७ वैशाख, विराटनगर । स्थानीय तहको निर्वाचनका लागि मोरङमा चार हजारभन्दा बढी कर्मचारी खटिने भएका छन् ।

यस जिल्लाको ६६९ वटा मतदान केन्द्रमा निर्वाचन सम्पन्न गर्नका लागि चार हजार १४ जना कर्मचारी खटिने पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले जानकारी गराए ।

मोरङका पाँच लाख ६३ हजार ८७० जना मतदाताका लागि ३०० स्थानमा ६६९ वटा मतदान केन्द्रको स्थापना गरिएको हो ।

जिल्लाका १७ वटा स्थानीय तहअन्तर्गत विराटनगर उपमहानगरपालिकामा वैशाख ३ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालयको स्थापना भइसकेको छ र आठवटा नगरपालिका र आठवटा गाउँपालिकाका लागि भोलि (शुक्रबार)नै निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने पूर्वाञ्चल क्षेत्रीय कार्यालयका प्रमुख सञ्जेलले जानकारी गराए ।

वैशाख ३१ गते निर्वाचन सम्पन्न गर्ने उद्देश्यले निर्वाचनको तयारीलाई समेत तीव्रता दिइएको छ । सोअन्तर्गत निर्वाचनमा खटिने कर्मचारीको सूची तयारी भइरहेको छ भने मतदाता शिक्षा कार्यक्रमका लागि आवश्यक झोला, मतदाताको नामावली, मतदाता पुस्तिका, पर्चा पोस्टरलगायत आवश्यक कागजात निर्वाचन आयोगको केन्द्रीय कार्यालयबाट प्राप्त भएको सो कार्यालयले जनाएको छ । रासस