हेमन्त गिरी ।

“परदेश आएको एक वर्ष भयो । सधै बस्नको लागि म यहाँ आएको होईन । केहि ज्ञान,सिप र केहि अर्थ आर्जन गरे पछि देश फर्किने हुँ । म नेपाललाई अत्यन्तै माया गर्ने नेपाली नागरिक हुँ । देशको लागि के गरेको छस भन्ने प्रश्न मनमा आएमा मेरो जवाफ यस्तो छ-कमाएको सबै धन आधिकारिक रेमिट कम्पनी बाट देश पठाउँछु,देशले रेमीट्टयान्स बापतको लाभांश लिइरहेको छ,अहिले लाई देशको लागि भन्नुस वा घरको लागि, गर्न सकेको यत्ति मात्र हो । देशमा हुँदा संचार क्षेत्रमा कार्यरत थिएँ,लेख्ने र बोल्ने पेशा थियो त्यो । परदेश आए पछि पनि मुख्य कामको अलावा फुर्सद हुँदा केहि लेख्ने गरेको छु । केहि संचार संस्थाले सदासयता पूर्वक मेरा लेख रचनाहरुलाई स्थान दिइरहेका छन, आभारी छु । जीवन सिकाईको शृंखला हो भन्ने कुरामा विश्वास राख्छु, त्यसैले देश वा परदेश जहाँ रहे पनि सिक्नु र सिकेका कुरा बताउनुलाई आफ्नो धर्म ठान्छु ।”

सुरूवातमै यति लामो भूमिका बाँध्नुको खास अर्थ छ । यो लेखको अन्त्य सम्म पुग्दा मेरो देशप्रेम, मेरो ईमान र मेरो प्रतिबद्धतामाथि एउटा समूहबाट प्रश्न उठाइन सक्छ । एउटा ठूलो तप्का सत्यलाई मोड्न र अतिरंजना फैलाउन ज़बर्दस्त रूपमा लागिरहेको छ अचेल समाज र संजालमा । ‘जे छ ठीक छ’ भनिदिए खुसी हुने त्यो समूहको मत खुब बलियो छ समाज र सामाजिक संजालमा । ‘यो भएन, यो हुनुपर्छ’ भन्ने बित्तिकै ‘ए ! फलानो अराष्ट्रिय,साम्प्रदायिक,भँडुवा’ आदि आरोप लगाएर त्यो समूहले वर्षौं देखिको आफ्नो साम्राज्यको सुरक्षा गरिरहेको छ । संजाल र समाज जताततै आफ्नो बोलवाला रहेको सो भिमकाय झुण्डले सत्य सजिलै मोड्न सक्छ, तर्क हजार पेश गर्न सक्छ । झोली, बोली र गोली सम्मका हथकण्डा अपनाएर सर्वसाधारणलाई यथार्थबाट दिग्भ्रमित पार्ने ताक़त राख्छ । त्यसैले सुरूवातमै पंक्तिकारले आफ्नो लेखकीय सुरक्षाको खातिर भूमिका बाँध्न अत्यावश्यक सम्झेक़ो हो ।

