८ फागुन, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसी मोर्चालाई सरकारले निर्वाचनको मिति घोषणा गर्ने जवाफ दिएका छन् । अन्तिम निर्णय सुन्न प्रचण्डले बोलाएको बैठकमा मोर्चाका नेताहरुलाई उनले अब पनि निर्वाचनको मिति घोषणा नभए परिवर्तनका उपलब्धि गुम्ने भन्दै यस्तो बताएका छन् ।

सत्तारुढ दल माओवादी केन्द्र, नेपाली कांग्रेस र मधेशी मोर्चाका नेताहरु बीचको बालुवाटारमा भएको बैठकमा संविधान संशोधन प्रस्ताव र स्थानीय निर्वाचनको मिति घोषण गर्ने सरकारको तयारी रहेको जानकारी गराएका थिए । ‘सरकार अब अन्तिम तयारमा छ, तपाईहरु मान्नु हुन्छ कि हुन्न ?’ प्रचण्डको भनाई उदृत गर्दै एक नेताले भने,‘दुई प्रस्ताव मान्न हुन्न भनेपनि अब सरकार अगाडि बढ्छ ।’

प्रचण्डले मधेशमा जनसंख्याको घनत्वलाई मध्यनजर गर्दै स्थानीय तहको संख्या बढाउन सरकार लागिरहेको जानकारी दिँदै फागुन १० गतेबाट सुचारु हुने संसदबाट संविधान संशोधन विद्येयक अघि बढाएर निष्कर्षमा लैजाने भएकाले सकारात्मक भूमिका खेल्न मोर्चासँग आग्रह गरेका थिए ।

मोर्चाका नेताहरुले मोर्चाको मूख्य चासो सीमाङ्कनको हेरफेरसहित संविधान संशोधन भएको बताउँदै संशोधन प्रस्ताव टुंगोमा पुगेपछि मात्रै निर्वाचनको मिति घोषणा गर्न प्रचण्डसँग आग्रह गरेका थिए । बैठकमा संविधान संशोधन प्रस्तावको प्रक्रिया, त्यसमा सरकारले खेल्ने भूमिका, स्थानीय तहको संख्यामा हेरफेर, स्थानीय निर्वाचनको औचित्य र सरकारले गरेको तयारी लगायतका विषयमा खुलेर सकारात्मक छलफल भएको प्रधानमन्त्रीका प्रमूख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बताए ।