कुशल श्रेष्ठ

हाम्रो आफ्नै प्यारो आलु- न त यो ‘तरकारी’ हो, न त ‘जरा’ नै र यसलाई ‘फलफूल’ त पक्कै पनि भन्न मिल्दैन! यो त जमीनमुनि फल्ने एउटा ‘नली भएको फल’ हो, जुन विश्वभरी नै सबैभन्दा बढि उपभोग गरिने चौथो खानेकुरा हो। तथापी, विश्वका अनेकौँ महङ्गा अनि स्वादिष्ट व्यञ्जनको रूपमा आनन्द उठाइने आलुको सबैभन्दा पोषिलो भागलाई मतलबै नगरी अधिकांश भाञ्छामा फालिने गरिन्छ- ‘आलुको बोक्रा’!

वास्तवमा भन्ने हो भने आलुको बोक्रा फोहोर होइन। अहिले फ्रेञ्च फ्राइ र आलु स्टिक खानेहरूको सङ्ख्या बढ्दै गैरहेको बेलामा फास्ट फूड कम्पनीहरूले दैनिक आलुको बोक्रालाई फोहोरसरी फाल्ने गर्छन्। विश्वभरीमा ‘मेकडोनाल्ड’ कम्पनीले मात्रै प्रति दिन करीब ४१ हजार किलो फ्रेञ्च फ्राइ उत्पादन गर्दछ भने एकपटक सोँच्नुहोस् त त्यस कम्पनीले एकैदिनमा कति धेरै पौष्टिक तत्वले भरिएको आलुको बोक्रा फ्याँक्ने गर्दछ?

हुन त नेपालमा अधिकांशले आलुको बोक्रा नतासी पखालेर पकाउने गर्छन्, तर कतिपय भाञ्छामा सबैभन्दा पोषिलो आलुको बोक्रालाई नङ्ग्याएर त्यसको अस्तित्व लुटिने गरिन्छ। विशेष गरी, विवाह-व्रतबन्ध जस्ता पार्टीसमारोहमा यस्तो भूल गरिन्छ, जसको कारण आलुको स्वाद महत्वपूर्ण स्तरले गिरेको भेट्न सकिन्छ।Why you should never throw potato peels

धेरैले बेवास्ता गर्ने आलुको बोक्रा किन फाल्नुहुँदैन त? यस्ता छन् कारणहरू:-

१. पौष्टिक तत्वले भरीपूर्ण

Save the Peelआलुमा हाम्रो शरीरलाई अत्यावश्यक पर्ने भिटामिन तथा खनीज पदार्थहरू पाइन्छन्। प्रति १०० ग्राम आलुको बोक्रामा निम्नप्रकारका पौष्टिक तत्वहरू पाइन्छन्–

  • ५८ किलोक्यालोरी ऊर्जा
  • २.५७ ग्राम प्रोटिन
  • १२.४४ ग्राम कार्बोहाइड्रेट
  • ०.१ ग्राम चिल्लो पदार्थ
  • २.५ ग्राम फाइबर
  • ११.४ मिलिग्राम भिटामिन-सी
  • ३० मिलिग्राम क्याल्सियम
  • ३.२४ मिलिग्राम फलाम
  • ४१३ मिलिग्राम पोटासियम
  • १० मिलिग्राम सोडियम

तर, आलुलाई पकाउने तरिकाले यसको पौष्टिक मूल्यमा परिवर्तन आउँदछ। आलुलाई फ्राइ गर्दा लगभग आधा भन्दा बढि पौष्टिक तत्वहरू ह्रास भएर जान्छन्। त्यसैले आलु पकाउँदा धेरै बेरसम्म तेलमा भुटिराख्नुहुँदैन।

२. अनुहारको चमकतामा आलुको बोक्रा

तपाईँको अनुहारमा जादु गर्न सक्छ आलुको बोक्राले! यसमा भएको एण्टिअक्सिडेण्ट, ब्याक्टेरिया तथा कीटनाशक गुणले तपाईँको छालालाई स्वस्थ मात्रै होइन, त्यसमा चमकता पनि प्रदान गर्दछ।Uses and Benefits of Potato Peels (3)

  • आँखातलको भाग फुलेको छ? त्यसमा आलुको बोक्रा तासेर एकछिन मालिस गर्नुहोस्।
  • आँखाको वरिपरि डार्क सर्कल आएको छ? आलुको बोक्राको लेप लगाउनुहोस्।
  • छालालाई नरम र उज्यालो बनाउने मन छ? आलुको जुस बनाउनुहोस् र अनुहारमा लगाउनुहोस्।
  • अनुहारबाट तेल आएर सताएको छ? छालामा आलुको बोक्रा लगाएमा त्यसले अनुहारबाट चिल्लो पदार्थ सोस्दछ।
  • डण्डीफोर, कालो र सेतो खील आएको छ? आलुकै बोक्राको सहायता लिनुहोस्।
३. कपालको सुन्दरताको लागि आलुको बोक्रा

कपाल झर्ने, नबढ्ने अनि फुस्रो हुने समस्याले सताएको छ भने यसो गर्नुहोस्।

  • आलुको बोक्रा तास्नुहोस् र त्यसको जुस बनाउनुहोस्।
  • कपालको तालुलगायत सबै भागमा ५ मिनेटसम्म उक्त जुस लगाउनुहोस् र १५ मिनेटसम्म त्यत्तिकै छाडिदिनुहोस्।
  • त्यसपछि मनतातो पानीले पखाल्नुहोस्। यसो गर्दा कपाल झर्ने र फुस्रो हुने समस्याबाट छुट्कारा पाउन सक्नुहुन्छ।
४. भाँडा चम्काउन आलुको बोक्रा

चाँदी तथा आल्मुनियमको भाँडाकुँडा, तामाले बनेको पुजाको सामग्रीमा कडा जिद्दी दाग लागेको छ भने आलुको बोक्रा प्रयोग गर्नुहोस्। अलि बाक्लो बोक्रा निस्कने गरी आलु तास्नुहोस् र त्यसैले भाँडा मस्काउनुहोस्। यसमा पाइने हलुका किसिमको एसिडले भाँडामा लागेको दागलाई हटाउन मद्दत गर्दछ।

५. गमलामा आलुको बोक्रा

अनेकौँ पौष्टिक तत्वले भरिएको आलुको बोक्रा खान मन पर्दै भने त्यसलाई अर्कै कामको लागि सदुपयोग गर्न सक्नुहुन्छ। घरभित्र राख्नुभएको फूलको गमलामा आलुको बोक्रा राख्नुहोस्। यो कम्पोस्ट मल बनेर फूलको डाँठलाई चाहिने पौष्टिक तत्व प्रदान गरी बिरुवाको वृद्धिमा टेवा पुर्याउँदछ।

यो पनि हेर्नुहोस्-
च्यात्तिएको छालालाई आलु अनि सुपारी- निको पार्ने अन्य ५ प्राकृतिक उपाय
आलु खानै पर्ने ५ कारण
केराको बोक्रा पनि भित्री भागजस्तै पोषिलो
केरा खाएर बोक्रा नफाल्नुस..