तपाइ हिडिरहनु भएको छ अनि एक अपरिचित तपाइसंग ठोकिक्यो। तपाइले तत्कालै भन्नुभयो, ‘सरी’। सो अवस्था तपाइको कारणले आएको थिएन, न आवश्यक नै थियो तर पहिले ‘सरी’ भन्ने तपाइ बन्नुहुन्छ, किन?

जब यसरी ‘सरी’ भन्ने बानी लाग्छ, तब ‘सरी’ भन्दा पनि ‘सरी’ अनुभव हुन थाल्छ।

अचम्म त के छ भने, आफैले गरेको गल्ती स्वीकार नगर्ने जमातमा यसरी टोपी भुइमा खस्न नपाउँदै सरी भन्ने पनि उति नै छन्। माफी माग्नु, वा गल्ती स्वीकार गरेर जेन्टलम्यान वा जेन्टनवुमन बन्नु व्यक्तिको सकारात्मक व्यवहार हो। तर बानी नै लाग्नु पटक्कै सही होइन।

‘सरी’ वा ‘माफ गर्नु्’ को बानी किन लगाउनु हुँदेन, यस्ता छन् कारणः

१. अरुको नजरमा दोषी
स-सानो कुरामा पनि माफी मागिरहने गर्दा तपाइलाई अरुले दोषी देख्छन्। होला तपाइको नियत सहि नै छ तर मान्छेहरुले सोच्छन् कि तपाइमा केही दोष छ जसको कारण हरेक कुरामा माफी मागिरहनुहुन्छ।

२. बोझिलो बनाउँछ
अपरिचित होस् या परिचित, स-सानो गल्तीका लागि सरी भनिरहनुहुन्छ भने तपाइ आफैलाई पनि आफुले गल्ती गरेको भान पर्न थाल्छ। अनि केही समय पश्चात यो बानीले थप असहजता थप्छ। अनावश्यक दोषको भागिदार भएजस्तो बनाउँछ। मस्तिष्क बोझिलो बनाउँछ।

३. झर्को
सोच्नुस् त, यदी कोही तपाइको साथी हरेक कुरामा माफी मागिरहन्छ भने तपाइलाइ झर्को नलाग्ला? यदि तपाइको पनि यस्तो बानी छ भने तपाइका शुभचिन्तकले पनि झर्को मान्छन्।

४. माफीमाग्नु को अर्थ हराउँछ
सानो सानो कुरामा माफी माग्ने गर्नाले ‘ठूला’ मानिने गल्तीमा माफी माग्दा त्यसको दम नै हराउँछ। भित्री मन बाटै माफी माग्नुपर्ने अवस्थामा पनि तपाइको माफीको असर कम भइदिन्छ। त्यसैले हरेक सानो सानो कुरामा माफी माग्ने नगर्नुस्।

५. कमजोर देखिनुहुन्छ
गल्ती नै नहुँदा पनि माफी माग्ने पहिलो व्यक्ति बन्दा अरुको नजरमा तपाइ कमजोर देखिनुहुन्छ। यस्तो मनस्थितिले कठोर वातावरणमा तपाइ टिक्न सक्नुहुन्न।

के गर्ने त?
‘सरी’ लाई ‘थ्याङ्कयु’ले रिप्लेस गर्नुस्। अर्थात माफी माग्नुको सट्टा धन्यवाद भन्न सिक्नुस। जस्तो कि कतै ढिलो पुग्नुभयो भने माफी नमाग्नुस् ‘वेट गर्नुभएकोमा धन्यवाद’ भन्नुस्। अवस्था अनुसार ‘सरी’ शब्दको सट्टा अन्यकुरा भन्ने गर्नुस् होइन भने शान्त बस्ने बानीको बिकास गर्नुस्।