१६ चैत, काठमाडौं । काठमाडौंसहित देशको पूर्वी तथा मध्ये क्षेत्रमा अचानक परिवर्तन भएको मौसम खुल्न अझै दुई तीन दिन लाग्ने भएको छ ।

फाइल फाेटाे

बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मौसम परिवर्तन भएर पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज सबैभन्दा धेरै पोखरामा ८ मीलीमीटर र काठमाडौंमा ३ मीलीमीटर वर्षा भएको छ । काठमाडौंको आकाश भने धुवाँ र धुलोका कारण बढी धुम्मिएको महाशाखाका मौसमविद् बरुण पौडेलले बताए ।

ठूलो पानी नपरेको र हावा पनि जोडले नलागेका कारण बायुमण्डलमा धुलो र धुवाँ तैरिएर रहेकाले आकाश धुम्मिएको उनको भनाई छ । उनका अनुसार तत्काल ठूलो पानी पर्ने संभावना छैन ।

पूर्वतिरको मौसम अझै दुई तीन दिन यस्तै रहने र काठमाडौंमा भने भोली देखि नै केही सुधार हुने पौडेलले बताए ।