६ असोज, वीरगन्ज ।

पर्सा जिल्लामा रहेको १४ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पर्सामा रहेको १ वटा महानगरपालिका, ३ वटा नगरपालिका तथा १० वटा गाउँपालिका मध्ये १ वटा नगरपालिका तथा ६ वटा गाउँपालिकाको निर्वाचनको नतिजा सार्वजनिक भएको हो । सार्वजनिक गरिएको नतिजामा पर्सागढी नगरपालिकाको मेयर पदमा नेपाली काँग्रेसका लोकनारायण यादव तीन हजार ९ सय ६५ मत ल्याई विजयी भएका छन् भने उप मेयरमा नेपाली काँग्रेसकै अर्चना चौधरी चार हजार ५ सय ५९ मत प्राप्त गरि विजयी भएकी छिन् ।

पर्सागढी नगरपालिकाको ९ वटै वडामध्ये ५ वटा वडामा नेपाली काँग्रेस, २ वटा वडामा नेकपा एमाले तथा २ वटा वडामा संघीय समाजवादी फोरम नेपालका वडा अध्यक्षका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेहरुमा वडा नं. १ मा नेपाली काँग्रेसका तुलाराम महतो, वडा नं. २ मा नेपाली काँग्रेसकै वेदमन दास थारु, वडा नं. ३ मा नेकपा एमालेका उद्दव बहादुर उप्रेती, वडा नं. ४ मा नेपाली काँग्रेसका समसुद्दिन साह देवान, वडा नं. ५ मा संघीय समाजवादी फोरमका असलम आलम, वडा नं. ६ मा नेपाली काँग्रेसका किशोरीलाल अहिर, वडा नं. ७ मा संघीय समाजवादी फोरम नेपालका रामजी साह तेली, वडा नं. ८ मा नेपाली काँग्रेसका किशुनदेव प्रसाद यादव तथा वडा नं. ९ मा नेकपा एमालेका रामनारायण प्रसाद गौरो रहेका छन् ।

यसैगरी, पर्सामा सार्वजनिक गरिएको ६ वटा गाउँपालिकाहरुमा ठोरी गाउँपालिका, छिपहरमाई गाउँपालिका, जगरनाथपुर गाउँपालिका, कालिकामाई गाउँपालिका, विन्दवासिनी गाउँपालिका तथा पटेर्वासुगौली गाउँपालिकाको निर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये ठोरी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका पि.एल. श्रेष्ठ, छिपहरमाई गाउँपालिकामा माओवादी केन्द्रकै मनोज गुप्ता, कालिकामाई गाउँपालिकामा नेपाली जनता दलका नथुनी कुशवाहा, जगरनाथपुर गाउँपालिकामा माओवादी केन्द्रका जालिम मिँया, पटेर्वासुगौली गाउँपालिकामा नेकपा एमालेका हरिनारायण चौधरी र विन्दवासिनि गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका श्रीलाल साह गाउँपालिकाको प्रमुखमा विजयी भएका छन् ।

यसैगरी, वीरगन्ज महानगरपालिकाको ३२ वटा वडामध्ये ४ वटा वडाको नतिजा सार्वजनिक भइसकेको छ । वडा नं. २, ३, ४ र ३० वडाको नतिजा सार्वजनिक भइसकेको छ । जसमा वडा नं. २ मा संघीय समाजवादी फोरममा शेख अब्बास अन्सारीले नौं सय ४४ मत प्राप्त गरि विजयी भएका छन् भने वडा नं. ३ मा राष्ट्रिय जनता पार्टीका बैजुलाल स्वर्णकार आठ सय ६४ मत ल्याई वडा अध्यक्षमा विजयी भएका छन् । यसरी नै वडा नं. ४ मा नेपाली काँग्रेसका जगत साह कानुले छ सय ४४ मत ल्याई विजयी भएका छन् भने वडा नं. ३० मा नेकपा एमालेका अमानत मियाँ अन्सारीले चार सय ६६ मत ल्याई वडा अध्यक्षमा विजयी भएका छन् । वीरगन्ज महानगरपालिकाको अन्य वडाको मतगणना कार्य जारी छ ।

यसैगरी, वीरगन्ज महानगरपालिकाको मेयर पदमा नेपाली काँग्रेस अगाडि रहेको छ भने राष्ट्रिय जनता पार्टीले पछ्याई रहेको छ । शुक्रबार विहान ८ बजे सार्वजनिक मत परिणाम अनुसार वीरगन्ज महानगरपालिकाको मेयरको लागि नेपाली काँग्रेसले तीन हजार ९ सय ६० मत प्राप्त गरेको छ भने राजपाले तीन हजार ९ सय २० मत प्राप्त गरेको छ । यसैगरि संघीय समाजवादी फोरम नेपालले तीन हजार ५ सय ५० मत प्राप्त गरेको छ भने नेकपा एमालेले एक हजार ९ सय मत प्राप्त गरेको छ । यसैगरि उपमेयरमा नेपाली काँग्रेस नै अगाडि रहेको छ भने संघीय समाजवादी फोरमले पछ्याई रहेको छ । उप मेयरका लागि नेपाली काँग्रेसले चार हजार ६ सय २४ मत प्राप्त गरेको छ भने संघीय समाजवादी फोरमले तीन हजार ४ सय १८ मत प्राप्त गरेको छ । यसरी नै राजपाले उपमेयरको लागि तीन हजार २ सय २९ मत प्राप्त गरेको छ भने नेकपा एमालेले दुई हजार ४ सय २५ मत प्राप्त गरेको छ ।