२ असोज, काठमाडौं ।
कांग्रेसले १५ असोजभित्र प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्न जिल्ला कार्यसमितिलाई परिपत्र गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । उम्मेदवार सिफारिसका लागि मापदण्ड बनाउनेसहितका कार्यका लागि कांग्रेसले कार्यदल गठन गरेको छ । कार्यदलमा पूर्णबहादुर खड्का, बालकृष्ण खाण, डा. मीनेन्द्र रिजाल, डा. प्रकाशरण महत र दिलेन्द्रप्रसाद बडू सदस्य छन् ।

‘१० र २१ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट गर्न १५ असोजभित्र सिफारिस पठाउन जिल्लालाई परिपत्र गर्ने निर्णय गरिएको छ,’ समिति सदस्य डा. महतले भने । जिल्लामा परिपत्र पठाउँदा २० असोजसम्मको समय राख्ने विषय उठेको थियो । तर, नेताहरूले १५ असोजको समयसीमा राखेर परिपत्र पठाउने तयारी गरेका छन् । ढिलो गर्दा उम्मेदवार चयनमा समस्या हुने र यसले निर्वाचनको परिणाममा पनि असर गर्ने भन्दै कांग्रेसमा छिटो उम्मेदवार टुंगो लगाउन दबाब छ । आजको नयाँ पत्रिकामा खबर छ ।

यसरी छान्दै छ कांग्रेसले उम्मेदवार ?
यसअघि २४० निर्वाचन क्षेत्र भए पनि क्षेत्र निर्धारण हुँदा प्रत्यक्षतर्फ १६५ बनाइएको छ । तर, कांग्रेसले २४० वटै आफ्ना क्षेत्रीय कार्यसमितिलाई उम्मेदवार चयनको सिफारिसका लागि परिपत्र पठाउँदै छ । समितिका एक सदस्यका अनुसार परिपत्र गर्दा निर्वाचन क्षेत्र पहिलेकै जति रहेका काठमाडौं, भक्तपुर, ललितपुर र यसअघि एउटा मात्र निर्वाचन क्षेत्र रहेका जिल्लामा समस्या नरहे पनि निर्वाचन क्षेत्र घटेका जिल्लामा भने अप्ठ्यारो पर्ने देखिएको छ ।

कांग्रेसमा पहिलेका गाउँ र नगरका सुझाब/सिफारिसपछि क्षेत्रीय सभापतिको सभापतित्वमा सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, जिल्ला सभापति, सांसदसहितको बैठकले उम्मेदवार सिफारिस गरी जिल्लामा पठाउनेछ । जिल्लाले समावेशी चरित्रबाट उम्मेदवार चयन भएको छ वा छैन भन्ने विषयलाई हेर्दै टिप्पणीसहित केन्द्रमा उम्मेदवार सिफारिस गर्नेछ । क्षेत्रले प्रतिनिधिसभा प्रत्यक्षतर्फका सदस्यका लागि एकजना महिलासमेत तीनजना र समानुपातिकतर्फ दुई महिलासहित चारजना सिफारिस गरेर पठाउने गरी जिल्लामा परिपत्र पठाउँदै छ ।

प्रदेश सभा सदस्यका लागि पनि यही मापदण्डनजिक रहेर कांग्रेसले परिपत्र पठाउने तयारी गरेको कार्यदलका एक सदस्यले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा पनि यसरी नै तल्लो तहलाई उम्मेदवार सिफारिस गर्न कांग्रेसले अधिकार दिए पनि अधिकांश ठाउँको उम्मेदवार पार्टी केन्द्रले नै छानेको थियो ।

उम्मेदवारको सिफारिसपछि बल्ल संसदीय बोर्ड बन्ने
जिल्ला–जिल्लाबाट उम्मेदवारको सिफारिस भएर आएपछि संसदीय बोर्ड गर्ने र उम्मेदवारको अन्तिम टुंगो लगाउने तयारी कांग्रेसको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन मंगलबार अमेरिका जाँदै छन् । १२ असोजमा देउवा फर्किएपछि दसैँलगत्तै कांग्रेसले १४ सदस्यीय बोर्ड गठन गर्ने तयारी गरेको छ । ‘प्रधानमन्त्री अमेरिकाबाट फर्किनेबित्तिकै संसदीय बोर्ड गठन हुन्छ, त्यसपछि आएका सिफारिसबाट उम्मेदवार चयन गर्छौँ,’ केन्द्रीय सदस्य डा. प्रकाशशरण महतले भने ।

कांग्रेसमा अब सार्वजनिक रूपमा नेतालाई गाली गर्दा कारबाही
कांग्रेसले सार्वजनिक कार्यक्रममा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, पार्टीको विधि, विधान र पद्धतिको विषयमा आलोचन गरे उम्मेदवार बन्नबाटै वञ्चित गर्ने भएको छ । आइतबारको कार्यसम्पादन समिति बैठकमा नेता कार्यकर्ताबाट जथाभावी बोल्ने र नेतृत्वलाई खुइलाउने प्रवृत्ति बढेको भन्दै कठोर अनुशासनको पक्षमा निर्णय लिने समझदारी भएको हो । ‘कठोर अनुशासनको पक्षमा कांग्रेस उभिने भन्नेमा नेताहरू सहमत हुनुभएको छ । पार्टीको केन्द्रीय समितिसहितका बैठकमा पदाधिकारीका कमजोरी केलाउने, विधि र पद्धतिका कुरा उठाउन पाइन्छ,’ एक सदस्यले भने, ‘तर सार्वजनिक बैठकमा पार्टीका केन्द्रीय नेता, पदाधिकारीहरूको आलोचनात्मक भाषण गर्न पाइँदैन । यस्तो गर्ने नेताको रेकर्ड पार्टी केन्द्र र जिल्ला राख्छ । यस्ता नेता–कार्यकर्तालाई उम्मेदवारका लागि अयोग्य घोषणा गरिनेछ ।’ अनुशासनको यस्तो कडाइ जिल्लासम्म परिपत्र गर्ने तयारी रहेको ती सदस्यले जानकारी दिए । उम्मेदवार बन्न अयोग्य ठहरिने साथै पार्टीले त्यस्ता नेतालाई कारबाही गर्ने उनको भनाइ छ ।

स्थानीय आवश्यकताको आधारमा तालमेल
कांग्रेसले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने विषयलाई खुला राखेको छ । ‘सम्भावना रहेका ठाउँमा स्थानीय आवश्यकताका आधारमा तालमेल हुन सक्छ,’ केन्द्रीय सदस्य डा. रामशरण महतले भने । उम्मेदवार चयन गर्दा पार्टीमा योगदान गरेका, संगठनमा निरन्तरता दिएकालाई प्राथमिकता राख्ने गरी कांग्रेसले परिपत्र गर्दै छ ।