गोपाल किराती
नेता, नेकपा माओवादी केन्द्रgopal kirati

प्रचण्डसँगको १४ बर्षे यात्रा उल्ट्याएँ

किरात गणराज्यको समिक्षा र पुर्नगठन बारे कार्यपत्र तयार गरेर पार्टी अध्यक्ष प्रचण्डलाई बुझाएको छु । पार्टीमा दुई लाइन संघर्ष प्रारम्भ भयो । मैले कार्यपत्र बुझाउने क्रममा प्रचण्डलाई भनेको छु–२०६० साल असारमा म माओवादी भएँ । तपाईसँग मेरा १४ बर्ष यात्रा हुँदैछ । तपाईसँग मेरो सम्बन्ध एकता प्रधान संघर्ष सहायक हो । मैले अब त्यो उल्ट्याएँ कमरेड भनेको छु । गणतन्त्र नेपाल निर्माणमा प्रचण्डले खेलेको भूमिकाको भारी सम्मान गर्दै अब यसरी पार्टी चल्दैन भनेर स्पष्ट भनेको छु । अब म समग्र विषयवस्तुमा फरक दस्तावेज लेखेर पेश गर्छु ।

प्रचण्ड प्रधानमन्त्री हुँदा हेर्दाहेदै भाग खोसियो

मार्क्सवाद, लेलिनवाद र माओवादको विज्ञान जसलाई हामीले मान्दै आयौँ । माक्सवार्दको रक्षा, प्रयोग र विकास गर्ने तीन आयम हुन्छ । जसको एकीकृत अभ्यास गर्नुपर्ने हुन्छ । त्यसमा प्रयोग मुख्य हुन्छ । मार्क्सवादको प्रयोग भएन भने रक्षा र विकास दुवै हुँदैन । मार्क्सवादको प्रयोगको नाममा अर्कै वादतिर हामी जादैछौं । अहिले सिद्धान्त र व्यवहारमा एकरुपता छैन् ।

वर्गीय, जातिय, क्षेत्रीय, महिला उत्पीडन अन्त्य गर्ने भनेर दस बर्षे जनयुद्ध लडियो । उपलब्धि र कमजोरी सहितको संविधान जारी भएपछि एमाले र माओवादीको गठबन्धनको सरकार बन्यो । माओवादीले पाएको ८ मन्त्रीमा ६ जना खस आर्यबाट मन्त्री बनाइयो । थारु र दलित नछुटयाउ भनेको थिए । तर मानिएन । त्यति बेला थारु र दलितको भाग खोस्ने काम भयो । प्रचण्ड प्रधानमन्त्री हुँदा हेर्दाहेदै महिलाको भाग खोस्ने काम भइहाल्यो । भोली निर्वाचनमा जादाँ माओवादीले पार्टीबाट महिलालाई किन मन्त्री बनाएन भनेर पार्टीले ठूलो मार खानु पर्ने छ । यो जनावर प्रवृत्ति हो । त्यहाँ एउटा समुह र घेराबन्दी छ । घेरा छिचोल्न नसकेको हो कि नचाहेको हो पत्ता लगाइसकेको छैन् । नसकेको हो भने प्रचण्डलाई हामी सहयोग गछौं ।

सबैलाई जोगी बनाउने भनेको थिएन

जनयुद्धको बेला पार्टीमा सर्वहाराकरण थियो । सबैलाई जोगी बनाउने भनेको थिएन र होइन । सर्वहाराकरण भनेको सामुहिकीकरण हो । सुख बाँडेपछि मात्र दुःख पनि बाँडिन्छ । दुःख बाँडेपछि सुख पनि बाँडनु पर्छ । अब सबै भन्दा मिठो कम्युनिष्टहरुले खानु पर्छ । राम्रो कम्युनिष्टहरुले लगाउनु पर्छ । सबैभन्दा राम्रो घरमा कम्युनिष्टहरु बस्नु पर्छ । तर आफ्नो लागि र एक्लै होइन । एक्लै मात्र खाने, राम्रो लगाउने, राम्रो ठाउँमा एक्लै बस्ने हो भने सामन्त र कम्युनिष्ट फरक कहाँ रह्यो ? सिद्धान्त अनुसार नेताहरुको व्यवहार भएन । सर्वहारा संस्कृति क्रान्तिको बाटोमा हिडौं ।

