सचित देवकोटा

म यो निर्वाचनमा भोट हाल्दिन, साँच्चै हाल्दिन । हो, मैले यसो भनिरहँदा मलाई चुनाव विरोधी भन्न सकिन्छ। मलाई यथास्थितिवादी भन्न पाइन्छ। संविधान विरोधी समेत कसैले भन्न सक्लान्। आफ्नो दिमागी आवरणमा उग्र राष्ट्रवादको बाक्लो लेप लगाएकाहरुले मलाई भारतवादी भन्न सक्छन्।

भोट नहाल्ने भन्दै प्रचार गर्ने आफ्नो मताधिकार प्रयोग नगर्नेलाई मुद्धा हाल्नुपर्छ भन्नेसम्मका भेटिन सक्लान। तर के आफुले पाएको मताधिकार प्रयोग नगर्ने बताउने म साच्चै ठिक मनोदशाले यो सबै बोलिरहेछु त ? हो मेरो मनोदशा ठिक छैन। पटक्कै छैन।

अनि यो कुरा पक्का हो, मैले दुई पटक भोट हाल्ने अवसर’ पाएको छु। पहिलो र दोस्रो संविधान सभाको निर्वाचनको बेला भोट हाल्दा कस्तो मनोदशाले भोट हालेको थिए, अहिले झल्झल्ती सम्झन्छु। कस्तो आशा राखेर उम्मेदवार चुनेको थिए, त्यो अहिले विश्लेषण गर्दैछु। भविष्य देखेर मनमा उन्माद भरेर भोटिङ बुथसम्म पुगको थिए, योजना कस्ता मनपराएर स्वस्तिक चिन्ह उठाएको थिए, अनि आफुले आशा राखेको पार्टीको चिन्ह छाप ठोकेको थिए।

अनि यो बीचमा कतिले रोजगारी पाए ? कतिले देशमा अवसर पाए ? कति विदेशीए ? देशको मेरुदण्ड मानिने शिक्षा प्रणालीमा प्रयोगात्मक शिक्षा कसले ल्यायो ? प्रतिव्यक्ति आय साच्चै बढ्यो ? घरमा जडान गरिएको धारामा नियमित पानी आयो ? बासी पाउरोटी बेच्ने पसल र त्यो बनाउने बेकरीलाई कारवाही भएको सुन्नुभयो ?

देशको ठूलो पार्टी कांग्रेस कति वर्ष पुरानो छ ? एमाले अनि उसले अंगालेको ‘राष्ट्रवाद’ कहिलेदेखि चर्चामा आएको हो ? जनयुद्ध पश्चात राजसंस्था फाल्न प्रत्यक्ष भूमिका खेलेको माओवादी कति भयो सत्तामा आएको ? जनआन्दोलन दबाउने राप्रपाका अध्यक्षले कति भयो सरकारी भत्ता खाएको ?

अनि यो बीचमा कतिले रोजगारी पाए ? कतिले देशमा अवसर पाए ? कति विदेशीए ? देशको मेरुदण्ड मानिने शिक्षा प्रणालीमा प्रयोगात्मक शिक्षा कसले ल्यायो ? प्रतिव्यक्ति आय साच्चै बढ्यो ? घरमा जडान गरिएको धारामा नियमित पानी आयो ? बासी पाउरोटी बेच्ने पसल र त्यो बनाउने बेकरीलाई कारवाही भएको सुन्नुभयो ?

देश डुबाउने भ्रष्टाचारीलाई अख्तियारले कारवाही गरेको खबर सुन्नु भएको छ? देशको वार्षिक बजेट कति छ, कति खर्च हुन्छ, खर्च सहि रुपले भएको छ छैन, अनि कति बजेट फ्रिज भएको छ तपाईले जान्ने प्रयास गर्नुभयो ? घर अगाडीको बाटो पिच गरेपछि महिना दिनमै भत्किदा त्यो बनाउने इन्जिनियर, ओभरसियर र ठेगेदारको कठालो समात्नु भयो ?

भूकम्प पीडितको घर सरकारले ठड्याएको कति देख्नुभयो ? आफ्नो बाल्यकाल बिताएको घर भत्किदाँ सरकारले नयाँ बासस्थानको लागि के सहयोग गर्यो ? अन्तराष्ट्रिय सहयोग लगायत भूकम्प पीडितको लागि सरकारले उठाएको पैसा कता गायब भयो, ख्याल गर्नुभयो ?

