९ असार, काठमाडौं ।

खेलकुदका नाममा मानव तस्करी गरेको आरोपमा अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वमहासचिव लोकबहादुर शाही पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाले उनलाई बिहीबार बिहान पक्राउ गरेको हो ।

मैत्रीपूर्ण खेलकुदमा खेलाडी बनाएर क्यानडा लैजाने भन्दै उनले २५ जनाबाट एक करोडभन्दा बढी ठगी गरेको प्रहरीले जनाएको छ । नेपाल आइस हक्की एसोसिएसन तथा स्पोर्टस् फर अल क्लब नेपालजस्ता संस्था चलाउँदै आएका शाहीले क्यानडामा लगेर जागिरसमेत लगाइदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ । ठगी मुद्दामा अदालतबाट म्याद लिई उनीमाथि अनुसन्धान अघि बढाइएको महाशाखाका एसपी श्याम ज्ञवालीले बताए ।

शाही गणेश थापा एन्फाको अध्यक्ष हुँदा महासचिव थिए । खेलकुद क्षेत्रमा उनी विवादास्पद व्यक्ति हुन् । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार खेलकुद प्रतियोगिताका नाममा उनले धेरै व्यक्तिलाई विदेशमा पठाएको खुलेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

उनीविरुद्ध उजुरी दिनेमध्ये नौजना सशस्त्र प्रहरीका पूर्वसिपाही छन् । क्यानडा जाने सपनामा उनीहरूले सशस्त्र प्रहरीको जागिर छाडेका थिए । शाहीले रिसिभ नै काटेर पैसा उठाएको एसपी ज्ञवालीले बताए ।

नेपालमा प्रतियोगिता नै नहुने आइस हक्की खेलको संघ शाहीले खोलेका छन् । प्रतियोगिताभन्दा पनि विदेश घुम्नमै संघ नेतृत्व सीमित रहेको खेलकुदकर्मीहरू बताउँछन् । शाहीले हालै सोही संस्थाबाट राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशव विष्टलाई जर्मनी भ्रमण गराएका थिए ।