• हेमन्त गिरी

पेट्रोलको सामान्य मूल्य एक सय रूपैयाँ आसपास छ नेपालतिर । एउटा र्यालीमा प्रति मोटरसाइकल कम्तिमा दुई लिटर नै पेट्रोल खर्च हुँदा पनि दुई सय रूपियाँ बराबरको ईन्धन खपत हुन्छ । सामान्य भन्दा सामान्य दलको एउटा गाउँपालिकाको एकपटकको र्यालीमा कम्तिमा पनि दुई सय मोटरसाइकल गुड्लान । त्यसो भयो भने एउटा गाउँपालिका वा नगरपालिकामा प्रति दल चालीस हजार बराबरको ईन्धन खपत हुन्छ ।

लेखक

यस आधारमा देशभरमा हजारको आसपासको संख्यामा रहेक़ा गाउँपालिका र नगरपालिकामा हुने एउटा सामान्य दलको र्यालीको हिसाब निकाल्दा झण्डै चार करोड बराबरको पेट्रोल खपत हुन आउँछ । यो एउटा सामान्य दलको कुरा हो । यही आँकड़ामा समावेश गरेर हेर्दा ठूला पाँच दलको एउटा र्यालीको पेट्रोल खर्च बीस करोड हुन आउँछ । यस्ता रयाली चुनाव अघि र पछि प्रति दल कम्तिमा पाँच वटा आयोजना गरिए पनि कुल पेट्रोल खर्च १ अर्ब हुन आउँछ ।

एक महिना आसपासमा अहंकार प्रदर्शनको लागि ईन्धनमा गरिने अनावस्यक खर्चको आँकडा हो यो । यही रक़म यति नै समयको लागि कुनै उत्पादनमूलक काममा प्रयोग भयो भने विकासमा फरक पर्ला कि नपर्ला ? यसबाहेक र्यालीले पूर्याउने प्रदूषण, सडक समस्या, वातावरणीय समस्या,’ड्यूटी आवर’को दुरुपयोग, जीवनको जोखिम आदि कुरा त तपशिलमै राखौं ।

यो एकदम सहुलियत दिएर मोटामोटी निकालिएको कम भन्दा कम आँकड़ा हो । बढ़ीमा कति खर्च होला चुनावको बेला ईन्धनमा, आफै अनुमान लगाउनुहोस । एक अर्बमा देशमा के-के काम हुन सक्छ त्यो पनि अनुमान लगाउनुहोस । अनि आफै बिचार गर्नुहोस, मोटरसाइकल र्याली गर्ने दललाई भोट दिने कि नदिने ?

हुन त ऐतिहासिक चुनावको मुखमा यस्ता काइते तर्क र आँकड़ा के प्रस्तुत गरेको भन्ने कुरा आउलान । यो काइते तर्क होइन, गम्भीर सत्य हो । यो सत्यलाई मैले यहाँ नेर एउटा उदाहरणसंग जोड़न चाहें ।

यहाँ एकजना विद्यार्थी भाइसंग दोस्ती छ । उनी र म प्रायः जापान किन आजको जापान भयो र नेपाल किन हिजोकै नेपाल रह्यो भन्ने बारेमा चिन्तन र कुराकानी गरिरहन्छौं ।

उनले सुनाएको एउटा प्रसंग: रेस्टुरेन्टको टेबलमा ग्राहकले छोडेको खाना फर्किएर आएपछि रेस्टुरेन्ट मालिक, मेनेजर वा स्टाफ़ले(विशेष गरी जापानी नागरिक)ले खान मिल्ने सम्म खान्छन, डस्टवीनमा सिधै फ्याँक्दैनन । यस्तो देख्दा सुरुसुरुमा त यिनीहरु लोभी हुन जस्तो लाग्थ्यो । पछि आफैलाई महसूस हुन थाल्यो उनीहरु लोभी नभएर वस्तुको उचित प्रयोगमा पारङ्गत भएका चेतनशील नागरिक रहेछन ।