हो, यो पढिरहने तपाई, सरकारी कामकाज गर्दैहुनुहुन्छ, आफ्नै व्यावसाय सुरु गर्नुभएको छ, प्रयोगात्मक शिक्षा नहुँदा बेरोजगार हुनुहुन्छ अनि साह्रै परेपछि देशमा केही नदेख्दा विदेशीनुभएको छ । हो, तपाईहरु सबै लाछी हो, नामर्द हो। यो नभुल्नु होला, सबैभन्दा ठूलो नामर्द म हो।

यो देश विगार्ने को हो ? भनी कसैले सोधे त्यसको सोझो उत्तर म दिन्छु, ‘यो देश विगार्ने म हो।’ हो म नै हो यो देशलाई खाल्टोमा हाल्ने । म नै हो यो देशको आर्थिक वृद्दिदर उकास्न नसक्ने । हो म नै हो, अमेरिका, अष्ट्रेलियाको सपना देख्ने । केही शिप नलागे खाडी मुलुकको चर्को घाममा खटिने स्वाभिमानी, राष्ट्रवादी नेपाली म नै हुँ।

म नै हुँ, मेरा नेताहरुलाई अत्याधिक भोटले जिताएर सिंहदरबारको सिंहाशनमा विराजमान गराउने, अनि ख्याल रहोस् नेतालाई मुखभरीको गाली दिने म नै हुँ त्यो राष्ट्रवादी युवा। वाह ! नेपाली युवा । वाह ! नेपाली युवाको राष्ट्रभक्ती ! वाह ! मरो राष्ट्रप्रेम । साच्चै मेरो नाम गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा सुनौला अक्षरले लेखिनु पर्छ, ‘अलौकिक शक्ति भएका युवा’ शीर्षकमा।

हो, मसँग अलौकिक शक्ति छ। सायद विश्वमा अर्को कुनै देश छैन, जहाँको युवामा यस्तो अलौकिक शक्ति छ। ख्याल रहोस् , मसँग वास्तवमै अलौकिक शक्ति छ, मैले कुनै गफ पेलेको होइन, म प्रमाणित गर्न सक्छु। नेपाल देशमा कति युवा छन् ? ६० प्रतिशत ? ५०, ४० प्रतिशत ? नेपालमा सत्तामा कति नेता छन् ? क्षेत्र अनि जिल्लामा कर्मचारी कति छन् जो देशको विकासमा प्रत्यक्ष सहभागी हुनसक्ने तहमा हुन्छन्?

के नेताको सङ्ख्या युवाको सङ्ख्या भन्दा कम छ ? चुनावमा जुन प्रतिबद्धता गरेर राजनीतिक दल आउँछन् तीनलाई चुनाव जितेपछि के तपाईले कहिल्यै प्रश्न गर्ने कष्ट उठाउनु भयो ? साच्चै मनन् गर्नुस्। के तपाईले ‘खोक्रो राष्ट्रवाद’ को विरुद्ध ‘खदिँलो राष्ट्रवाद’को नारा कहिल्यै घन्काउनु भयो? के मोबाइल, कम्प्युटर, ट्याबलेटबाट पढिरहने तपाईले कहिल्यै प्रतिबद्धता पुरा गरिनस् भनेर सिंहदरबार घर्नुभयो ?

के तपाईले आधारभूत अधिकार नै किन पाइएन भने मन्त्रीको क्वार्टर घेर्नुभयो? के तपाईले सुरक्षा पाइएन भनेर गृहमन्त्रालय अगाडी धर्ना कस्नुभयो ? सिटामोल समेत नपाएका दुर्गमका जनता र आधारभूत स्वास्थ्य सेवाबाट बञ्चित हुने तपाइले आफ्नै लागि स्वास्थ्य मन्त्रालय अगाडी नारा लगाउनु भयो? तपाईको पैसावाला छिमेकी र गरिब तपाईलाई फरक फरक दण्ड जरिवाना गरिदाँ तपाईले कानुन मन्त्रालय धाउनुभयो ?

