६ साउन, झापा । झापाको भद्रपुर–बिर्तामोड सडकखण्डमा आज भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

मुत्यु हुनेमा बिर्तामोड नगरपालिका– ८ हर्चनाका ३८ वर्षीय कृष्ण थापा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

हर्चनाबाट बिर्तामोडतर्फ गइरहेको मे २ प ९०६८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको गाडी (म्याजिक भेन) एकआपसमा ठोक्किँदा मोटरसाइकल चालक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जनाकारी दिए ।

मोटरसाइकलमा सवार सोही स्थानका २५ वर्षीय गोविन्द चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते चौधरीको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।