२७ भदौ, सिरहा ।

सिरहाको लहान नगरपालिकाका मेयरका उम्मेद्धवारहरुले आफू विजयी भए लहानको विकासको काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

लहानमा रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा बोल्दै मेयरका उम्मेद्धवारहरुले आफूहरुले बोलेका वाचाहरु पूरा नभए ६ महिनाभित्रै राजिनामा दिने समेत सार्वजनिक घोषणा गरे ।

नेपाली कांग्रेसका मेयरका उम्मेद्धवार अछमितलाल चौधरीले आफूहरुले प्रतिबद्धता व्यक्त गरेका कुराहरु पूरा नभए ६ महिनाभित्रै राजिनामा दिने घोषणा गरे । उनले आफू विजयी भए ढल, खानेपानी, सडक सञ्जालदेखि लिएर यहाँको समग्र विकासमा महत्वपूर्ण टेवा पुर्याउने बताए ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मेयरका उम्मेद्धवार खड्गराज चौधरीले लहानको लागि विकासको लागि आफ्नो पार्टीले जति अरुले काम नगरेको आरोप लगाए । उनले भने, ‘फेरि पनि यहाँको विकासको लागि हाम्रो पार्टीले नै काम गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

संघीय समाजवादी फोरम नेपालका मेयरका उम्मेद्धवार वैजनाथ साहले आफ्नो पार्टी जति मधेश र मधेशी जनताको लागि अरु पार्टीले काम नगरेको समेत गुनासो पोखे ।

उनले थपे, ‘हामीले संविधान संशोधनको लागि यत्रो संघर्ष गर्यौं, हामीले त संशोधनमात्रै नभएर पूर्नर्लेखन नै गर्नुपर्छ भनेका छौं ।’ त्यस्तै उनले लहानलाई समृद्ध नगरपालिकाको रुपमा विकास गर्न आफूले कुनै कसर बाँकी नराख्ने जिकिर गरे ।

राजपाका मेयरका उम्मेद्धवार डा. महादेव साहले पनि लहानलाई समृद्ध नगर बनाउने र यहाँका नगरवासीहरुको मन जित्नेगरि काम गर्नै प्रतिबद्धता जनाए ।

त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका मेयरका उम्मेद्धवार वीजय साहले पनि लहानमा रोकिएर अर्थात अवरुद्ध भएर रहेको विकासलाई आफूले गति दिने विश्वास दिलाए । उनले लहानलाई मुलुकै सबैभन्दा समृद्ध नगरपालिकाको रुपमा चिनाउने समेत बताए ।

राप्रपाका मेयरका उम्मेद्धवार एवम् पूर्व मेयर तथा पूर्वसांस्द लगन चौधरीले लहानमा अहिले प्रशस्त समस्याहरु रहेको भन्दै आफू विजयी भए सबै समस्याहरु समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे ।