कुशल श्रेष्ठ

चाणक्य वा कौटिल्य (जन्मः लगभग ई.पू. ३७० – २८३) तक्षशिलाका आचार्य, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले प्राचीन भारतका नदवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीति र कूटनीतिका ज्ञाता थिए। उनले अर्थशास्त्र, राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिका महान ग्रन्थहरू रचना गरेका थिए। अझै पनि अर्थशास्त्रलाई मौर्यकालीन समाजको दर्पण मानिन्छ।

बुद्धि र ज्ञानका महान व्यक्तित्व ‘चाणक्य’ले आफ्नो ‘चाणक्य नीति’ ग्रन्थमा ती कुराहरू उल्लेख गरेका छन्, जुन परम सत्य हो। र सत्य जहिले तीतो हुन्छ। व्यक्ति कस्तो हुनुपर्छ? उसको परिवारमा सबैभन्दा महत्वपूर्ण कुरा के हो? समाजमा व्यक्तिको भूमीका कस्तो हुन्छ? राजा कस्तो हुनुपर्छ? नेता भनेको को हो? पुरुष र स्त्रीको गुणमा के भिन्नता हुन्छ? यी सबै सत्य तथ्य कुराहरूको सङ्ग्रह हो ‘चाणक्य नीति’।

यसै ‘चाणक्य नीति’को छैठौँ अध्यायको पन्ध्रौँ श्लोकमा लेखिएको छ:-

सिंहादेकं बकादेकं शिक्षेच्चत्वारि कुक्कुटात् ।
वायसात्पञ्च शिक्षेच्च षट् शुनस्त्रीणि गर्दभात् ।।१५।।

यसको अर्थ यो हुन्छ कि– “सिंहबाट एउटा, बकुल्लाबाट एउटा र कुक्कुट (कुखुरा) बाट चारवटा कुराहरू सिक्नुपर्दछ। कागबाट पाँच, कुकुरबाट छ र गधाबाट तीन गुणहरू सिक्नुपर्दछ।”20 things to learn from animals

यी जनावरहरूबाट हामीले के-कस्ता गुणहरू सिक्नुपर्दछ त?

प्रभूतं कार्यमल्पं वा यन्नरः कर्तुमिच्छति ।
सर्वारम्भेण तत्कार्यं सिंहादेकं प्रचक्षते ।।१६।।

अर्थात– “काम सानो होस् या ठूलो, त्यसलाई हरतरहले पूरा गर्नुपर्छ। यसैलाई सिंहको एक गुण सिक्नु भनिन्छ।”

इन्द्रियाणि च संयम्य बकवत्पण्डितो नरः ।
देशकालबलं ज्ञात्वा सर्वकार्याणि साधयेत् ।।१७।।

अर्थात– “विद्वान पुरुषले इन्द्रियहरूलाई वशमा राखेर देश, काल र बललाई राम्ररी बुझी बकुल्लाले झैँ सबै कार्यलाई साँध्नुपर्दछ।”

प्रत्युत्थानं च युद्धं च संविभागं च बन्धुषु ।
स्वयमाक्रम्य भुक्तं च शिक्षेच्चत्वारि कुक्कुटात् ।।१८।।

अर्थात– “ठीक समयमा उठ्ने, कर्मको लागि सँधै तयार रहने, आफ्ना सम्बन्धीलाई उनीहरूको भाग दिने र आफू चाहिँ काम गरिराख्ने यी चार कुरालाई कुखुराबाट सिक्नुपर्दछ।”

गूढमैथुनचारित्वं काले काले च संग्रहम् ।
अप्रमत्तमविश्वासं पञ्च शिक्षेच्च वायसात् ।।१९।।

अर्थात– “सँधै सुरक्षित रहने, आफ्नो लागि जोडा खोज्ने, बेला-बेलामा सङ्ग्रह गर्ने, कसैमाथि विश्वास नगर्ने र आफ्नो काममा चलाख हुने, यी पाँच कुरा कागबाट सिक्नु उचित हुन्छ।”

बह्वाशी स्वल्पसन्तुष्टः सनिद्रो लघुचेतनः ।
स्वामिभक्तश्च शूरश्च षडेते श्वानतो गुणाः ।।२०।।

अर्थात– “धेरै खान सक्ने शक्ति भएतापनि अलिकतिमै सन्तुष्ट हुने, मस्त निन्द्रामा हुँदा पनि तुरुन्तै बिउँझिन सक्ने, आफ्नो मालिकमाथिको भक्ति र सूरोपना- यी छ गुण कुकुरबाट सिक्नुपर्दछ।”

सुश्रान्तोऽपि वहेद्भारं शीतोष्णं न च पश्यति ।
सन्तुष्टश्चरते नित्यं त्रीणि शिक्षेच्च गर्दभात् ।।२१।।

अर्थात– “असाध्यै थाकेको छ तापनि भारी बोक्दै जाने, जाडो र गर्मी माथि ध्यान नदिने र सँधै सन्तुष्ट रहेर हिँड्ने- यी तीन कुरा गधाबाट सिक्नुपर्दछ।”

य एतान् विंशतिगुणानाचरिष्यति मानवः ।
कार्यावस्थासु सर्वासु अजेयः स भविष्यति ।।२२।।

अर्थात– “यो व्यक्तिले यी बीसवटा गुणहरूलाई धारण गर्दछ, ऊ सँधै सबै अवस्थामा र सबै काममा विजयी हुन्छ।”

मानवजीवनको परिभाषा नै यही हो कि उसले धर्तीमा जन्म लिएर आइसकेपछि उसको परम धर्म भनेको जिउनु हो र जिउनको लागि उसले थुप्रै दुःखहरू भोग्नुपर्ने हुन्छ, पीडाहरू सहनुपर्ने हुन्छ र तिनै दुःखपीडाबाट केहि सिकेर जीवनको बाटो सहज बनाउँदै लानुपर्ने हुन्छ। प्रकृति नै माता हुन्, प्रकृति नै गुरु हुन्, मार्ग पनि उनी नै हुन् र उदेश्य पनि उनै हुन्! हामी पनि प्रकृति कै हौँ, जे छ प्रकृतिमै छ र सिक्ने पनि प्रकृतिबाटै हो।

यो पनि हेर्नुहोस्-
घरमा यी कुराको ख्याल गरे, दिन्छ भाग्यले साथ…
अकबरका तीन मुश्किल प्रश्न, बीरबलका अचम्मका जवाफ…
जीवनको अर्थलाई परिभाषित गर्छ ‘मौन व्रत’ले
मनले चाहेको जीवनसाथी पाउने मन्त्र…