hemant-giri-154537910

अब विषय तिर जाउँ ।
जापानका बालबालिकालाई हेर्छु । यिनीहरु पार्कमा खेल्छ्न, तर आपसमा लडेको, झगड़ा गरेको मैले कमैलाई मात्र देखेको छु । म जापानी युवाहरुलाई हेर्छु । यिनी हरु रेस्टूरेंटमा बसेर मदिरा पिउँछन, बेस्सरी लाग्ने गरी पिएर सडक वा प्लेटफ़ार्ममा ढलेको सम्म देखेको छु तर आपसमा लडेको, झगड़ा गरेको कमैलाई मात्र देखेको छु । हात हालेर लडेको त देखेको नै छैन भन्दा पनि हुन्छ । म पसलहरुमा जान्छु, त्यहाँका कर्मचारी ग्राहकसंग झर्केको, रिसाएको, कराएको देखेको छैन, ग्राहक पनि पसलेसंग झगड़ा गरेको देखेको छैन । सरकारी कार्यालयका कर्मचारीले सेवाग्राहीलाई अनावश्यक दुःख दिएको देखेको छैन । अरु त अरु सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले समेत अति बाध्य नभई ठूलो आवाज़ वा बल प्रयोग गरेको देखेको छैन, उल्टै प्रहरीले जनतालाई हदैसम्म झुकेर अभिवादन गरेको देखेको छु । जताततै सुमीमासेन(माफ गर्नुहोला), गोमेनासाई(माफ़ी चाहन्छु), दोउमो आरीगातोउ गोजाइमास(धेरै धेरै धन्यवाद) भन्दै शीर झुकिरहेको मात्र देख्छु । एक जना आक्रोशित भएर केहि बोले पनि अर्कोले शीर झुकाएर सुनिरहेको वा माफी मागिरहेको देखेको छु । खासमा मैले यहाँ भन्न खोजेको, म आए देखि देखेको जापानमा लडाईं, झगडा, आक्रोश, खिंचाई ज्यादै कम देखेको छु । यस्तो किन भयो होला ? विकसित देशमा जहाँ तहीं यस्तै हुन्छ ? के यस्तो जापान विकसित हुनु अघि देखि नै थियो ? म घोत्लिइरहन्छु । घोत्लिंदै गर्दा सामाजिक संजाल तिर आँखा पुग्छन अनि देख्छु नेपाली दाजु भाईका लेखाई, भनाई, आपसमा कमेण्टमै बाझाबाझ, आपसमा द्वेष,कलह,क्रिया प्रतिक्रियामा अत्यन्त नकारात्मकता, एकले अर्कोको उठिवास लगाउन उद्दत, बैचारिक भन्दा व्यक्तिगत रिसइवी जस्तो, साह्रै नमिठा, मुटु कुंडिने, मानहानीका शब्दहरु । त्यो भिडमा म आफुलाई पनि पाउँछु अनि फेरि आफैलाई प्रश्न गर्छु, हामीहरुले यसो किन यसो गर्छौं होला ? जापानीहरु भन्दा हामी नेपाली नजान्ने र अज्ञानी भएर हो त ? होईन । एउटा सामान्य जापानी नागरिकको भन्दा हाम्रो जि. के. (सामान्य ज्ञान) धेरै राम्रो छ, त्यो मैले देखे-भोगेको छु । तर के छैन त हामीमा ? एउटै कुरा छैन, त्यो हो झुकाव । हामीमा संस्कार नै छैन म भन्दिन, हामीमा केहि चीज़को साह्रै कमी छ भने त्यो हो झुकाव,विनम्रता वा स्वीकारोक्ति । र सुन्दा तपाइँलाई अचम्म लाग्न सक्छ,यस्तो हामीलाई हाम्रो इतिहासले बनाएको हो ।

हरेक देशको नागरिक लाई आफ्नो देशको इतिहास,सम्पदा र धरोहर प्रति गर्व हुन्छ । त्यो हामी नेपालीलाई पनि छ,जापानीलाई पनि छ । फरक के छ त भन्दा हाम्रो नहारेको,नझुकेको इतिहास छ । नझुकेको,नहारेक़ो इतिहास हुनु आफैमा ठूलो गौरबको विषय हो । तर गर्व कति गर्नु र को संग गर्नु भन्ने कुराले महत्व राख्छ । हामीले इतिहासको बखान पराईलाई आफ्नो देश चिनाउन कमै गर्ने गरेका छौं बरु आफ्ना लाई गिराउन बढ़ी गरेका छौं । बुद्ध जन्म भूमि,सगरमाथाको देश जस्ता इतिहास र भुगोलका यी सौभाग्य हरुका रटान र आत्मरतिले एक त हामी कर्म बाट बिचलित भइरहेक़ा छौं,अर्को, फरक बिचार राख़्ने आफ्नै नेपाली दाजु भाईको इतिहास प्रतिको स्वामित्वको हक़ पनि खोसिरहेक़ा छौं । बिर्सिरहेका छौं, राज्यका प्रत्येक अवयव हरुमा हरेक नागरिकको बराबरीको हक रहन्छ । हामी त साझा राष्ट्रीय विभूति र धरोहर हरुलाई समेत तेरो होईन, मेरो हो भनिरहेका छौं वा मेरो होईन तेरो हो भनिरहेक़ा छौं । हाम्रो गौरवपूर्ण इतिहास लाई हामीले सकारात्मक रूपमा नभइ आफ्नो दम्भको रूपमा ग्रहण र प्रस्तुत गरिरहेका छौं । इतिहास प्रति गर्व गर्नु एक नागरिकको धर्म हो तर इतिहास प्रति दम्भ गर्नु नागरिकको कमजोरी हो । र हामीलाई यही कमजोरीले पछि पारीराखेको छ । भनिन्छ नि, मरिच आफ्नै रागले खुम्चिन्छ । हामी इतिहासको अतिरंजनात्मक रटान र दम्भले खुम्चिरहेक़ा छौं । हामी हाम्रो आलोचनात्मक चेत खुलाउन नै चाहान्नौं । हामी जती आफू नहारेक़ोमा दम्भ गर्छौं, त्यति परनिर्भर भएकोमा शरम चाहिं गर्दैनौं ।

