काठमाडौं, २६ जेठ । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आफूले बोलेका शब्दले प्रेस जगतलाई चोट परेकोप्रति दुःख व्यक्त गरेका छन् । उनले प्रेस जगतलाई आघात पर्न गएको भन्दै आफूले बोलेका कुरा फिर्ता लिने पनि बताए ।

आइतबार विज्ञप्ती जारी गर्दै मेयर चौधरीले एक पत्रकारले फेसबुक कमेण्टको विषयलाई लिएर आक्रोशपूर्ण फोन गरेपछि भएका संवादका क्रममा आवेगजन्य परिस्थितीका कारण त्यस्तो शब्द प्रयोग गर्नुपरेको प्रष्टीकरण दिएका छन् ।

‘मेरो सञ्चारजगतप्रति चोट पुर्याउने कुनै मनसाय छैन र आगामी दिनमा पनि रहनेछैन, चौधरीले विज्ञप्तीमा भनेका छन्, इटहरी उपमहानगरपालिका प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध छ । यो संवैधानिक हकप्रति सधैं प्रतिवद्ध रहनेछ ।’ आफूहरु भ्रष्टाचार विरुद्धको शुन्य सहनशिलताको अभियानमा रहेको भन्दै चौधरीले यो अभियानमा सञ्चार जगतलाई रचनात्मक भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।