साउन २८, काठमाडौं ।

भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा विगतको सहमति र सम्झौता कार्यान्वयन हुनेगरी ठोस सहमति हुने बताएका छन् ।

रिपोर्टर्स क्लबमा बोल्दै राजदुत उपाध्यायले पञ्चेश्वर बहुउद्देश्यीय परियोजनामा नमिलेका विषय मिलाउने, माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माण अगाडि बढाउने र अरुण तेस्रो जलविद्युत आयोजनाको दुवै देशका प्रधानमन्त्रीबाट संयुक्त शिलान्यासको टुंगो लाग्ने खुलासा गरे ।

‘प्रधानमन्त्री देउवाको भारत भ्रमणमा विगतको सम्झौता र सहमति कार्यान्वयनबारे गम्भीर छलफल गरी टुंगोमा पु¥याउने मुख्य एजेण्डा बनेको छ, राजदूत उपाध्यायले भने, ‘यो भ्रमणले भारतसँग विगतमा पूर्वाधार विकासमा भएका सहमति र सम्झौता कार्यान्वयनलाई मूर्त रुप दिने गरी कुराकानी हुन्छ ।’

नयाँ सम्झौता गर्नेभन्दा पनि विगतमा भएका सम्झौताको कार्यान्वयनलाई प्राथमिकतामा राखेर गम्भीर छलफलको एजेण्डा तय भएको बताए । प्रधानमन्त्री देउवाले सम्झौता कार्यान्वयनका लागि समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय अधिकारीहरूसँग प्रष्ट कुरा राख्ने उपाध्यायको भनाई थियो ।

‘प्रधानमन्त्री देउवाले भारत भ्रमणका क्रममा विगतमा भएका समझदारीको पालना र कार्यान्वयन किन भएन भनेर प्रश्न गर्नुहुनेछ,’ उनले भने । प्रधानमन्त्रीको भ्रममणमा पञ्चेश्वरको डिपिआर तयार गरी काम अगाडि बढाउने मामलामा परेको गाँठो फुकाउने विषय प्राथमिकतामा रहेको बताए ।

दुई देशबीच सहमति नबन्दा महाकाली सन्धीको २२ वर्ष बित्दा पनि यस अन्र्तगतको पञ्चेश्वर परियोजनाको डिपिआर बन्न नसक्नुले दुवै देशलाई घाटा परेको बताए । ६७२० मेगावाट विजुली उत्पादन गर्ने आयोजना बन्न जति ढिलो हुन्छ उति नोक्शान हुने उल्लेख गर्दै अब टुंग्याउने गरी सहमति गरिने उनले स्पष्ट पारे ।

पञ्चेश्वर परियोजना ढिलो गर्न नहुमा भारत समेत सचेत रहेको राजदूत उपाध्यायको भनाई थियो । पञ्चेश्वरमा नमिलेको नदीको सीमा सम्बन्धि समस्या टुंग्याउन अन्तर्राष्ट्रिय मापदण्डलाई आधार मानिने बताए । उनले भने, ‘भारत र बङ्गलादेशबीच सीमानदीका विषयमा माथिल्लो र तल्लो तटीय सहकार्यको मोडालिटी अनुसार नेपाल र भारतबीच पनि सहमति बनाउनेबारे छलफल बढेको छ ।’

अरुण तेस्रो आयोजना निर्माणको शिलान्यास गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी छिट्टै नेपाल भ्रमणमा आउने बताए । दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा शिलान्यास गर्ने वातावरण बनिरहेको जानकारी गराए ।