जापान जैविक विविधता र प्राकृतिक सम्पन्नताको हिसाबले नेपाल जस्तै तर कम अनुकूल भूमि हो पृथ्वीमा । पचास वर्षको अन्तरालमा उस्तै दुई देश मध्ये एक संसारकै सम्पन्न राष्ट्र र अर्को संसारकै बिपन्न मध्येको एक कसरी हुन पुगे त ? तत् तत् देशका सरकारको कारणले हो त ? तत् तत् देशमा भएका राजनीतिक परिवर्तन र राजनीति कर्मीको कारणले मात्र हो त ? वा तत् तत् देशका बाहिरी विश्व संगका सम्बन्धका कारणले हो ? हुनसक्छ,यी कारण मध्यम मात्र हुन,प्राथमिक कारण जनता नै हुन । र जनतालाई सिकाइएको त्यो देशको इतिहास हो । विश्व युद्ध अघिको शक्ति शाली साम्राज्यको इतिहास मात्र जबर्जस्ती रटाइएको भए सायद आज जापान नेपाल जस्तै रहने थियो होला ।

नेपाल संग जितेको इतिहास भए जस्तै जापान संग हारेको इतिहास छ । पूर्वी एसियाको महाशक्ति थियो कुनै समय जापान । जोखेरै हेर्ने हो भने हामी संग भन्दा वज़नदार इतिहास हुन सक्छ जापानी हरु संग । तर यिनीहरुलाई यति बिघ्न झुक्न,यति अनुशासित र परिश्रमी हुन बाध्य के ले बनायो त ? मात्र एउटा हारले । आज हेर्नोस त, जापानीहरुले हारेर पनि विश्व जितिरहेक़ा छन । आज जापानी नागरिकले आफुलाई चिनाउनको लागि न कुनै इतिहासको वर्णन गर्नु पर्छ,न भुगोल र प्राकृतिक सौभाग्यहरुको । उनीहरु विश्वमाँझ हरुवा भनेर चिनिन्नन, बिजेता भनेर चिनिन्छन । उनीहरु बिजेता कर्मले बनेका छन । कर्म गर्न उनीहरुलाई हारेको इतिहासले सिकाएको हो । कर्मवीर जापानीहरुका हरेक उत्पादनले आज तपाइँ हाम्रो बैठक सज़ाएका छन,विश्वका अधिकांश बैठक कोठामा शान संग जापानी स्वभिमानले डेरा जमाएकों छ । तैपनि जापानी हरु दम्भ गर्दैनन,एकले अर्कोलाई गाली गर्दैनन । एक आपसमा मिलेर बसेका छन,एक अर्का प्रति झुकेका छन, बिनम्र बनेका छन फलेको वृक्षको हांगो झुके जस्तै । अमेरिकाले हिरोशिमा र नागाशाकीमा परमाणु बम नखसालेको भए, बारम्बार भूकम्प र सुनामी अनि ज्वालामुखीले चुनौती नदिएको भए जापानी हरुमा यति झुकाव हुन्थ्यो होला त ? सायद हुँदैन्थ्यो । उनीहरु पनि विश्व युद्ध अघिको आफ्नो साम्राज्यमयी इतिहास माथि दम्भ गर्दा हुन ।

