१० फागुन, काठमाडौं।
अधिकारको प्रयोग गर्ने कुनै पनि चेतनशील मान्छेले सायद आफ्नो कर्तव्य पनि सम्झन्छ । जव कर्तव्य बिर्सन्छ, सायद उसको चेतनाको स्तर पनि खस्केको हुनुपर्छ । हरेक कुरा कसैको दवाव वा डरमा मात्र गरिन्छ भने त्यसले सभ्य समाजको परिचय दिँदैन । किनकी उसले आफ्नो जिम्मेवारी बिर्सेको हुन्छ । हामीले यहाँ प्रस्तुत गर्न खोजेका त्यस्तै केही उदाहरणहरु हुन् ।

यी नयाँ बानेश्वरबाट शंखमुलको पुलसम्म नपुग्दै बाटोमा देखिएका केही दृष्यहरु हुन् । जहाँ दुई तर्फि गाडी चल्ने फराकिलो बाटोमा गिट्टी राखेर चार दिनदेखि बाटो अवरुद्ध गरिएको छ । निजी घर बनाउनका लागि यसरी सार्वजनिक बाटो अवरुद्ध गर्न पाइदैन ।

फराकिलो ठाउँ नभएकाले घर निर्माणमा समस्या हुन सक्छ । तर समस्या भएपनि रातीको समस्या कसैलाई अवरोध नपर्ने गरी गर्नु पर्ने हो । यहाँ त चार दिनसम्म बाटो अवरुद्ध हुँदा पनि न कोही यसो नगरौं भनेर आवाज उठाउँछ, न कसैले कसैलाई कारवाही नै गर्छ । यसले देखाउँछ यो लाप्रवाहीको उत्कृष्ट नमूना हो अनि सरकारका संयन्त्र कम्जोर हुँदा लिएको नाजायज फाइदा हो ।

ट्राफिकले हेर्न भ्याउँदैन

यसबारेमा ट्राफिक प्रहरी प्रवक्ता लोकेन्द्र बहादुर मल्लसँग बुझ्न खोज्न आफूहरुलाई यस बारे कुनै जानकारी नभएको र कसैले गुनासो पनि नगरेकाले बताए । मल्लले भने, अव तपाईले जानकारी गराउनु भयो, हामी अनुगमन गछौं ।’ तर जानकारी गराएको पनि २४ घण्टा बितिसकेको छ, समस्या जस्ताको तस्तै छ । बाटो अवरोध भएको हेर्ने काम महानगरपालिकाको भएको भन्दै मल्लले ट्राफिकले कस्ले कहाँ बाटो अवरोध गरेको छ भनेर हेर्दै हिड्न नभ्याउने बताए ।

जनशक्ति छैन तर पनि कारवाही गछौंः महानगरपालिका

काठमाण्डौ महानगरपालिका सडक योजना प्रमुख उत्तरकुमार रेग्मीले त्यो कारवाहीको विषय भएको भन्दै महानगरकै कार्यान्वयन महाशाखा त्यसको जिम्मेवार भएको बताए ।

तर कार्यान्वयन महाशाखाका प्रमुख एवं प्रहरी नायव उपरिक्षक दिनेश अर्यालले आफूहरु समस्यै समस्यामा रहेकाले काम गर्न सक्ने अवस्थामा नभएको प्रतिकृया दिए ।

‘हामीकहाँ जनशक्तिको अभाव छ । करारमा रहेका धेरै कर्मचारी गइसके । अहिले नयाँ कर्मचारी लिएर तालिममा पठाएका छौं, अर्यालले भने, ‘६ जनाले धेरै तिर हेर्नु परेकाले काम गर्ने सकेका छैनौं । प्रगती विवरण शून्य छ ।’

होडिङ बोर्ड हटाउने, रक्सीका विज्ञापन हटाउने, बाटोको अवरोध हेर्ने, छाडा छोडिएका गाई उठाउने सबै काम ६ जनाले गर्नु पर्ने भन्दै थोरै जनशक्तिले त्यो सम्भव नहुने भन्दै अर्यालले भने, हाम्रो खुट्टा बाँधेर म्याराथुन दौड्न लगाइएको छ । त्यो सम्भव छैन ।’ अव भने मिडियाले नै कुरा उठाईसकेकाले यसरी बाटो अवरोध गर्नेलाई कारवाही स्वरुप १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने डिएसपी अर्यालको प्रतिवद्धता छ ।