नेकपा माओवादी केन्द्रले फुटेर गएका सबै माओवादीलाई एकताका लागि औपचारिक आब्हान गरेको छ । आब्हान मात्र होइन उसले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्ने पार्टीको पुरानो एजेण्डालाई पनि ब्यूँताएको छ ।

यो एजेण्डलाई पुनः ब्यूँताउदा एकता प्रकृया सजिलो हुन्छ भन्ने माओवादी केन्द्रको बुझाइ छ । किनकी अन्य माओवादी पनि त्यही चाहन्छन् र माओवादी केन्द्रको यो कदमलाई उनीहरुले स्वागत पनि गरेका छन् ।

के त्यसो भए अव एकता सहज भएको हो ? यसप्रति डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिको धारणा के हो ? यसै सन्दर्भमा केन्द्रीत रहेर हामीले नयाँ शक्ति पार्टीका नेता गंगा श्रेष्ठसँग कुरा गरेका छौं ।

पार्टी फुट्दा कम्जोर भएको भन्दै माओवादी केन्द्रले एकताको औपचारिक प्रताव गरेको छ । यसलाई नयाँ शक्तिले कसरी लिएको छ ?
पार्टीले आधिकारिक निर्णय लिएको छैन । केन्द्रीय समिति र संघीय परिषद्को बैठक चलिरहेको छ । निर्णय त बैठकले गर्ला तर उहाँहरुले एकताका लागि अपिल गर्नु भएको छ । अपिल गर्नु ठिक छ ।

हामी नयाँ शक्ति बनाएर जसरी अघि बढेका छौं, यो माओवादीको एउटा टुक्रा होइन । माओवादीको निरन्तरतामा नयाँ शक्ति गठन भएको पनि होइन । त्यसैले जसरी एकताका लागि अपिल भएको छ अहिले नै त्यसका लागि हामी त्यति उत्सुक छैनौं ।

नयाँ शक्तिमा विगतमा त्यही माओवादी आन्दोलनमा लागेका नेताहरुको बाहुल्यता छ । अहिले माओवादीको टुक्रा होइनौं भनेर कसरी भन्न सक्नु भएको ?
हिजोको पृष्ठभूमि खोतल्न तिर नलागौं । त्यो आधारमा नयाँ शक्ति पार्टी गठन गरेर सञ्चालन गरेका छैनौं । हामीले नितान्त नयाँ भएर नयाँ शक्ति बनाएका हौं । हो तपाईले भने जस्तो कोही माओवादी, कोही कांग्रेस, एमाले, कर्मचारीहरु, नागरिक समाज लगायत विभिन्न पृष्ठभूमिमा काम गरेका साथीहरुको गठबन्धन नै नयाँ शक्ति हो । यसलाई हामी विगतको पृष्ठभूमिका आधारमा तिनै पार्टीमा फर्केर समस्याको समाधान हुन्छ भन्नेमा विश्वास राख्दैनौं ।

तपाईको पार्टी भित्रैबाट कतै न कतै एकता गर्नुपर्छ भन्ने आवाज जोडदार रुपमा उठेको छ । त्यो हेर्दा विचार र सिद्धान्तका हिसावले सबैभन्दा नजिकको माओवादी नै त होला नि ?
तपाईले भने जसरी छलफल चलेको होइन । छलफल चलेको अहिलेको राजनीतिक संकट समाधान गर्नका लागि तीनवटा कोणबाट पहल लिनुपर्छ भन्ने हो । एउटा प्रदेश नम्बर २ को स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभाको चुनावमा संभव हुने दलहरुको बीचमा चुनावी तालमेल गरेर जाउँ भन्ने हो ।

अर्को, अलि रणनीतिक रुपको राजनीतिक मोर्चा बनाएर जानुपर्छ भन्ने हो । तेस्रो पार्टी एकीकरण गरेर गए नीतिकगत रुपमा अहिलेको समस्या समाधान गर्न सकिन्छ भन्ने पनि हो ।

जहाँसम्म तपाईले सबैभन्दा नजिकको मुद्धा र एजेण्डा मिल्ने पार्टी भन्नुभयो, निश्चित रुपमा हिजो माओवादी पृष्ठभूमिबाट आएर नयाँ शक्ति निर्माण गरेका छौं, केही मान्छेहरु यो माओवादीकै निरन्तरता दिन खोज्छन्, त्यो सत्य होइन ।

तर माओवादी केन्द्रले आफ्नो बैठकबाट प्रत्यक्ष निर्वाचित कार्यकारीको कुरालाई फेरी अघि लिएर आएको छ त्यसको स्वागत गछौं । अरु मुद्धामा पनि यसरी नै क्लियर गर्दै आएमा अहिलेको सन्दर्भमा मोर्चा र तालमेल हुँदै जाँदा पार्टी एकता नहोला भन्न सकिन्न । तर अहिले नै एकता भइहाल्ला जस्तो पनि देखिन्न ।

संघीय समाजवादी फोरमसँग एकताको कुरा अन्तिममा पुगेको भनिएको थियो, चुनावमा पनि सहकार्य गरेर आउनु भयो ? अहिले के भइरहेको छ ?
संघीय समाजवादीसँग कुनै व्यक्ति प्रतिको मोह भएर एकता गर्न खोजेको होइन । कतिपयले डा. बाबुराम भट्टराईको मधेस प्रतिको मोह भनेर असाध्यै तल्लो स्तरको टिकाटिप्पणी गरेको पनि देखियो ।

