सनातन धर्म मान्नेहरू माता वैष्णो देवीको महिमा गाएर कहिल्यै पनि थाक्दैनन्। यस धर्मशास्त्रमा कलियुगमा मानिसहरूको कष्ट हरण गर्नका लागि देवी-देवताहरूको नाम जप्दा अनि कथाहरू भन्दा पनि एकदमै उपयोगी हुने बताइएको छ। तर स्थान र कालमा भिन्नताको कारण कथाहरू पनि हिन्दु धर्मको भन्दा केहि फरक भने पाइन्छ।
भारतको जम्मू-कश्मीर राज्यको जम्मू जिल्लामा कटरा नगरको पहाडी भेगमा माता वैष्णोदेवीको मन्दिर अवस्थि छ। यो उत्तरी भारतमा सबैभन्दा पूजनीय पवित्र स्थलहरूमध्ये एकमा पर्दछ। यो मन्दिर समून्द्री सतहबाट करीब ५२०० फिटको उचाईमा रहेको छ भने कटरा शहरबाट लगभग १२ किलोमिटरको दूरीमा स्थित रहेको छ। हरेक साल लाखौँ तीर्थयात्रीहरू मन्दिरको दर्शन गर्न आउँदछन्।
यसैक्रममा, ‘माता वैष्णो देवी’सँग सम्बन्धित कैयौँ कथाप्रसङ्गहरू छन्, तर सबैभन्दा बढि प्रचलित कथा यस प्रकार रहेको छः
वैष्णो देवीले आफ्ना एक परमभक्त पण्डित ‘श्रीधर’को भक्तिबाट प्रसन्न भएर उसको लाज बचाएकी थिइन्। माताले पुरै जगतलाई आफ्नो महिमाको बोध पनि गराएकी थिइन्। त्यसैबखत देखि आजसम्म भक्तालुहरू यस तीर्थस्थलको यात्रा गर्छन् र माताको कृपा पाउने आशा राख्छन्।
कटराबाट केहि दूरीमा स्थित हंसाली गाउँमा माता वैष्णवीको परम भक्त श्रीधर बस्दथे। निःसन्तान भएकोले श्रीधर सँधै दुःखी हुन्थे। एक दिन उनले नवरात्री पूजाको लागि कुमारी कन्याहरूलाई निमन्त्रणा गरे। माता वैष्णवी पनि कन्याको भेष गरी उनै कन्याहरूको बीचमा प्रस्तुत भइन्। पूजा सिद्ध भएपछि सबै कन्याहरू घर फर्किए तर कन्यारूपी माता भने त्यहिँ बसिरहिन् र श्रीधरलाई भनिन्- “सबैलाई भोजनको निमन्त्रणा दिएर आऊ!”
श्रीधरले पनि त्यस दिव्य कन्याको कुरा मानी आस-पासको गाउँमा भोजनको लागि निमन्त्रणा सन्देश पुर्याए। त्यहाँबाट फर्किने क्रममा श्रीधरले गुरु गोरखनाथ र उनका शिष्य बाबा भैरवनाथजीलाई पनि निमन्त्रणा दिए।
भोजनको निमन्त्रणा पाएर सबै गाउँबासीहरू अचम्मीत थिए कि कस्तो कन्या हो जसले यति धेरै मानिसहरूलाई भोजन गराउन चाहन्छिन्? श्रीधरको घरमा जम्मा भएका सारा गाउँबासीहरूलाई त्यस दिव्य कन्याले विचित्र पाराले भोजन बाँड्न थालिन्। भोजन बाँड्दै गर्दा जब त्यस कन्या भैरवनाथ नजिक पुगिन्, तब उनले भने कि- “म खीर-पुरी को सट्टा मासु खान्छु र मदिरापान गर्छु।”
त्यसपछि कन्यारूपी माताले उसलाई सम्झाए कि यो ब्राह्मणको भोजन हो, यसमा मांसाहारी गरिँदैन। तथापी, भैरवनाथले जानीजानी आफ्नो कुरामा जिद्दी गरिरहे। अनि जब भैरवनाथले त्यस कन्यालाई समात्ने प्रयत्न गरे, तब माताले उसको कपट थाहा पाई वायु बनी त्रिकूटा पर्वततर्फ उडेर गइन्। भैरवनाथ पनि उनकै पछि पछि गए।
यो पनि मानिन्छ कि, माता वैष्णोदेवीको रक्षाको लागि पवनपुत्र हनुमानजी पनि थिए। हनुमानजीलाई तिर्खा लागेपछि माताले उनको आग्रह मानी धनुषले पहाडमा वाण चलाएर एक जलधारा बनाइन् र हनुमानजीको प्यास बुझाइन्। आज यो पवित्र जलधारालाई ‘वाणगंगा’को नामबाट चिनिन्छ। यसको पवित्र जल पिउनाले वा यसमा स्नान गर्नाले श्रद्धालुहरूको सारा थकान र समस्या भाग्दछ।
