२७ भदौ, चितवन ।

नारायणगढ–मुग्लिन सडकखण्डको सेती दोभानमा आज साँझ सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार साँझ ७:४० बजे चट्टानसहितको पहिरो खसेको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर सडकमा गुडिरहेको ट्रकमा सामान्य क्षति पुगको छ । चट्टानसहितको पहिरो र रातको समय भएकाले पहिरो हटाउन कठिन भएको उनले बताए ।

पहिरो खसेको ठाउँ नारायणगढबाट २० किलोमिटर मुग्लिनतर्फ पर्दछ । सो सडकको आजै भौतिक योजना तथा यातायत व्यवस्था राज्यमन्त्री सीता गुरुङले निरीक्षण गरी सहज यातायात सञ्चालनका लागि निर्देशन दिएकी थिईन् ।

सोमबार राति परेको पानीले सडक हिलाम्ये भएपछि सो सडकखण्डमा सवारी चाप बढेको छ । नारायणगढबाट मुग्लिन पार गर्न आज कम्तीमा आठ घन्टा लागेको यात्रुले बताएका छन् ।