो अपेक्षा गर्नुभएको छ ?

धुर्मुस सुन्तली मेरो ज्वाइँ र छोरी मात्र होइन । राष्ट्रको गहना पनि हुन् । देशको कलाकारले पार्टीको पक्षमा लागेर प्रचार गर्न मिल्दैन । मैले जापानमा रहेका छोरी र ज्वाइँलाई टिकट पाए भनेर खबर पुर्याइसकेको छु । पारिवारिक रुपमा धुर्मुस सुन्तलीले गर्ने सहयोग हुन सक्छ । तर चुनावमा प्रचारमा नै हिडनु पर्छ भन्ने मान्यता म राख्दिन । आमाले जित्नु पर्छ भन्ने चाहना त छोरी ज्वाइँको भइ नै हाल्छ ।

चुनावको खर्च कसरी जुटाउदै हुनुहुन्छ ?

चुनावको लागि चाहिने सामान्य खर्च जुटाउने तयारीमा छौं । धेरै खर्च गर्न सकिन्न । धेरै खर्च गरेर भन्दा पनि जनताको मन जितेर मत ल्याउने हो । लामो समयदेखि आफने गाउँगाउँको विकास निर्माणमा भूमिका खेल्दै पनि आएको छु ।