४ मंसिर, हरारे । जिम्बावेका राष्ट्रपति रोबर्ट मुगाबेले आफ्नो पदबाट राजीनामा नदिने धारणा आइतबार सार्वजनिक गरेका छन । जिम्बावेमा सेनाले शासन सत्ता हातमा लिएपछि उनलाई नजरबन्दमा राखिएको थियो । त्यसपछि उनले सेनाको कदमप्रतिको प्रतिक्रिया के देलान भन्ने बारेमा निकै जिज्ञासा राखिएको थियो ।

अर्कातर्फ उनले आफै राजिनामाको घोषणा गरेर बाटो खोलिदिए राम्रो हुने सुझाव धेरैले दिएका थिए । तर पछिल्ला केही दिनयता भने उनको राजिनामा आउनुपर्ने अडान विपक्षी दलले पनि राखेको थियो । तर ती सबै चौतर्फी मागहरु उनले अस्वीकार गरी आफूले पद नछोड्ने घोषणा आइतबार अबेर सञ्चारमाध्यममार्फत गरेका छन ।

उनले आइतबार साँझ देशवासीका नाममा सम्बोधनगर्दै राजीनामा दिने अपेक्षा गरिएकोमा सो अपेक्षा विपरीत आफू जिम्बावेको वैधानिक राष्ट्रपति रहेको धारणा राखेका थिए । त्यतिमात्र नभएर उनले उक्त सम्बोधनमार्फत नै आगामी महाधिवेशनमार्फत सत्तारुढ दल, जानपिएफको नेतृत्व नै गर्ने चाहना पनि व्यक्त गरेका थिए ।

तर ९३ वर्षीय राष्ट्रपति मुगाबेलाई भने उनको दलले पार्टी नेताबाट हटाउने निर्णय गरिसकेको छ । अबको केही हप्तापछि सत्तारुढ पार्टीको महाधिवेशन हुन गइरहेको छ ।

आफूलाई पार्टीको नेतृत्वबाट हटाएको भन्ने बारेमा आफूलाई केही थाहा नभएको उनले जानकारी दिए । त्यस अवसरमा उनले उक्त प्रसंगमा त्यो भन्दा बढी केही भन्न चाहेनन्न । राष्ट्रपति मुगाबेका सत्ता साझेदारहरु तथा यहाँको विपक्षी दलले भने राजीनामा नदिने उनको उक्त निर्णयको कडा शब्दमा विरोध गरेका छन् ।

उनीहरुले राष्ट्रपति सत्तामै रहेर पार्टी र राष्ट्रपतिको नेतृत्व पनि आफ्नी श्रीमतीलाई हस्तान्तरण गर्न खोजेको आरोप उनको आफ्नै राजनीतिक दल र विपक्षीहरुले लगाएका छन् ।

राष्ट्रपति मुगाबेले सम्हाल्दै आएको दलको नेतृत्व केही दिन पहिले राष्ट्रपतिको आदेशमा उपराष्ट्रपतिबाट हटाइएका पूर्व उपराष्ट्रपति एमरसन माङ्गाग्वालाई दिइएको छ । सेनाले शासनसत्ता सम्हाल्नु पहिले सत्ता सम्हालेको जिम्बावे अफ्रिकन नेशनल यूनियन– प्याट्रिओटिक फ्रन्ट (जेडएएन्यू–पिएफ) ले मुगाबेलाई पदबाट राजीनामा दिन आग्रह पनि गरेको छ ।

जिम्बावेको सेनाले गत बुधबार मुगाबेबाट शासनसत्ता हातमा लिएको थियो । सेनाले शासनसत्ता हातमा लिएयता आफ्नै घरमा नजरबन्दमा रहेकोमा शुक्रबार पहिलोपटक उहाँ सार्वजनिक कार्यक्रममा देखिएका थिए । रासस/एएफपी