९ असोज, काठमाडौं ।
एमालेले पार्टीको नेतृत्वमा बहुमतको सरकार गठन हुने गरी आगामी प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा जुट्ने निर्णय गरेको छ । आइतबार सम्पन्न एमालेको आठौँ केन्द्रीय कमिटी बैठकले बहुमतको सरकार बनाउन दुवै संसद्को निर्वाचन जित्ने गरी तयारीमा जुट्ने निर्णय गरेको हो ।

‘राष्ट्रियता र राष्ट्रिय हितको रक्षा, सामाजिक सद्भाव र राष्ट्रिय एकता, संविधानको रक्षा र कार्यान्वयन, सामाजिक–आर्थिक रूपान्तरण र समृद्धिका लागि केन्द्र र सबै प्रदेशमा एमालेको बहुमतको सरकार अपरिहार्य भएकाले एकताबद्ध र सक्रियताका साथ निर्वाचनको तयारीमा जुट्न एमालेले निर्णय गरेको छ,’ सचिवालय सचिव प्रदीप ज्ञवालीले भने, ‘बहुमतका लागि जुट्ने निर्णयका साथ अध्यक्षको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ ।’ आजको नयाँ पत्रिकामा खबर छ ।

म भौतिकवादी हुँ, देवत्वकरणप्रति विश्वास छैन

म नितान्त भौतिकवादी मान्छे हुँ, मैले आफूलाई कहिल्यै देवत्वकरण गर्न खोजेको छैन । देवत्वकरणसँग मलाई विश्वास पनि छैन । पार्टीले जति पनि सफलता प्राप्त गरेको छ, त्यो मेरो व्यक्तिगत कारण या तागतबाट सम्भव भएको होइन । यसमा सबै नेता, सिंगै पार्टीपंक्तिको योगदान छ । राष्ट्रियता, स्वाभिमान, शान्ति, लोकतन्त्र र विकासका पक्षमा एमालेले यसबीचमा जे–जे राम्रा ग¥यो, जति उपलब्धि हासिल भए, पार्टी अध्यक्षको हैसियतले मसँग जोडिए होलान्, ती सबै कुरालाई जोडेरै मान्छेले प्रशंसा पनि गरे होलान्, तर त्यो नै देवत्वकरण होइन । मैले कसैलाई देवत्वकरण गर्नुस् भनेको पनि छैन र त्यसमा विश्वास पनि लाग्दैन ।

एक ठाउँमा हा-यौँ, समग्रमा पहिलो छौँ

हामीले एक ठाउँमा (प्रदेश नं. २) मा चुनाव हारेका छौँ । हामीलाई प्रवेशमै निषेध गरिएको थियो । एक महिनाको जम्मा तयारीले केही सिट तल भयो होला । तर, समग्र परिणाम र प्रतिशतमा प्रभाव पर्ने गरी हामीले हारेका छैनौँ, एमाले नै पहिलो दल भएको छ । त्यसैले अब पार्टी एकमना एकताका साथ अघि बढ्नुपर्छ । नेतृत्व एकढिक्का हुन्छ । परिणामलाई लिएर कुनै लघुताभाष पाल्नुपर्ने, चिन्तित हुनुपर्ने कुनै कारण छैन ।

उम्मेदवार छनोटमा किमार्थ तेरो–मेरो हुँदैन

हामीले स्थानीय तहको निर्वाचनमा जुन–जुन ठाउँमा जे–जस्ता परिणाम प्राप्त ग-यौँ, ती सबै हाम्रा लागि सिकाइ हुन् । त्यस आधारमा हामी उम्मेदवार छनोट गर्नेछौँ । तेरो र मेरो भनेर किमार्थ उम्मेदवार छनोट गर्ने छैनौँ । तलबाट सिफारिस गर्दा पनि यही कुरालाई विशेष रूपमा ख्याल गर्नुहोला । फिल्डमा को अघि सार्दा चुनाव जित्ने कुरा सुनिश्चित हुन्छ, त्यसबाहेक कुनै पनि कुरा नहेर्नुहोस्, को व्यक्ति होइन, अहिलेलाई एमाले मात्रै हेरौँ ।

सल्लाहबाटै गरिन्छ, चित्त दुखाउनुपर्दैन

अबको निर्वाचनमा हामीले झन् सन्तोषजनक परिणाम प्राप्त गर्नेछौँ । एकताका साथ अघि बढ्दा बहुमत आउनेछ । हरेक कुरा सल्लाहबाटै निर्णय भएका छन्, म एक्लैले कुनै पनि निर्णय गरेको छैन । फेरि पनि सबै निर्णय सल्लाहबाटै हुनेछन्, कसैले चित्त दुखाउने स्थिति आउनेछैन ।