विचार राजनीतिक कार्यदिशा र संगठनमा संघर्ष र कार्यशैलीको तयारी गर्छु । मेरो प्रयत्न भनेको पार्टीभित्रका इमान्दार सर्वहारा क्रान्तिकारीहरु सजाय भोगिरहेका छन्, तिनीहरुको आवाजको प्रतिनिधित्व गरको छु । रुपान्तरण गर्न सकिन्छ भन्ने आशावादी छु । कम्युनिष्ट भनेको वैज्ञानिक र इमान्दार हुनुपर्छ । एकताको पक्षमा इमान्दार प्रयत्न गरिन्छ । तर विज्ञान र व्यवहार मिल्नु पर्छ । एमालेलाई सर्वहाराकरण गर्न सकिदैन । सकियो त्यो । अब माओवादी केन्द्रमा पच्चिस प्रतिशत कार्यकर्ताहरु नेताहरु सर्वहाराकरणको पक्षमा छन् । पच्चिस प्रतिशतलाई असी प्रतिशत पुर्याउने । त्यसमा प्रचण्डलाई मद्दत गर्ने ।

माओवादी केन्द्रलाई अब महासंघ बनाऔं : गोपाल किराती

पार्टीलाई सर्वहाराकरण गर्न सकिए भने राज्य कम्युनिष्ट पार्टी बनाउने । माओवादी केन्द्रलाई महासंघ बनाउने। अब ताम्सालिङ किराँत खसान कम्युनिष्ट पार्टी एवम रितले बनाउने । संघीय नेकपा माओवादी केन्द्र राख्नु पर्छ । त्यसको विधानमा संरचनागत रुपमा लैजानु पर्छ । माओवादी महासंघलाई संघीय केन्द्र मान्दै तल चाँही कम्युनिष्ट पार्टी बनाउनु पर्छ । विचार राजनीतिक कार्यदिशा, अन्तर्राष्ट्रिय सम्बन्ध, केन्द्रीय सरकार केन्द्रीय महासंघले हेर्ने । बाँकी अन्य काम राज्य कम्युनष्टि पार्टीलाई जिम्मा लगाउँदा मात्र २१ औ शताब्दीमा मार्क्सवादको विकास गर्न प्रचण्डलाई मद्दत पुग्छ ।

अन्यथा पार्टी विभाजन हुन्छ

माओवादी केन्द्र रुपान्तरण हुँदै भएन भनेपनि एमाले भएको प्रमाणित हुनुभन्दा अघि छोडेर अर्को गर्ने मेरो सोच होइन । वैद्य, विप्लव किराँतीमा आधारभूत अन्तर हुनेछ । हसियाँ हतौडाको झण्डा कहिले छोड्ने छैन् । बाबुरामको तरिका म बाट हुँदैन । एकताको सम्भावना छ । आशावादी छु । सर्वहाराकरणमा जोड दिउँ अन्यथा पार्टी फेरि विभाजन हुन्छ ।

एमालेजस्तो माओवादीमा को बस्ने ? कांग्रेस राप्रपाजस्तो पार्टीमा को बस्छ ? खोक्रो चिज समातेर बस्ने कुरा भएन । खोक्रोभित्र अब हामी शल्यक्रिया सुरु गर्दैछौं । पार्टीमा सर्वहाराकरण नहुने हो भनेदेखि एमालेमा गए भो नि !

मैले निहुँ खोजेको सत्य हो

चिनियाँ कम्युनिष्ट पार्टीमा मारामार भयो । माओलाई मार्नेसम्मका षडयन्त्रका योजनाहरु भए । तर पार्टी विभाजन चाँही कसैले गरेनन् । यो सुझाव पनि मलाई आएको छ । सिद्धान्तमा विचार नमिलेपछि विभाजन हुने भन्ने छ । विभाजन मुख्य लक्ष्य होइन । रुपान्तरण मुख्य लक्ष्य हो । अहिले किराँत राज्य कम्युनिष्ट पार्टीको विकल्पको प्रश्न छ । यो नराखी नेताहरुलाई बुझाउनै सकिन्न । पार्टी विभाजन रोक्ने हो भने सर्वहाराकरण हुनु पर्यो । सर्शत नै हो । क्रान्तिको लागि हो । यो किरातीले निहुँ खोज्या भन्छन् । सर्वहाराकरणको लागि मैले निहुँ खोजेको सत्य हो । वार्गेनिङ गर्यो यसले भन्ने कुरा पनि सत्य हो ।

