३१ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संयुक्त लोकतान्त्रिक मधेशी मोर्चालाई चुनावमा सहभागी हुन आव्हान गरेका छन् ।

फाइल तस्बिर

उपचारका लागि थाइल्याण्डमा रहेका ओलीले नयाँ वर्षका अवसरमा दिएको शुभकामना सन्देशमा चुनावमा सहभागी भएर गुनासा सम्बोधन गर्न आब्हान गरेका हुन् ।

मोर्चामा आवद्ध दलहरुको नाम उल्लेख नगरिकन जारी गरेको सन्देशमा ओलीले लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट समस्या समाधानमा सकारात्मक योगदान गर्न आब्हान गरेका हुन् ।

‘लोकतन्त्रले हामी सबैलाई आफ्ना गुनासा, असन्तुष्टि र मागहरुलाई वैधानिक परिधिभित्रैबाट समाधान गर्ने अवसर प्रदान गर्दछ । आवधिक निर्वाचनका माध्यमबाट आफ्ना मान्यताहरुको परीक्षण र जनअनुमोदन गराउने तथा त्यसका आधारमा संवैधानिक पद्धतिलाई थप परिष्कृत र विकसित गर्दै लैजाने आधार उपलब्ध गराउनु लोकतन्त्रको सबैभन्दा सबल पक्ष हो’

अध्यक्ष ओलीले शुभकामना बक्तव्यमा भनेका छन् ‘म नयाँ बर्षको सुखद उपलक्ष्यमा वर्तमान संवैधानिक प्रक्रियाप्रति केही गुनासाहरु अभिव्यक्त गरिरहनु भएका साथीहरुलाई पनि लोकतान्त्रिक विधि र निर्वाचनकै माध्यमबाट ती समस्या समाधानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछु ।’

राजनीतिक स्थिरता र आर्थिक समृद्धिको महायात्रामा एकताबद्ध भएर अगाडि बढन पनि अध्यक्ष ओलीले आब्हान गरेका छन् ।