९ साउन, काठमाडौं ।
प्रमुख राजनीतिक दलहरु सत्ता परिवर्तनको खेलमा लागेसँगै नयाँ सरकारको नेतृत्व सम्हाल्ने प्रयासमा लागेको माओवादी केन्द्रभित्र सम्भावीत मन्त्रीहरुको चर्चा बढेर गएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवास लाजिम्पाट स्रोतका अनुसार कांग्रेस र माओवादीबीच १३ र ९ मन्त्रालय बाँड्ने सहमति भएको छ । दुइ दलबीच कुन मन्त्रालय कुन दललाई भन्ने विषयको टुंगो भने लागि सकेको छैन ।

माओवादीका अध्यक्ष दाहाल प्रधानमन्त्री बनेमा अर्थ मन्त्रालय माओवादीले नै समाल्नेछ । तर, उपप्रधानसहित अर्थ मन्त्रालयमा कृष्णबहादुर महराको नाम चर्चामा आए पनि उनको सम्भावना न्यून रहेको बताइएको छ ।

केपी ओलीको सरकारमा उपप्रधानसहित उर्जा मन्त्रालय समालेका टोपबहादुर रायमाझीलाई असन्तुष्टिलाई मिलाउन महरालाई ब्याक सारेर रायमाझीलाई अगाडि सार्न सकिने सम्भावना रहेको स्रोत बताउँछ । अर्का दाबेदार जनार्दन शर्मा गृह मन्त्रालय पाएको खण्डमा मात्रै जाने बताउँदै आएका छन् ।

ओली सरकारको नेतृत्वमा सरकारमा सामेल भएका तीनजना मन्त्रीलाई दोहर्याउने सम्भावना छ । जसअन्तर्गत शिक्षामन्त्री रहेका गिरिराजमणि पोखरेल र सामान्य प्रशासनमन्त्री रेखा शर्माको नाम चर्चामा छ ।

वनमन्त्री अग्नि सापकोटा पनि दोहोरिने सूचीमा रहेका छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।