४ असोज, काठमाडौं ।

स्थानीय तहको तेस्रो चरण निर्वाचनअन्तर्गत राष्ट्रिय जनता पार्टी र माओवादी केन्द्रले विजयी सुरुवात गरेका छन् । राजपाले धनुषाको हंसपुर र माओवादी केन्द्रले सिरहाको कर्जन्हा नगरपालिकाको परिणाम आफ्नो पक्षमा पारेका हुन् ।

अहिलेसम्म सार्वजनिक दुई वटा स्थानीय तहको अन्तिम परिणामअनुसार धनुषाको हंसपुर नगर प्रमुखमा राजपाका रामज्ञान मण्डल ३ हजार ३ सय २० मत प्राप्त गरी विजयी भएका हुन् । ३ हजार २ सय ७६ मत ल्याएर उपप्रमुखमा पनि राजपाकै रेणु झा निर्वाचित भएकी छन् ।

उता, सिरहाको कर्जन्हा नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका गंगा पासवान ४ हजार ३ सय ९ मत ल्याई विजय भएका छन् । उपप्रमुखमा सोही पार्टीकी ज्ञानु परियार ४ हजार ३ सय १३ मत ल्याएर निर्वाचित भइन् ।

कर्जन्हाको परिणाम औपचारिक रुपमा भने घोषणा गरिएको छैन । निर्वाचन आयोगका अनुसार बुधवार साँझसम्म सप्तरीका १८, सिरहाका ३५, धनुषाका ४२, महोत्तरीका ३०, सर्लाहीका ४४, रौतहटका ३६, बाराका ३१ र पर्साका १३ वटा वडाको मतपरिणाम सार्वजनिक भएको छ ।