२६ साउन, काठमाडौं । मानव तस्करी रोक्न आठ देशका प्रहरी नेपाल आएका छन्। नेपाल ट्रान्जिट बनाएर भइरहेको तस्करी रोक्ने सञ्जाल बनाउन भारत, बंगलादेश, भुटान, श्रीलंका, थाइल्यान्ड, फिलिपिन्स र बर्माका प्रहरी नेपाल आएका हुन्।

सिंगापुरमा रहेको इन्टरपोलको क्षेत्रीय कार्यालय र इन्टरपोल नेपालको समन्वयमा प्रोजेक्ट रिलेअन्तर्गत उनीहरु २ दिन नेपालमा बसेर मानवतस्करीको जालो तोड्ने रणनीतिमा छन्।

प्रहरी प्रवक्ता पुष्कर कार्कीका अनुसार कार्यक्रममा नेपालमा गैरकानुनी ढंगले आवागमन गर्ने विदेशी नागरिकको पहिचान गरी कानुनी दायरामा ल्याउने विषयमा छलफल केन्द्रित थियो। आजको नागरिकमा खबर छ ।

वैदेशिक रोजगारीको आवरणमा युरोप, अमेरिका र खाडी मुलुकमा नेपाली नागरिकको तस्करी बढ्दो छ। यसैगरी युरोप छिर्न चाहने अफि्रकी मुलुकका नागरिकले नेपाललाई ट्रान्जिट बनाउने गरेका घटना सार्वजनिक भइरहेका छन्।

मानव तस्करी रोक्न छलफलमा नेपालको तर्फबाट अध्यागमन विभाग, भन्सार विभाग, नागरिक उड्डयन प्राधिकरण, नेपाल वायुसेवा निगम, बिमानस्थल सुरक्षा प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरोका प्रतिनिधि सहभागी थिए।

कार्कीका अनुसार छलफलमा इन्टरपोल नेपालले आप्रवासी तस्करीको अपराध सञ्जाल तोड्न डाटाबेस तयार गर्ने सहमति भएको छ। संसद्को अन्तर्राष्ट्रिय तथा श्रमसम्बन्धी समितिले हालै गरेको अनुसन्धानमा कुवेतलगायतका देशमा घरेलु कामदारका रुपमा नेपाली महिला लगेर बिक्री हुने गरेको खुलाएको थियो।

समिति प्रतिवेदनमा अधिकांश घरेलु कामदारमाथी शारीरिक र मानसिक श्रम शोषण हुने गरेको, उनीहरू यौनजन्य हिंसामा पर्ने गरेको उल्लेख छ।

स्थलमार्ग हुँदै भारत लगेर मानवतस्करीका घटना बढेपछि यसलाई रोक्न नेपाल र भारतको गृह मन्त्रालयबीच भारतीय विमानस्थल हुँदै खाडी मुलुक जाने नेपाली नागरिकको हकमा नो अब्जेक्सन लेटर अनिवार्य बनाए पनि तस्करी रोकिएको छैन।

रोजगारीको आवरणमा मानव तस्करीका घटना बढेपछि गृह मन्त्रालयले मानव तस्करीसम्बन्धी घटना अनुसन्धानका लागि ब्युरो गठन गर्ने तयारी गरिरहेको छ।