१९ असोज, मुस्ताङ । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ ।

मुक्तिनाथ मन्दिरको दर्शन, पूजापाठ र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । मुक्तिनाथमा दर्शन, पुजन र १०८ धारामा स्नान गरेमा आफ्नो मनोकांक्षा पूरा हुने जनविश्वासले देशका विभिन्न भागबाट पर्यटक यहाँ आउने गरेका हुन् ।

दशैंको बिदा मनाउन मुस्ताङ आउने आन्तरिक पर्यटकमध्ये अधिकांशको रोजाइमा मुक्तिनाथ पर्ने गरेको छ । कष्टपूर्ण यात्रा गरेर मुक्तिनाथ पुगेपछि सबै दुःख भुलेको र आनन्दको महसुस गरेको ललितपुरकी २९ वर्षीया मीनाकुमारी मानन्धरले बताइन् ।

पोखरा–जोमसोम हवाईमार्गका साथै बेनी–जोमसोम–कागबेनी सडकमार्गको प्रयोग गरी मुक्तिनाथ पुग्न सकिन्छ । म्याग्दी सदरमुकाम बेनीदेखि कागबेनीसम्म कच्ची सडकको यात्रा गर्नुपर्छ भने कागबेनीदेखि मुक्तिनाथसम्म १२ किलोमिटर सडक भने केही समयअघि मात्र कालोपत्रे गरिएको छ ।

दशमीको भोलिपल्टदेखि दैनिक दुई हजारका दरले १० हजारभन्दा बढी धार्मिक पर्यटक मुक्तिनाथ दर्शनका लागि आएको मन्दिरका मुख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए ।

एकहजार रोपनी क्षेत्रफलमा फैलिएको मुक्तिनाथमा नेपालीका साथै भारतीय पर्यटक पनि उत्तिकै संख्यामा आउने गरेका छन् । मुक्तिनाथको ऐतिहासिक महत्व र १०८ धारामा स्नान गर्न जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्यको रुपमा ग्रन्थमा वर्णन गरिएको पुजारी सुवेदीको भनाइ छ ।

मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण मुस्ताङको कागबेनी, मुक्तिनाथ, जोमसोम, मार्फा, लेतेलगायत र म्याग्दीका अधिकांश होटलसमेत भरिभराउ भएका छन् । रासस