इतिहासमा सक्रिय प्रधानमन्त्री प्रचण्ड

नेपालको इतिहासमा नै सबै भन्दा सक्रिय प्रधानमन्त्री प्रचण्ड हो । २०६५ बाट शिक्षा लिनु भो । मन्त्रीले के गरिरहेका छन् पार्टीभित्र समिक्षा गर्छ । नेताहरुले सरकारको प्रतिरक्षा गर्नुपर्छ । सरकारको प्रवक्ता, पार्टीको प्रवक्ता छन् ।

संघीयता खारेज गर्ने ओलीको हुती देखिदैन

ओलीले संघीयता नमान्ने कुरा मधेसी जनतालाई सोध्नु पर्छ । सुदुरपश्चिमका जनतालाई सोध्नु पर्छ । थारुलाई पनि खसलाई पनि सोध्नु पर्छ । संघीयता खारेज गर्न कू गर्न सक्नु पर्छ । दसौ हजारको लाश बनाउन सक्नुपर्छ केपी ओलीले । त्यो हुती देखिदैन । फुर्ति लगाउनु बेग्लै कुरा हो । संधिवान सशोधन गरेर संघीयता खारेज गर्नु पर्यो । भाषण गरेकोजस्तो होइन । पाँच नम्बरमा उफ्रिएको जस्तो होइन । थारु मधेसी आन्दोलन उफ्रिए के हुन्छ ?

सघीयता र गणतन्त्रको रक्षा गर्न सकिएन भने नेपाल सिक्कीम त हुँदैन । तर भुटानीकरणमा जान्छ । त्यसको जिम्मा गणतन्त्र र सघीयता विरोधीले लिनुपर्छ ।

चार हजार केन्द्रीय सदस्य हुँदा पनि खुसी हुनु पर्यो

पार्टी एकीकरण भएपछि साढे छ महिनामा केन्द्रीय समिति बनाइयो । अब समिति नै नहुँनु भन्दा चार हजारकै भएपनि राम्रो हो भनेर खुसी हुनु परेको छ । उपलब्धि ठान्नु परेको छ । यो हुनुको पछाडि सैद्धान्तिक र वैचारिक कारणको खोजी गर्नुपर्छ । अहिले व्यक्तिगत रुपमा कसैलाई पनि दोष लगाउने कुरा भएन । वैचारिक र राजनीतिक रुपमा पार्टीभित्र जम्बो आयोजक समिति बनाउने छलफल भएको छैन् । विचार र राजनीति प्रधान पक्ष भएमा संगठन सहायक हुन्छ । विचार र राजनीतिक कमजोर भएपछि संगठन प्रधान हुन्छ । जुन बेला पार्टीमा विचार र राजनीतिलाई शिरमा राखिन्थ्यो त्यो बेला कमिटि सानो हुन्थ्यो । विचार र राजनीति कमजोर भएपछि चार हजारको केन्द्रीय सदस्य लिएर हामी हिडेका छौं ।

माओवादीका नेतालाई आसनग्रहण गराउन नसकिने भो

चार हजार जनाको केन्द्रीय सदस्य भएपछि आशनग्रहण गर्दा समस्या पर्ने भएकाले हामीले हटाएका छौं । १ नम्बर प्रदेशबाट सुरु भएको छ । विराटनगरको प्रशिक्षणबाट आसनग्रहण गराउने काम हटाएका छौं । अध्यक्ष र संगठन विभागका प्रमुखको कुर्सी तोकेर राखिदिने ।अन्यलाई यथास्थानमा आसनग्रहण गराउने । सबैलाई आसनग्रहण गराउदाँ ठाउँ नै नहुने भो । बडो अपठ्यारो भो माओवादीका नेताहरुलाई आसनग्रहण नै गराउन नसकिने भयो । जम्बो केन्द्रीय कार्यालय, पोटिलब्यूरो भएका छौ । खिल्ली उडाइएकोजस्तो । उपहास गरिएकोजस्तो भएको छ । फेरि पनि माओवादीलाई नै ल्यायो भनेर चित्त बुझाउनु परेको छ । यसको व्यवस्थापन कसरी गर्छौ अहिले थाहा छैन् ।