कुशल श्रेष्ठ

कामको व्यस्तताबाट फुर्सद निकालेर साथीहरूसँग पार्क अथवा नजिकैको जङ्गलको बाटो हिँड्नुभएको छ भने थाहा पाउनुपर्ने कि कत्ति फ्रेस अनि स्वस्थ महशुस गरिन्छ भनेर। यस्तो किन हुन्छ? कामको तनावबाट मुक्त भएर हो? कि यसमा अरू केहि रहस्य छ?

२० वर्षभन्दा बढि समयसम्म वैज्ञानिकहरूले यहि अनौठो प्रक्रियालाई बुझ्ने कोशिस गरिरहेका थिए। अन्त्यमा जापानका वैज्ञानिकहरूले यो रहस्यमय प्रश्नको उत्तर फेला पारेरै छाडे। जापानका वैज्ञानिकहरूले गरेका यो खोजमा उनीहरू ‘याकुसिमा’को टापुमा पुगेका थिए। यो ठाउँ जैविक विविधताको लागि धनी मानिन्छ।Forestpath

यसरी जैविक विविधताले भरिएको हराभरा ठाउँमा विभिन्न प्रकारका प्राकृतिक प्राणीहरू बस्छन् भनेर सबैलाई थाहा भएकै कुरा हो। साथै हामीलाई यो पनि थाहा छ कि यसले हाम्रो शारीरिक तथा मानसिक स्वास्थ्यमा पनि सुधार ल्याउँदछ। तर, यस्तो किन हुन्छ?

जङ्गलको हावा

जापानका अनुसन्धानकर्ताहरू भन्छन् कि जब हामीले जङ्गलको हावालाई लिन्छौँ, तब हावासँगै फाइदाजनक पदार्थहरू पनि लिइरहेका हुन्छौँ। उनीहरूले हामीलाई स्वस्थ महशुस गराउने ३ वटा मूख्य तत्वहरू पत्ता लगाएका छन्- लाभदायी ब्याक्टेरिया, वनस्पतिबाट बन्ने चिल्लो पदार्थ र ‘नेगेटिभ चार्ज भएका आयोनहरू’ (Negatively-charged ions)।

जन्मेदेखि मृत्युसम्म हामीलाई ब्याक्टेरियाहरूले घेरेका हुन्छन्। यी ब्याक्टेरियाहरू हाम्रै वरिपरीको वातावरणमा अनि हामीले लिने हावामा पाइन्छन्। अझै भन्ने हो भने, हाम्रो पुरै शरीर ब्याक्टेरियाहरूको घर हो भन्न सकिन्छ। त्यसैले हामीले यस्ता लाभदायी ब्याक्टेरियाहरूसँग जति धेरै अन्तरक्रिया गर्न सक्छौँ, त्यति नै धेरै हामी स्वस्थ र खुसी रहन सक्छौँ। उदाहरणको लागि, हाम्रो पेटमा हुने ब्याक्टेरियालाई लिन सक्छौँ। पाचन प्रक्रियाले पचाउन नसकेका खानेकुराहरूलाई यी ब्याक्टेरियाहरूले खान्छन् र हामीलाई लाभ गर्ने पदार्थ निकाल्दछन्।Forests of Nepal

यसरी नै रूखबिरुवामा पनि लाभदायी ब्याक्टेरियाहरूले हानिकारक माइक्रोअर्गानिजमलाई मार्ने खालको चिल्लो पदार्थ निकाल्दछन्। यस्तो चिल्लो पदार्थलाई ‘फाइटनसाइड्स’ (Phytoncides) भनिन्छ। यसकै कारणले गर्दा जङ्गलमा साना-साना रूखको बिरुवाहरू सजिलै हुर्किने गर्दछन्।

अनुसन्धानकर्ताहरूले हरीयो जङ्गललाई ‘नेगेटिभ आयोन जेनेरेटिङ मेसिन’ (Negative ion generating machine) पनि भनेका छन्। किनभने जङ्गल वरिपरीको हावामा उनीहरूले प्रशस्तै नेगेटिभ चार्जवाला आयोनहरू भेटेका थिए। साथै, यस्ता नेगेटिभ आयोनहरूले मानिसको मानिसक स्वास्थ्यमा फाइदा गर्ने प्रमाण पनि भेटिएको छ। त्यसैले गर्दा नै जङ्गलको बाटोमा हिँड्दा बढि ताजापनाको महशुस हुने वैज्ञानिकहरू विश्वास गर्छन्।Nepal Forests and Mountain

फाइदाजनक ब्याक्टेरिया, चिल्लो पदार्थ अनि नेगेटिभ आयोनहरूले पनि एक-आपसमा अन्तरक्रिया गर्ने गर्छन्। जस्तै; नेगेटिभ आयोनहरू र फाइटनसाइड्स मिलेर नै प्रकृतिमा साना-साना माइक्रोबियल प्राणीहरूको उत्पत्ती हुने गर्दछ। यसै तथ्यलाई विचार गर्दा, मानिसको पेटमा पनि यस्तै किसिमको अदृश्य प्रक्रिया भैरहेको हुन्छ भन्ने वैज्ञानिकहरूको मान्यता रहेको छ।

तथापी, यो रहस्यको बारेमा थप अनुसन्धान हुन बाँकी नै छ। वैज्ञानिकहरूले यसको पुरै जानकारी पत्ता नलगाउञ्जेलसम्म हामी पनि नजिकैको पार्क अथवा जङ्गलमा गएर हिँड्दा कसो होला?

यो पनि हेर्नुहोस्-
११ लाख किलोमिटर प्रतिघण्टाको गतिमा ग्याँसको विशाल बादल आकाशगङ्गा तर्फ लम्कदैँ
११ लाख किलोमिटर प्रतिघण्टाको गतिमा ग्याँसको विशाल बादल आकाशगङ्गा तर्फ लम्कदैँ
२०१६ जनवरीसम्म विश्वव्यापी रूपमा अग्रणी रहेका सामाजिक सञ्जालको तथ्याङ्क
एटिएमको पिन ४-अङ्कको हुन्छ, किन?
कम्प्युटर सफ्टवेयरले हरायो मानिसलाई