स्कूल पढ्ने ताका मलाई सबै राजा महाराजाको जन्म,छैंटी,पास्नी,ब्रतबंध,बिहे,सुहागरात,राज्याभिषेक,मृत्युक आदिको तिथि मिति, शिकार खेलेका बन जंगलका नाम,दासी हरुलाई श्रीमती बनाएर राखेको खोपिको ठेगाना,आफै आफै लडेर मरेका भाई भरदारको नाम पुरै कण्ठस्त थियो । कण्ठ गर्नु पनि पर्थ्यो, नत्र पास भइंदैनथ्यो । र अनौठो कुरा, धेरैलाई इतिहास विषय नै सबै भन्दा बढ़ी मन पर्थ्यो । कारण, इतिहास विषय एउटा रोचक चलचित्र जस्तो लाग्थ्यो । राजा महाराजाहरु लडेका,मरेका,मारेका,गायब पारेका,पारिएका घटना सुन्न पढ़न खुब रुचि लाग्थ्यो । मनमा अझै पनि ती राजा महाराजा,भाई भारदारका तस्वीरका निशान छन । यति गहिरो छाप पर्ने गरी कुन चतुरले हाम्रो इतिहास लेख्यो होला ? केटाकेटीमा केहि चुनौतीपूर्ण काम गर्नु पर्यो भने फूटानि लगाउँदै भनिन्थ्यो, ‘यो काम त हाम्रा बा ले गर्न सक्छन’,उत्ति बेलै के महसूस हुन्थ्यो खै ? अनि भनिन्थ्यो, ‘हैन हैन बा ले पनि सक्दैनन,राजाले मात्र गर्न सक्छन’ । एक जना बच्चाको लागि संसारमा सबै भन्दा बहादुर र बलिया उसका बा हुन्छन । बा प्रतिको बच्चाको विस्वास नै डगमगाउने गरी लेखिएको हाम्रो इतिहास सांच्चै कुनै ठूलै दरबारिया चतुरले नै लेखेको हुनुपर्छ । त्यसैले त त्यो इतिहास भित्र जति राजा महाराजाका गौरवका गांथा थिए त्यति नागरिकका पीरका गाँठा पनि थिए भन्न आज हामी थुरथुर काँप्छौं । भनिहाले पनि अनर्गल गाली खाइने उत्तिकै सम्भावना रहन्छ ।

केहिलाई के लाग्दो रहेछ भने आँखा चिम्लेर रटेको इतिहास फरर बोल्ने हो भने महान राष्ट्रवादी भइन्छ । आफूले त रटेका कुरा मध्ये अधिकांश बिर्सियो,तैपनि देब्रे छातीमा देश त मज्जाले धड़किन्छ त अझै । ती मारेका, मरेका, राजा महाराजाले नानाभाँति गरेका तिथि मिति,शिकार खेलेका जंगलका नाम,सयौं रानी र हज़ारौं दासीका खोपिका नाम कण्ठ पारेको इतिहासको शिक्षाले दिएको के छ ? धेरै त केहि होईन एउटा अनौठो दम्भ दिएको छ । यस्तो दम्भ जुन दम्भले आफू आफूमै लड़ाइरहेको छ । एक थरि भनिरहेछन- म फलनाको सन्तान अर्को थरि भनिरहेक़ा छन- म फलानोको अनुयायी । अमरशिंह थापा,भक्ति थापा,बलभद्र कुँवर जस्ता केहि महान योद्धा हरुले देशको रक्षा गरेकोमा हामी जति गर्व गर्छौं, दरबार भित्रै राजा,महाराजा,मन्त्री अनि सिपाहीका मुखिया हरु सत्ता,शक्ति र वासनाको लागि आपसमा लडेकोमा,मरेकोमा,मारेकोमा त्यति शरम चाहिं हामी गर्दैनौं । किनकि हामीलाई इतिहाँस पढ़ाइएको होईन,रटाइएको हो । र केहि समय यता रटेको इतिहाँस माथि अलि बढ़ी नै गर्व गर्ने अभियान चलाइएको छ । त्यही अभियान लाई यहाँनेर दम्भ भनिएको हो ।