त्यसो त जापानमा खाना खाने संस्कार नै फरक छ । चपस्टिक(हाँसी) ले खाइने हुँदा घिन नै मान्ने गरी जूठो पनि हुँदैन । खाना सर्भ गर्दा किचनबाट ठूलो प्लेटमा दिइन्छ र वेटरद्वारा प्रतिव्यक्ति साना प्लेट र चपस्टिक वा चम्चा छुट्टाछुट्टै दिइन्छ । उनीहरु आफुलाई चाहिने खाना ठूलो भाँडाबाट आफ्नो सानो भाँडामा निकाल्छन र खान्छन । खान नसकेको खाना ठूलो प्लेटमै छोडिएको हुन्छ । जुन रेस्टुरेन्ट मालिक वा मेनेजरले खान अप्ठ्यारो मान्दैनन ।

यहाँ ‘मोत्ताईनाई'(फजुल, अनावस्यक खर्च) भन्ने शब्द खुब प्रयोग गरिन्छ । त्यो शब्दको मर्मलाई कायम राख्नको लागि व्यवहार पनि त्यस्तै गरिन्छ । रेस्टुरेन्टको मालिक वा मेनेजरले टेबलमा छोडिएको खाना नखाए पनि पुग्थ्यो होला सायद । तर उनीहरु खान मिल्ने खाना नफालियोस भन्ने चाहन्छन ।

जापानले इलेक्ट्रोनिक र अटोमोबाइल निर्यात गर्छ । खाद्यान्न र कृषिजन्य पदार्थ आयात गर्छ । यहाँका जनतालाई कुन-कुन सामान अन्य मुलुक बाट भित्रिन्छ भन्ने मोटामोटी ज्ञान छ । आयात गरिने सामानमा राज्यको ठूलो लगानी देशबाहिर गइरहेको सायद महसूस गर्न सक्ने नागरिक हुन जापानीहरु । त्यसैले खानाका अत्यन्त शौखिन हुँदाहुँदै पनि जापानीहरु अनावस्यक र फजुल खर्च प्रति सचेत रहन्छन ।

अर्को प्रसंग यस्तो छ : जापानमा पुराना भइसकेका नेपाली साथीहरुबाट सुने अनुसार सन २०११ को महाभूकम्प र सुनामी पश्चात उत्पन्न ऊर्जा संकटको सामना गर्न जापान सरकारले जनतासंग अपील गर्यो अरे ! लिफ्ट, एलिभेटर लगायतका सुविधा टोकियोमा पनि कटौती गर्यो अरे, जबकि टोकियोमा सो प्रलयको कुनै असर थिएन । जनताले पूर्ण साथ दिए अरे ! बत्ती कम बाले अरे, एसी कम चलाए अरे, इलेक्ट्रिक होर्डिंग बोर्डहरु प्रयोग गरेनन अरे, लिफ्ट चढ़नुको सट्टा हिंडे अरे, विद्युतको कम प्रयोग गरेर सरकारलाई सघाए अरे । ‘गाम्बारे निहोन'(मेहेनत गर जापान) नामको नारालाई सार्थक बनाए अरे !

अझ अर्को रोचक प्रसंग : एक जना साथी काम गर्ने इंडियन/नेपाली रेस्टूरेंटमा दुईवटा एसी चलिरहेक़ा थिए रे ! एक जापानी ग्राहक आएछ रे ! ‘मोत्ताईनाई’ (फजुल) भन्दै दुई वटा एसी मध्ये एक मात्र (जुन रेस्टूरेंटको लागि पर्याप्त थियो रे ) चलाउन आग्रह गरेछ अरे ! उनीहरुले पनि उक्त ग्राहकसंग माफ़ी मागेर एउटा मात्र चलाएछन अरे !

