४ भदौ, काठमाडौं ।

संघीय विभाजनको ब्यापक विरोध भएपछि दलहरु ७ प्रदेशमा सहमति गर्ने टुङ्गोमा पुगेका छन् । आज बसेको राजनीतिक संवाद तथा सहमति समितिको बैठकमा दलहरुबीच ७ प्रदेशमा जाने सहमति भएको खुलासा समिति सभापति एवं एमाओवादी नेता बाबुराम भट्टराईले गरेका हुन् ।

उनले नयाँ सहमति अनुसार यस अघिका १, २, ३, ४, ५ नम्बर प्रदेशहरू यथावत् रहने जसमा प्रदेश नम्बर तीनमा ठोरी गाविस समेत जोडिने जानकारी दिएका छन् ।

त्यसैगरी पहिलेको ६ नम्बर प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला/भूभाग रहने गरी ६ नं प्रदेश र कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नम्बर प्रदेश बनाउने निर्णय भएको जानकारी उनले दिएका छन् ।

Baburam on Federal agreement new 1

उनले प्रदेशको विस्तृत सीमाङ्कन संघीय आयोगले गर्नेगरी सहमति भएको जानकारी दिएका छन् ।

दलहरुबीच यस अघि ६ प्रदेश बनाउने सहमति भएको थियो । तर ६ प्रदेशको सहमति विवादमा परेपछि असन्तुष्टि सम्बोधन गर्न भन्दै प्रमुख दलहरु नयाँ सहमतिमा पुगेका छन् । तर पछिल्लो सहमतिसँगै ४ प्रमुख दलको समितिमा रहेका मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले भने समितिबाट बाहिरिएर आन्दोलन गर्ने घोषणा गरेका छन् ।