११ फागुन, काठमाडौं ।
संयुक्त अरब ईमिरेट्स युएईमा काम गर्ने दोलखालीले जिल्लाका दुई जना मृगौला पीडितलाई सहयोग गरेका छन् । दोलखाको भुषाफेदा ४ का पाल्देन लामा र लापिलाङ ४ का रविन्द्र थामीलाई दोलखाली समाज युएइले प्रतिव्यक्ति ३० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो ।

जिल्ला प्रशासन कार्यालय चरिकोटमा हिजो कार्यक्रम गरी दोलखाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले रविन्द्रका दाई चन्द्रकुमार थामी र पाल्देनका भाई दावा लामालाई रकम हस्तान्तरण गरेका हुन् । मृगौला पीडित थामी र लामा दुवैको काठमाण्डौमा उपचार भईरहेको छ ।

विभिन्न माध्यमबाट मृगौला पीडितको आर्थिक अवस्था अत्यन्तै नाजुक रहेको र उपचारमा समस्या रहेको थाहा पाए पछि आफुहरुले सहयोग सङ्कलन अभियान शुरु गरेको दोलखाली समाज युएईका उपाध्यक्ष राजकुमार खड्काले जानकारी दिए । अभियान अन्तर्गत युएईमा कार्यरत दोलखा लगायत अन्य जिल्लाबासीले समेत सहयोग गरेका थिए ।

‘दोलखालीका लागि दोलखाली’ भन्ने नाराका साथ सन् २०१५ को डिसेम्बरमा स्थापना गरिएको समाजमा युएईमा कार्यरत २ सय भन्दा बढी दोलखाली आवद्ध रहेको समाजका महासचिव सन्तोष भुजेलले बताए ।