जीत र सम्पन्नताको(दरबारको) इतिहास देखाएर दम्भ गर्न त सिकाइएको छ । तर आफै आफैमा लडेको र आफै भित्र हारेको अनि अभाव र विपत्तिको इतिहास लुकाएर कर्म गर्न सिकाइएको छैन । एउटा विवेकशील नागरिकले इतिहासका पन्ना पन्ना केलाउँछ, गर्व गर्ने ठाउंमा प्रशस्त गर्व गर्छ, आलोचना गर्ने ठाउंमा यो ‘किन यस्तो’ भन्छ । भानुभक्तलाई आदिकवि बनाउन प्रेरणा दिने घाँसी कहाँ गए भनेर खोज्छ । पृथ्वीनारायणलाई अर्ती बुद्धि दिने बिसे नगर्चीको जीवन बयान गरिएको खोई ? भनेर सोध्छ । देवकोटाले किन उपचार पाएनन भनेर गम गर्छ । तर एउटा सुगा रटानले जे रटेको छ त्यसमै आफुलाई अब्बल देख्छ । सुगाले पनि त पिंजड़ा भित्रबाट सिकाइएका कुरा खुब ठूलो ठूलो स्वरमा सुनाउँछ, तर पिंजड़ा खोलिदिंदा उड़न सक्दैन । हाम्रो आलोचनात्मक चेत र पिंजड़ा मुक्ति पछिको सुगाको उडान उस्तै उस्तै हुन भन्दा फरक नपर्ला । विवेकको खुला आकाशको सट्टा भक्तिको सुनौलो पिंजड़ा प्रयोग गरिएको चतुर इतिहासका घोकन्ते विद्यार्थी हौं हामी नेपाली । हामी बाट स्वतन्त्र उडानको के अपेक्षा ? अनि उडान पछिको विश्राममा विनम्र झुकावको के अपेक्षा ?

केहि समय अघि ओबामाले जापानको भ्रमण गर्दाको ताका प्रसंग वश एक जना संगै काम गर्ने जापानी साथीलाई उसको देशको इतिहास,राजनीति र राजारानीको बारेमा धेरै कुरा सोधेको थिएँ । उसले बर्तमान राजा र प्रधानमन्त्रीको नाम सम्म बताएको थियो । बाँकि राजा र राजनीतिको बारेमा थाहा नभएको बताएको थियो । चाहेको भए ठूलो नाक पारेर उसले पनि आफ्ना महान साम्राज्यवादी राजा महाराजाको रटाने कथा सुनाउन सक्थ्यो होला, पर्ल हार्बरमा अमेरिकालाई धुलो चटाएको बयान ठूलो स्वरमा गर्न सक्थ्यो होला, केहि त थाहा पनि सायद थियो होला । फेरि सोधें, हिरोशिमा र नागाशाकी आक्रमणको बारेमा के थाहा छ ? तब उसले जाने बुझे जति सबै बतायो । जापानी नागरिकले पाएका दुःख र गरेका संघर्षका कहानी सुनायो । अनि संघर्षले बनाएको आजको जापानको खुशी आफ्नो मुहारमा छल्कायो । एक जना नेपाली लाई सोध्नोस,राजा महाराजा र नेताहरुको बारेमा के कति थाहा छ ? नाक फुलाएर आँखामा रवाफ ल्याएर फरर नालीबेली भन्छ । पहुँचवाला संगका आफ्ना उठबस देखि बा का पाला देखिका हींग बांधेका टालाका बखानले आफूलाई इतिहासमा नाम लेखिएका हरु संग बड़ो शान संग जोड़छ । अनि फेरि सोध्नुहोस, ९० सालको भूकम्पको बारेमा के थाहा छ,नालापानी र कालापानीमा के भिन्नता छ ? उसले खासै केहि बताउन सक्दैन, ख़ुबै बताए यति मान्छे मरेका थिए सम्म भन्ला । यही हो हामीलाई सिकाइएको फरक इतिहास ।