संघीय समाजवादीले अहिले अख्तियार गरेका जुन मुद्धा छन् ती मुद्धा र हाम्रा मुद्धा मिले । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, संघीयता, समृद्ध जस्ता आधारभूत मुद्धामा समानता भएपछि अलि नजिक भएको हो ।

यी कुराहरु त संघीय समाजवादीसँगभन्दा त माओवादी केन्द्रसँग पो झन मिल्छन् होला त ?
माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको मुद्धालाई फेरी उठाएर राम्रो काम गरेको छ । हाम्रो पार्टी त्यसको वागत गर्छ । हामी पनि त्यही चाहन्थ्यौं ।

तर यी मुद्धाहरुमा संघीय समाजवादी फोरम जति स्पष्ट थियो, यो बीचमा माओवादीमा त त्यो देखिएको थिएन । त्यसैले हामीले मुद्धाका आधारमा फोरमसँग एकता गर्न चाहेको हो ।

तर फोरमसँग त नेतृत्वमा कुरा नमिलेपछि अहिले एकता प्रकृया लगभग अन्त्य भयो भनेर पनि भनिन्छ ?
नेतृत्वमा कुरा नमिलेको भन्ने एउटा विषय त बन्न सक्छ । तर दुई पार्टीको बीचमा एकताका लागि गृहकार्य गर्न जति समय चाहिन्थ्यो, त्यो समय नपुग भएकाले अहिलेलाई स्थगित गरेका छौं ।

बाबुराम भट्टराई माओवादीमा हुँद नेतृत्वसँग असन्तुष्ट हुुुनुहुन्थ्यो । माओवादी छोडेर नयाँ पार्टी गठन गरी एकता गर्दा पनि फेरी दोस्रो स्थानमा रहँनु पर्दा सम्मानजनक पद नभएकोले एकता अन्त्य भयो भनेर पनि चर्चा भइरहेको छ ।

चर्चा त बजारमा विभिन्न छन् । ती चर्चा गर्नेहरुको न मुख थुन्न सकिन्छ र हात बाँध्न । तीलाई चर्चा गरिरहन दिनुस् । तर सत्य त्यस्तो होइन । हिजो बाबुराम भट्टराई माओवादीमा पद नपाएर रुष्ट भएर अर्को पार्टी गठन गरेको कुरालाई कसैले पत्याउँछ भने मेरो भन्नु केही छैन ।

हिजो माओवादीमै हुँदा देशको सर्वोच्च कार्यकारी पदमा बसेर काम गरेको, पार्टीमा पनि उपाध्यक्ष र वरिष्ठ नेताको रुपमा काम गरेको मान्छे जो, आगामी महाधिवेशनबाट अध्यक्ष बन्ने लाइनमा थियो, त्यसैले यस्तो निकृष्ट ढंगले टिकाटिप्पणी गर्नेहरुलाई नै लाज लाग्नु पर्ने हो ।

स्थानीय चुनावले नयाँ पार्टी गठन गर्नुको औचित्य त देखिएन नि ?
तपाईले स्थानीय निर्वाचनको परिणामलाई मात्र हेरेर जनताले पत्याएनन्, औचित्य पुष्टि भएन भन्नुहुन्छ भने त मेरो भन्नु केही छैन । नयाँ शक्ति निर्माण अभियान एउटा लम्बे यात्रा हो । यो यात्राको क्रममा एक वर्ष मात्र पार गरेका छौं । यो एक वर्ष पार गर्दा नगर्दै चुनाव आइहाल्यो । जुन सामना गर्नु नै थियो । हामीले सामना गरयौं ।

तर असाध्यै प्रतिकुल अवस्थामा सामना गर्यौं । निर्वाचन आयोगले निर्वाचन चिन्ह पनि दिएन । तयारी थिएन, चिन्ह थिएन । यी विविध कारणले अपेक्षा गरे अनुसारको परिणाम नआएको त देख्न सकिन्छ । तर त्यो कुरो ठूलो होइन ।

हामीले एक वर्ष नबित्दै करिव एक सय वटा सिटमा निर्वाचित हुनु सामान्य कुरा होइन । यो निर्वाचनमा ४० वटा दलले सहभािगता जनाएकोमा २६ वटा दलको त एउटा पनि सिट आएको छैन ।

तपाईहरुको केन्द्रीय समिति बैठक सकियाेऽ  संघीय परिषद् बैठक चलिरहेको छ । त्यो बैठकमा एकताको एजेण्ड छलफलको विषय बन्न सक्छ कि सक्दैन ?
छलफलको विषय त बन्न सक्छ । दोस्रो कुरा राजनीति निक्कै सम्भावनाको खेल हो । यसमा असंभव केही देखिन्न । तर यो पार्टी र त्यो पार्टीभन्दा पनि म नीतिगत कुरा गर्न चाहन्छु, हाम्रो कार्यदिशा, विचार र विश्व दृष्टि, कार्यक्रम र मुद्धा मिल्नेसँग हामी पार्टी पार्टी एकता गरेर जान सक्छौं ।

तर आउ हाम्रोमा विलिन हौं, हिजो पार्टीमा थियौ, छोडेर गयौ, पच्छाताप गर्दै घर फर्क भन्ने हो भने त पार्टी एकता हुँदैन । अहिलेको टुटफुट भएर होइन एकता भएरै जानु पर्छ भन्ने अहिलेको आवश्यकता हो । त्यो सम्भावना बाँकी नै छ ।