एजेन्सी ।

कुनैपनि खानेकुरा मुसाले छोयो भने हामीले त्यसलाई नखाईकन फाल्ने गर्दछौ । किनकी मुसाले छोएको चिज खाएमा रोग लाग्ने डर हुन्छ । तर भारतको राजस्थानमा एउटा यस्तो मन्दिर छ, जहाँ मुसाले खाएको प्रसाद मात्र भक्तजनलाई बाँड्ने गरिन्छ । राजस्थानको करणी माताको मन्दिरमा २५ हजार भन्दा बढि मुसा छन्, जसलाई गणेश भगवानको बाहन नभई माताको सन्तान मान्ने गरिन्छ ।

राजस्थानमा अवस्थित यस मन्दिरमा यति धेरै मुसा छन् कि जसलाई गनेर साध्य हुदैन र अन्दाजी गणना गरिन्छ । मुसाको कारण खुट्टा टेक्ने ठाउ समेत भेटिदैन । मुसा नकुल्चियोस भनेर भक्तजनहरु खुट्टा उचालेर भन्दा पनि खुट्टा घिसासेर मन्दिर प्रवेश गर्दछन् ।

करणी मातालाई जगदंवा माताको अवतार मानिन्छ । यिनको जन्म १३८७ मा एक चारण परिवारमा भएको थियो । यिनको बाल्यकालको नाम रिघुवाई थियो भने यिनको विवाह किपोजी चारणसंग भएको थियो । तर उनी सांसारिक जिवनप्रति आकर्षित भएपछि उनको विवाह गुलावसंग गरिएको थियो । पछि गएर उनी सबैको सेवामा लागिन् ।

सवैको सेवामा समर्पित र चमत्कारिक शक्तिको कारण उनलाई करणी माताको नामले पुज्न थालियो । उक्त मन्दिर भएको ठाउमा करणी माताको गुफा छ । त्यहाँ उनी १५१ वर्षसम्म जिवित रहेकी थिइन् । त्यसपछि उनका भक्तले त्यहाँ मन्दिर स्थापना गरेका थिए ।

यस मन्दिरमा काला र सेता मुसाको वास छ । ति मुसालाई अत्यन्त पवित्र मानिन्छ । भनिन्छ,  करणी माताका सन्तान, उनका पति र उनकी बहिनीका सन्तानहरु मन्दिर छेउमै रहेको तलाउमा डुवेर मरेका थिए । करणीले यो कुरा थाहापाएपछि उनले ती सन्तानको उद्धारका लागी यमराजसंग घोर प्राथना गरिन् । त्यसपछि यमराजले बाध्य भएर उनीहरुलाई मुसाको भेषमा पुर्नजिवित गरे ।

साथै मुसाको यस मन्दिरबारे अनेक कथा बनाइएका छन् । जसअनुसार एकपटक २० हजार सैनिक आक्रमणको लागी त्यस क्षेत्रमा आएका थिए र करणी माताले आफ्नो शक्ति प्रदर्शन गरेर सैनिकलाई मुसामा परिणत गरेकी थिइन् । विहान ५ वजे र साँझको आरती सन्ध्यामा प्राय सबै मुसा बाहिर आउनु मन्दिरका मुसाहरुको विशेषता हो । पुजाको समयमा चढाइने प्रसाद सुरुमा मुसाहरुलाई चखाइन्छ, त्यसपछि मात्र सोहि प्रसाद भक्तजनलाई बाड्ने गरिन्छ ।