२३ चैत, काठमाडौं ।

स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने उदेश्यले आयोजना हुन लागेको पाँचौ ‘मेड इन नेपाल’ प्रदर्शनीको तयारी पुरा भएको आयोजकले बताएका छन् । आगामी चैत्र २७ देखि ३० गतेसम्म काठमाडौंको भृकुटी मण्डपमा नेपाल युवा उद्यमी मञ्च (एनवाईइएफ)ले ‘मेड इन नेपाल’ प्रदर्शनी आयोजना गर्न लागेको हो ।

‘हाम्रो पनि राम्रो पनि’ नारा दिइएको प्रदर्शनीले स्वदेशी बस्तु प्रयोग गरी आयात प्रतिस्थापनमा सहयोग गर्ने प्रदर्शनी आयोजक कमिटीका अध्यक्ष सुदर्शन बस्नेतले बताए । नेपालमा उत्पादित बस्तुहरुको अधिकतम प्रयोग नभएसम्म देशले आर्थिक विकास गर्न नसक्ने भएकाले एनवाईइएफले आगामी मे महिनामा युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ ।

युवा उद्यमी मञ्चले उद्यमशिलताको विकासको लागि आएको भन्दै बस्नेतले ‘मेन इन नेपाल’लाई प्रदर्शनीको रुपमा मात्रै नभएर अभियानकै रुपमा अघि बढाइरहेको बताए । यो अभियानलाई सन् २०१५ भित्रै मलेसिया र कतारमा पनि लैजाने तयारी भइरहेको उनले जानकारी दिए ।


Shoe expo 1

 

नेपालमै उत्पादित बस्तुको प्रर्दशनीले नेपाली ब्राण्डलाई स्थायित्व दिन सहयोग गर्ने र अन्र्तराष्ट्रिय बजारमा नेपाली बस्तुको निर्यात बढाउन सहयोग गर्ने आयोजकले बताएका छन् । प्रदर्शनीमा नेपाली बस्तु उत्पादन लगायत नेपाली सिने उद्योग, नेपाली म्यूजिक उद्योग, साना तथा घरेलु उद्योग, हस्तकला उद्योगको सहभागिता हुनेछ ।

यस बाहेक पचहत्तरै जिल्लाका ठाँउ विशेष पहिचान बोकेका बस्तुहरु पनि प्रर्दशनीमा समावेश गरिने आयोजकले जानकारी दिए । नेपालमा उत्पादित बस्तु गुणस्तरीय छन भन्ने चिनाउनको लागि यस्तो प्रदर्शनी निकै उपयोगी हुने नेपाल युवा उद्यमी मञ्चका उपाध्यक्ष बरुण लोहियाले बताए । मेलामा १ सय ३० वटा स्टल रहेनछन । जसमध्ये, ३० वटा स्टल साना तथा लघुउद्यमका रहने छन् ।

३० प्रतिशतभन्दा बढी आन्तरिक मूल्य अभिवृद्धी भएका सामान प्रदर्शनीमा रहने बताइएको छ । भृकुटी मण्डप हल बाहिर भने नेपाली खानेकुराको ‘टिपिकल फुड फेस्टिबल’ हुनेछ । चारदिनसम्म चल्ने मेलामा प्रवेश शुल्क २० रुपैयाँ तोकिएको छ भने राष्ट्रिय पोशाक वा नेपाली संस्कृति झल्कने पोशाक लगाएर जाने अवलोकनकर्तालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको बस्नेतले बताए ।