१० फागुन, काठमाडौँ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको समसामयिक परिस्थिति, स्थानीय निकायको निर्वाचन, संसद्को चालु अधिवेशन र चीन भ्रमणबारे संसदीय दललाई जानकारी गराएका छन् ।

सिहदरवारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा अध्यक्ष दाहालले निर्वाचन र संविधान कार्यान्वयनसँग सम्बन्धित कानुन पारित गर्नुपर्ने र संसद्मार्फत नै दलहरुबीच कयौं विषयमा सहमति खोज्नुपर्ने आवश्यकतालाई दृष्टिगत गरी संसद्को अधिवेशन जारी राख्नुपर्नाको कारणबारे जानकारी दिएको प्रमुख सचेतक टेकबहादुर बस्नेतले जानकारी दिए ।

बैठकले केही समयअघि सप्तरी र कञ्चनपुरमा भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गर्ने निर्णय गरेकोछ ।

संसदीय दलले स्थानीय तह पुनःसरचना, सीमाङ्कन तथा स्थानीय तहको स्तरउन्नतिका बारेमा आएका गुनासोबारे प्रदेश संयोजक र संसदीय समितिले सुझाव सङ्कलन गरी सरकारलाई प्रतिवेदन दिने निर्णय भएको बस्नेतले बताए । बैठकमा संसदीय दलको बैठकलाई निरन्तरता दिनुपर्ने सांसदको आवाजलाई आगामी दिनमा सम्बोधन गरिने विषयमा नेतृत्वबाट प्रतिवद्धता व्यक्त भएको थियो । रासस