भो, नभन्नुस्, यसको उत्तर मलाई थाह छ, म कहिल्यै यसरी धर्ना कस्न गइन । तर यो भन्न पाइन्न, मैले भारतले नाकाबन्दी लगाउँदा दुतावास अगाडी गएर नारा लगाएको हो, मैले सुतेर लम्पसारवाद विरुद्ध नारा घन्काएको हो। धिक्कार छ, मेरो बुद्धिलाई, धिक्कार छ मेरो चेतनालाई, धिक्कार छ मेरो शिक्षालाई !

म कसको विरुद्धमा उत्रिन ? भारतको विरुद्धमा म जति उत्रेको युवा को होला? सायदै नेपालको इतिहासमा अहिलेको युवा पुस्ता जस्तो भारतविरोधी को होला ? तर के ख्याल गर्नुभयो, भारतको दुतावास अगाडी पेट्रोलको बोत्तल बोकेर विरोध गरेपश्चात देशमा के परिवर्तन भयो ? के देश समृद्ध भयो ? के अमेरिकाको विरोधी भावना बोकेर तपाईको समाजले प्रगति गर्यो ?

के नेतालाई भ्रष्टाचारी भनेर चिया पसलमा गफ हाँकेर मेरो परिवारले आवश्यक अधिकार पायो ? यो जवाफ मैले दिन जरुरी छैन। म त मेरो बुद्धि माथी धिक्कार गर्छु। नेपालमा पहिलो जनसङ्ख्या गणना कहिले भयो भनेर यहि बर्षको एसईई (पहिलेको एलसएलसी) मा प्रश्न पढेर म आफै हाँसेको हो । त्यो एउटै प्रश्नले विद्यार्थीको शैक्षिक मनोदशा, प्रयोगात्मक शिक्षा र देशको शैक्षिक प्रणाली प्रति व्यङ्ग्य प्रहार गर्छ।

बु्झ्नेलाई यही काफि छ, नबुझ्ने अझै विरोधी शैलीमा मनोवैज्ञानिक दशा पालेर बसेका छन्। के अमेरिका अरुको विरोध गरेर विकसित भएको हो। के सरकार प्रति वफादार हरेक चिनियाँले दैनिक कति कर्म गर्छन् ? हामीले ख्याल गरेर छौ ? के विश्वभर फैलिएको भारतीय नागरिकको व्यावसाय हरेक देशमा फस्टाएको हामीले ख्याल राखेका छौ? छैनौ।

हामी त कामचोर हौं। हामीलाई सजिलो काम मन पर्छ। हामी कामलाई वर्गिकरण गर्छौ। अनि के हाम्रो नेताले देश विकास गर्छन् ? टोलटोलमा चुनावी नारा घन्काएर, टिसर्टमा चुनावी चिन्ह छापेर गाउँ घुमेर, चुनावी अभियान सकिएपछि जनतालाई लात हान्ने नेता अनि खुला हृदयले लात थाप्ने म जस्तो होनाहार, राष्ट्रवादी, कर्मशील, बैद्धिक युवाले देश बनाउँछ ?

बनाउँछ, त्यहि भएर त दुई पटक भोट हाले, १० वर्षमा १० हजार मेगावाट विजुली निकाल्ने प्रतिबद्धता सुनेर पत्याए, ६४ सालपछि कति पालना भयो यो १० वर्षमा, शुन्य ! अनि म के आशामा भोट हालुँ ?

 हो नारा त यो पटक पनि साच्चै आशा देखाउने छ, तर यो पटक म भोट हाल्ने पक्षमा छैन। भोट हालेपछि नेता चुनिन्छन, अनि हामी युवा चुपचाप नेताको खेलमा सहभागी हुन्छौ, रमिते बन्छौ। मलाई रमिते बन्नु छैन । कमसेकम भोट नहाल्दा, भाई मैले चुनेको नेता होइन, तिमीले चुनेको नेता हो, भनी भन्न त मैले अधिकार पाउँछु।

भोट हाल्ने, राष्ट्रवादी विवाद खडा गर्ने, बहस गर्न मनपराउने, तर्क गर्न मनपराउने, अनि यहि लेख पढेपछि लेखकलाई गाली गर्ने तर कामचोर बन्ने, कामलाई वर्गिकरण गर्ने, नेतालाई गाली गर्ने अनि भोट हाल्ने आफू चोखो हुनखोज्ने मलाई हुनु छैन। जबसम्म पार्टी र नेताको पु्च्छर नभई भोट हाल्ने युवाको विजय सुनिश्चित हुदैन, म भोट नहाल्ने प्रतिबद्दता गर्छु।