२८ साउन, मोरङ । पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ ।

दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको छ । मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् ।

अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवतजावत नै बन्द गरिएको सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए । बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा लोहन्द्रा खोलामा रहेको पक्की पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैँचाले जनाएको छ ।

रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी सात सय घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ । यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् ।