हेटौंडा, ३ चैत । तीन नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामै आँखाको शल्यक्रिया गराएका छन् ।

उच्च पदस्थ नेता तथा मन्त्रीहरु उपचारका लागि विदेश गइरहेका बेला मुख्यमन्त्री पौडेलले हेटौंडामै शल्यक्रिया गराएका हुन् ।
पौडेलले आइतबार हेटौंडा–१० स्थित सामुदायिक आँखा अस्पतालमा आँखाको शल्यक्रिया गराएका अस्पतालका प्रशासकीय अधिकृत सुधिर भद्र श्रेष्ठले बताए । आँखाका प्रख्यात नेपाली डाक्टर सन्दुक रुईतले पौडेलको देब्रे आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया ५ मिनेटमै गरेका थिए ।


शल्यक्रियापछि मुख्यमन्त्री सरकारी निवासमै विश्राम गरी सोमबार मात्रै आँखाको पट्टी खोलिने अस्पतालले जनाएको छ । मोतिबिन्दुका कारण केही समयदेखि मुख्यमन्त्री पौडेलले नियमित आँखाको परीक्षण गर्दै आएका थिए ।