श्रावण २९, काठमाडौं ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू सधैं डा. गोविन्द केसीले उठाएका माग र मुद्दाको पक्षमा रहेको बताएका छन् ।

२१ दिनदेखि अनसनमा रहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै अध्यक्ष प्रचण्डलाई भेट्न आएको प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उनले आफू डा. केसीले उठाएका मागको पक्षमा रहेको बताए ।

भेटमा अध्यक्ष प्रचण्डले भने, ‘काठमाडौं उपत्यकामा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नदिने र मनमोहन मेडिकल कलेजलाई सरकारले खरिद गर्नुपर्ने डा. केसीको माग सकारात्मक छ, यसले मेडिकल शिक्षालाई मर्यादित बनाउँछ भन्ने मेरो पनि ठम्याई छ ।’

प्रचण्डले अडागि भने, म प्रधानमन्त्री हुँदा पनि उहाँले उठाएका समस्या सम्बोधन गर्न सकारात्मक कुराकानी भएको हो । तर, कतिपय कानूनी र प्रशासनिक जटिलताका कारण सबै काम सम्पन्न हुन सकेन । अब ऐनमा त्यसबारे ठोस व्यवस्था गरेर डा. केसीलाई आश्वस्त पार्नुपर्छ र अनसन तोडाउनुपर्छ ।’

प्रचण्डले आजै ३ बजे यसबारे प्रधानमन्त्रीसँग भेटेर कुरा गर्ने र अनसन तोडाउन पहल गर्ने प्रतवद्धता जनाए । भेटमा प्रतिनिधि मण्डलले डा. केसीको स्वास्थ्य अत्यन्त कमजोर हुँदै गएकाले उनले उठाएका माग सम्बोधन गरी अनसन तोडाउने पहल गर्न प्रचण्डसँग आग्रह गरेको थियो ।