१९ मंसिर, काठमाडौं । मेलम्ची खानेपानीको मुहानस्थित सिन्धुपाल्चोकको हेलम्बु–७ मा पाइएको सुन जस्तो धातु परीक्षणका लागि खानी तथा भूगर्भ विभागमा बुझाइएको छ ।

मेलम्ची खानेपानी विकास समिति, ह्योल्मो मेलम्ची सामाजिक उत्थान कार्यक्रम समिति, ह्योल्मो खानेपानी सरोकार समितिलगायत स्थानीयवासीको समूहले आज विभागका निमित्त महानिर्देशक रामप्रसाद घिमिरेलाई धातुको नमुना हस्तान्तरण ग-यो ।

melamchi-sun

धातुको नमुना बुझ्दै महानिर्देशक घिमिरेले मङ्गलबारसम्म परीक्षणको नमुना आउने र त्यसपछि मात्र त्यस विषयमा केही भन्न सकिने बताए ।

शुक्रबार हेलम्बुस्थित मेलम्ची खोलाको मुहानमा इन्टेकको काम गर्दा पाँच मिटर लम्बाइ र चारमिटर चौडाइको ढुङ्गामा सुन जस्तो टल्किने धातु भेटिएको स्थानीय भालु शेर्पाले बताए ।

मुहानभन्दा ३० मिटरमाथिको ढुङ्गा काट्दा धातु भेटिएको मेलम्ची खानेपानी आयोजनाका परामर्शदाता प्रद्युम्नलाल प्रधानले सुनाए । सुनजस्तो धातु पाइएको स्थान समुद्री सतहबाट एक हजार ४५५ मिटर उचाइमा पर्ने आयोजनाले जनाएको छ ।