पुष २७ गते पृथ्वी नारायण शाहको जन्म जयन्ती थियो । टुक्रे राज्यहरुमा बिभाजित नेपाललाई एउटा सिंगो राज्य बनाउनमा उनको योगदान उच्च छ । भलै युद्धको क्रममा र राज्य संचालनको क्रममा केहि गल्ती उनीबाट नभएका होलान भन्न सकिन्न,गल्ती हरेक शासक बाट हुन्छ । उनको सम्मान र सम्झना गर्नु प्रत्येक नेपालीको कर्तब्य हो । गणतन्त्र स्थापना संगै राजतन्त्रको समाप्ति भएको भनी उनको जन्म जयन्ती मनाउने चलन हटाउनु हठातको निर्णय थियो । व्यवस्था फेरिए पनि राष्ट्रको भौगोलिक एकीकरण कर्ताको गरिमालाई समुचित कायम राखिनु पर्थ्यो । त्यसो गरिएन । बरु परिवर्तनको नाममा विवेक गुमाएर उनका शलिक हरु तोड्ने सम्मका हर्कत गरियो जुन निन्दनिय थियो । नयाँ व्यवस्थामा पनि उनको योगदानलाई उच्च सम्मान दिइनु पर्छ । तर सामाजिक संजाल र मीडियामा पृथ्वी जयन्तीलाई लिएर जुन खालको रडाको मच्चाइयो त्यो हाम्रो इतिहासको दम्भपूर्ण ज्ञानको पराकास्ठा थियो । सामाजिक संजालमा एकले अर्कोलाई होंच्याउने,फरक विचार र बहसलाई अभिमानमा लगेर जोड़ने,तबैतारे राजनीतिक रोटी पनि सेक्ने कुयत्न पनि भएको देखियो । ३ करोड़ नेपाली मध्ये पृथ्वीनारायण कसका मात्र हुन ? वा कसका होईनन ? सामाजिक संजालमा बहसलाई यसै गरी मोड़ेको पाइयो । गर्व गर्न सक्ने ठाउँमा गर्व गर्न नसक्ने र गर्व गर्ने नाउँमा दम्भ गर्ने दुबै प्रवृत्ति घातक हुन । हामिले यसकै अभ्यास गरिरहेक़ा छौं । यही आग्रह पूर्वाग्रहको निरन्तरता लाई भोली हाम्रा सन्ततिले इतिहास भनेर पढ्ने छन,जुन इतिहास हामी जस्ता औसत पूर्वाग्रहीहरु बाट लेखिएको हुनेछ ।

त्यसो त, एउटा भनाई छ-इतिहास जित्नेको मात्र लेखिन्छ । तर दृष्टान्तले के देखाउँछ भने जित्नेको इतिहासले समाज र सभ्यतालाई दम्भी बनाउँछ,अहंकारी बनाउँछ । हाम्रो केहि गौरव पूर्ण र केहि हतासपूर्ण इतिहासको समुचित समयोजन सहित इतिहासको पुनर्लेखन नभए हाम्रा आगामी पूस्तालाई कहिले असाध्यै दम्भी बन्नु पर्ला त कहिले असाध्यै निरिह बन्नु पर्ने पनि दिन आउला । हामीले गर्व र आलोचना दुबै गर्न सक्ने इतिहासलाई आफ्नो दम्भ अनुकूल अध्ययन र व्याख्या गर्यौं र त्यसको प्रयोग आपसमै लड़नमा गर्यौं । कम्तिमा हाम्रा सन्ततिलाई कर्म गर्न सिकाउने इतिहास दिऊँ । त्यसको लागि भानुभक्त र पृथ्वीनारायण संगै जोडिएका घाँसी र बिसे नगर्चीका विस्तृत जीवन पनि इतिहासमा समेटौं । मैले पढ़ेको इतिहासमा त्यस्ता पात्र कोहि अटाएनन त के भो ,मेरा सन्तानले पढ्ने इतिहासमा कुलमान,गोबिन्द के सी,धुर्मुस-सुन्तलि,पुष्पा बस्नेत हरु अटाऊन,न कि गिरिजा,प्रचण्ड,माधव,शेर,ज्ञानेंद्र वा के पी मात्र । ताकि कर्म गर्ने हरेक नागरिकलाई लागोस इतिहासमा राजा महाराजा र मन्त्री ज्यू हरुको मात्र होईन मेरो नाम पनि समाविष्ट हुनेछ । मेरा सन्तानले पढ्ने इतिहासले दम्भको अन्त्य र कर्मको आरम्भ गरोस ।
अस्तु:

लेखकबाट अन्य:
लालु र काल
‘हामी सबै लोकमान’
बाबु, डाक्टर भएस् !