यहाँनेर जापानीहरुको प्रसंग जोड़न यसकारण जरूरी थियो कि जापानले गर्ने ठूला लगानी मध्ये ऊर्जा र फुड इण्डस्ट्री अग्रस्थानमा पर्छ । ऊर्जाको लागि हाम्रो तिर जस्तो सहज जलश्रोतको प्रबाह छैन जापानमा । भर पर्नुपर्ने महँगो आणविक ऊर्जामै हो । खाद्यान्न र कृषि उपजको लागि आफ्नो आवस्यकता पूर्ति गर्न पुग्ने पर्याप्त खेतीयोग्य जमिन नै छैन जापानमा । जसरी नेपालमा ईन्धन प्रतिकूल छ ।

पोहोर साल नाकाबन्दी हुँदा सबैभन्दा ठूलो समस्या ईन्धनले नै पारेको थियो । अन्य दैनिक आवस्यक सामग्रीको लागि वर्षौं पनि नाकाबन्दीको सामना गरेर जुध्ने सामर्थ्य हुँदा हुँदै पनि नेपालीको अवस्था ईन्धनकै कारण दयनीय बन्न पुगेको यथार्थलाई नकार्न सकिन्न । नेपाल जस्तो देशमा ईन्धनले प्राणवायुको काम गर्छ । तर हामी चुनाव, सभा वा उत्सवमा गरिने र्यालीहरुमा यही प्राणवायु अनियन्त्रित फुकिरहेक़ा हुन्छौं । तपाइँ आफै भन्नोस, के यो सब आवस्यक छ ? आवस्यक छैन भने किन गरिन्छ ?

यो सब तपाईलाई प्रभावमा पार्न गरिन्छ, मोटरसाइकल हुनेहरुलाई लोभमा पार्न गरिन्छ, अनि र्याली हेर्ने दर्शकसामू आफ्नो अहंकार प्रदर्शन गर्न गरिन्छ । बाटोको डिलमा उभिएर सयौंको संख्यामा झंडा फहराउँदै, नारा लगाउँदै हुँइकिएको मोटरसाइकल र्याली देख्दा तपाइँलाई कुनै ठूलो पर्व र उत्सव आए झैं लाग्छ, तपाइईका पैतालाले भुइँ छोड़न खोजे जस्तो लाग्छ, तपाइँ जुरुक जुरुक हुनुहुन्छ भित्रै देखि । तपाइँ ‘नोस्टाल्जिक’ बन्दै सायद मनमनै बिचार गर्नुहुन्छ,”आहा ! यो हो नि त तरिका ! कति धेरै मान्छे ? कति ठूलो भिड ? माहौल त यस्तो पो हुनुपर्छ, यो दलको जीत सुनिश्चित छ, मेरो भोट यसैलाई भयो ल जा !”

तर पख्नोस, मैले माथि नै भनिसकेको छु एउटा सामान्य र्यालीमा ईन्धनको लागि राज्यको सम्पत्ति कति बर्बाद हुन्छ भनेर । त्यो लगानी कुनै उत्पादन वा आयोजनामा लगाउने हो भने देश समृद्धिमा एक पाईला भए पनि अगाडी हिंड्छ । राज्यको सम्पत्ति भन्नु नै हाम्रो पसिनाको कमाई हो, हामीले तिरेको कर र राजस्व हो । हाम्रो पसिनाको कमाईले किनेर, धेरै टाढा देखि बिदेशीहरुको पाउ मोलेर, अनेक कष्ट सहेर ल्याइएको ईन्धनलाई पानी सरह बगाएर र्याली गर्दै तपाईलाई ‘इमोसनल ब्ल्याकमेल’ गर्ने कुनै पनि झण्डाधारीलाई तपाइँले आफ्नो अमूल्य भोट नदिनुहोला ।

फेरि पनि दल यिनै हुन, व्यक्ति यिनै हुन । अन्य विकल्प या त छैन या बठ्याइं पूर्वक यिनीहरुले विकल्पको बाटो नै बन्द गरेका छन । जे होस, यी मध्ये जसले मीतव्ययिता अपनाएर राज्यको सम्पत्ति दुरुपयोग नगर्ने अठोट गर्छ, उसैलाई छान्नुहोला । जो मीतव्ययी र राज्य संसाधनको सही प्रयोग प्रति जिम्मेवार छ,ऊ जनताप्रति पनि जिम्मेवार रहन्छ । स्मरण रहोस, आज उड़ाउनेले भोली व्याज सहित असुल्ने पक्का छ ।