यसै दौरान, माताले एक गुफामा प्रवेश गरी ९ महिनासम्म तपस्या गरिन्। भैरवनाथ पनि उनकै पछि लागि त्यहाँ सम्म आइपुगे। त्यसै बेला हनुमानले एक साधुको रूप धरी भैरवनाथलाई भने कि तिमीले जसलाई कन्या ठानेर पछ्याइरहेका छौ, वहाँ त आदिशक्ति जगदम्बा हुन्, त्यसैले महाशक्तिलाई पछ्याउन छाडिदेउ। तर भैरवनाथले त्यस साधुरूपी हनुमानजीको कुरा मानेनन् र फेरि पनि कन्याको पछि लाग्ने निर्णय गरे। यता हनुमानले भैरवनाथलाई भुलाइरहेकै बेला कन्यारूपी माताले गुफाको अर्को भागबाट मार्ग बनाएर त्यहाँबाट बाहिर निस्किन्।
यो गुफालाई आज पनि अर्धकुमारी (आदिकुमारी वा गर्भूजन)को नामबाट प्रसिद्ध मानिन्छ। आदिकुमारी गुफा आउनुभन्दा पहिला माताको ‘पादुका चरण’ पनि स्थित छ। यो त्यो स्थान हो, जहाँ माताले भाग्दै-भाग्दै फर्केर भैरवनाथलाई हेरेकी थिइन्।
गुफाबाट बाहिर निस्किएर कन्याले देवीको रूप धारण गरिन् र भैरवनाथ अगाडि पुगेर उसलाई फर्किन आदेश दिइन्। तर पनि भैरवनाथले मानेनन्। अझै पनि ऊ मातालाई समात्न चाहन्थे। तर माता फेरि गुफा भित्र पसिन् र बाहिर द्वारमा हनुमानजी प्रकट भए र भैरवनाथसँग युद्ध गर्न तत्पर भए। भैरवनाथ पनि बलिया थिए र हनुमानसँग हार मानेनन्। जब हनुमानजी निढाल भएर थकित अवस्थामा पुगे, तब माता वैष्णवीले महाकालीको रूप लिएर भैरवनाथको संहार गरिदिइन्। भैरवनाथको शिर काटेर त्रिकूटा पर्वतबाट ८ किलोमटर पर फालिदिइन्।
भैरवनाथको शिर खसेको ठाउँलाई आज पनि ‘भैरव घाँटी’को नामले चिन्ने गरिन्छ र त्यहाँ भैरवनाथको मन्दिर पनि स्थित छ। जुन स्थानमा माता वैष्णवीले हठी भैरवनाथको वध गरेकी थिइन्, त्यस स्थान आज ‘पवित्र गुफा’ अथवा ‘वैष्णो भवन’को नामबाट प्रसिद्ध रहेको छ। त्यसै स्थानमा ‘माता महाकाली’, ‘माता महासरस्वती’ र ‘माता महालक्ष्मी’ प्रकट भए। यी तिनै देवीको सम्मिलित रूपलाई नै ‘माता वैष्णवी देवी’को रूप मानिन्छ।
भनिन्छ कि, आफ्नो वधपश्चात भैरवनाथको आत्मालाई आफ्नो भूलको पश्चाताप भयो र मातासँग क्षमादानको भीख मागेका थिए। माता वैष्णोदेवीलाई थाहा थियो कि भैरवको उदेश्य भनेको मोक्ष प्राप्त गर्नु थियो। त्यसैले माताले भैरवलाई पुनर्जन्मको चक्रबाट मुक्त गरिदिइन् र ‘मेरो दर्शन पछि तिम्रो दर्शन नगरेसम्म कुनै पनि भक्रजनहरूको पूजा सिद्ध हुनेछैन’ भनेर भैरवनाथलाई वरदान पनि दिइन्। यसै मान्यताका अनुसार आज पनि भक्तालुहरू माता वैष्णोदेवीको दर्शन पश्चात करीब पौने ३ किलोमिटरको पहाड चढेर भैरवनाथको दर्शन गर्न जान्छन्।
भैरवनाथको वध गरिसकेपछि माता वैष्णोदेवीले एक चट्टानको आकार ग्रहण गरी सदाको लागि ध्यानमग्न भइन्। तर यताको अवस्थाबाट अज्ञात श्रीधर अधैर्य भई त्रिकूटा पर्वतपर्फ अगाडि बढे र उक्त गुफाको द्वारसम्म आइपुगे। त्यसपछि उनले त्यहाँ कैयौँ विधिबाट माताले छाडेर गएको तीन पिण्डलाई पूजा गरी त्यसैलाई आफ्नो दिनचर्या बनाउन लागे। उनको यस्तो पूजा र भक्तबाट प्रसन्न भई माताले श्रीधरलाई आफ्नो दर्शन दिइन् र उनलाई आशिर्वाद दिइन्। त्यसदिन देखि नै श्रीधर र उनका वंशज माता वैष्णोदेवीको पूजा गर्दै आइरहेका छन्।
आज पनि बाह्रैमास वैष्णोदेवीको दरबारमा भक्तालुहरूको ताँती लागिरहेको हुन्छ।